कामना सेवा विकास बैंकको १५.७९ प्रतिशत लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । कामना सेवा विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको बैठकले १५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजी ३ अर्ब ५१ करोड ८ लाख रुपैयाँको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५.७९ प्रतिशत नगद गरी कुल १५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  बैंकको गत वर्ष वितरणयोग्य नाफा ६० करोड ७४ लाख रुपैयाँ रहेको थियो । सो आधारमा बैंकले १७.३० प्रतिशत लाभांश वितरण गर्ने क्षमता राखेको थियो । तर, बैंकले केही रकम जगेडामा राखेर सेयरधनीहरुलाई १५.७९ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । बैंकले प्रस्ताव गरको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिने जनाएको छ । 

एउटै व्यक्तिले ५ प्रतिशत सेयर खरिद गरे लगानीकर्तालाई जानकारी दिनुपर्ने

काठमाडौं । एउटै व्यक्तिले ५ प्रतिशत सेयर खरिद गरेमा लगानीकर्ताहरूलाई जानकारी गराउनुपर्ने भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले एउटै व्यक्ति वा संस्थाले संगठित संस्थाको ५ प्रतिशत वा सो भन्दा बढी हुने गरी सेयर लिएमा लगानीकर्ताहरुलाई जानकारी गराउनुपर्ने जनाएको हो  ।  नेप्सेका अनुसार सूचीकृत धितोपत्रको बजार मूल्यमा असर पार्न सक्ने कुनै घटना वा कारोबार भएमा १० करोड रुपैयाँ वा सोभन्दा माथिको सम्पत्ति खरिद वा बिक्री सम्बन्धी निर्णय, १० करोड रुपैयाँ वा सो भन्दा माथिको दायित्व वहन गर्नुपर्ने संभावना भएको मुद्दा अदालतमा दायर भएमा लगानीकर्ताहरूलाई जानकारी गराउनुपर्नेछ ।  यस्तै, प्राकृतिक विपद्, आकस्मिक घटना, तालाबन्दी वा अन्य कुनै कारणले संगठित संस्थाको दैनिक काम कारवाही रोक्नु पर्ने भएमा, वार्षिक शुल्क बुझाउनु पर्ने, सूचीकृत संगठित संस्थाको संचालक समितिले संस्था गाभ्ने गाभिने वा विलय हुने वा खरिद गरी लिने वा टुक्रिने निर्णय गरेमा जानकारी गराउनुपर्ने नेप्सेले जनाएको छ । ​धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२ तथा धितोपत्र सूचीकरण सम्झौतामा भएका शर्त बमोजिम विभिन्न सूचना तथा जानकारीहरू तोकिएको ढाँचा र समयमा तोकिएको माध्यम नट्स लगइनबाट नेप्सेमा उपलब्ध गराउनुपर्ने जनाएको छ । 

नेप्सेको अध्यक्षमा हेमन्त बस्याल नियुक्त

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अध्यक्षमा हेमन्त बस्याल नियुक्त भएका छन् । मन्त्रीस्तरीय निर्णयमार्फत उनलाई ३ वर्षे कार्यकालका लागि नियुक्त गरिएको हो । नेप्से लामो समयदेखि अध्यक्षविहीन अवस्थामा थियो । शोभाकान्त पौडेल सहसचिवबाट सचिवमा बढुवा भएपछि नयाँ अध्यक्ष नियुक्ति नभएको अवस्थामा बस्याललाई जिम्मेवारी दिइएको हो । बस्याल यसअघि एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० थिए । उनले केही दिनअघि व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएका थिए । करिब दुई वर्षअघि उनी सो कम्पनीको सीईओ बनेका थिए ।