रिलायन्स फाइनान्सको नाफा ३७.३१ प्रतिशतले बढ्यो, प्रतिसेयर नेटवर्थ १५५ रुपैयाँ माथि
काठमाडौं । रिलायन्स फाइनान्सले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म ८ करोड ६८ लाख रुपैयाँ नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ । यो गत वर्षको भन्दा ३७.३१ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा संस्थाले ६ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । त्यस्तै, कम्पनीको सञ्चालन नाफा पनि बढेर १२ करोड ४० लाख रुपैयाँ पुगेको छ । जुन गत वर्षको तुलनामा ३७.३१ प्रतिशतले बढी हो । त्यस्तै, संस्थाको वितरणयोग्य नाफामा उल्लेख्य सुधार भएको छ । समीक्षा अवधिमा संस्थाको उक्त नाफा १०१८ प्रतिशतले बढेर १० करोड ७९ रुपैयाँ पुगेको छ । जुन अघिल्लो वर्षको चैत मसान्तमा ९६ लाख ५२ हजार रुपैयाँ रहेको थियो । समिक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी भने ३३.०६ प्रतिशतले घटेको छ । गत वर्षको चैत मसान्तसम्ममा १६ करोड १ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको कम्पनीले चालु आवको सोअवधिसम्ममा १० करोड ७ लाख रुपैयाँमा झरेको छ । हाल संस्थाको चुक्ता पुँजी ८३ करोड २४ लाख १६ हजार रुपैयाँ रहेको छ । जगेडा कोषमा २५ करोड ४६ लाख रुपैयाँ रहेको छ । चैत मसान्तसम्म ५ अर्ब ७७ करोड रुपैयाँ निक्षेप संकलन गरेको संस्थाले ४ अर्ब १९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा क्रमशः १८.४५ र १६.३९ प्रतिशतले बढी हो । संस्थाको निष्किृय कर्जा (एनपीएल) २.६३ प्रतिशतबाट घटेर १.८८ प्रतिशतमा झरेको छ । त्यस्तै, सीडी रेसियो घटेर ६४.९७ प्रतिशतमा झरेको छ । त्यस्तै, संस्थाको प्रतिसेयर आम्दानी बढेर १३.९१ रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ पनि बढेर १५५.३२ रुपैयाँ पुगेको छ । त्यसैगरी, संस्थाको आधार दर र स्प्रेड दर घटेर क्रमशः ९.९ र ४.६७ प्रतिशतमा झरेको छ ।
आईपीओको प्रस्तावसहित बिन्ध्यबासिनी हाइड्रोले डाक्यो वार्षिक साधारणसभा
काठमाडौं । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले अगामी बैशाख ३१ गते वार्षिक साधारणसभा आव्हान गरेको छ । कम्पनीले सो दिन बिहान ११ बजे काठमाडौंको बानेश्वरस्थित कम्पनीको कार्यालयमा भर्च्युअल माध्यमबाट गर्न लागेको हो । सभामा कम्पनीले साधारण सेयर (आईपीओ) निश्काशन गर्ने सम्बन्धी प्रस्तावमा आवश्यक निर्णय गर्ने छ । सो सम्बन्धी कम्पनीले नेपाल धितोपत्र बोर्डमा अनुमति मागेको छ । जुन स्वीकृत हुने प्रकृयामा रहेको छ । कम्पनीले २५ करोड रुपैयाँ बराबरको सेयर जारी गर्नको लागि बोर्डसँग अनुमति मागेको हो । त्यस्तै, सभाले कम्पनीको नयाँ सञ्चालक समितिको गठन गर्ने छ । कम्पनीको नाममा भएका अन्य विभिन्न कम्पनीका सेयर बिक्री गर्न तथा खरीद सम्बन्धी निर्णय पनि सभाले गर्ने छ । साथै, सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०७६/७७ को प्रतिवेदन तथा सो वर्षको लेखापरीक्षण प्रतिवेदन सहितको वित्तीय विवरणमा छलफल गरी स्वीकृत गर्ने छ ।
बोनसपछि रिलायन्स फाइनान्सको सेयर मूल्य समायोजन
काठमाडौं । रिलायन्स फाइनान्सको सेयर मूल्य समायोजन भएको छ । संस्थाको १० प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन भएको हो । समायोजन भएसँगै संस्थाको सेयर मूल्य प्रतिकित्ता २६२ रुपैयाँ कायम भएको छ । यससँगै अबको कारोबारमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता २६२ रुपैयाँबाटै शुरु हुने छ । यसअघि कम्पनीको अन्तिम कारोबार प्रतिकित्ता २८८ रुपैयाँमा किनबेच भएको थियो ।