पारित भयो झाँक्री उपसमितिको प्रतिवेदन, बैंकलाई ब्रोकर लाइसेन्स दिने जिम्मेवारी नियामकलाई नै
काठमाडौं । पूँजी बजार तथा मुद्रा बजारबारे अध्ययन गर्न अर्थसमितिले गठन गरेको उपसमितिको अध्ययन प्रतिवेदन अर्थ समितिले पारित गरेको छ । संसदको अर्थ समितिले सांसद रामकुमारी झाँक्रीको संयोजकत्वमा गठित अध्ययन समितिले पेश गरेको प्रतिवेदनमा केहि कुराहरु संशोधन गरी पारित गरेको हो । यससँगै, बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिने जिम्मेवारी नियामक नेपाल धितोपत्र बोर्डलाई नै दिईएको छ । उक्त प्रतिवेदनमा ‘बैंक तथा वित्तीय संस्थाबाट तोकिएको सीमाभन्दा बढी ऋण लिइ सञ्चालन हुने कम्पनीहरुलाई पब्लिक लिमिटेडमा अनिवार्य रुपमा जान कानूनी व्यवस्था गर्ने, हाललाई सो सीमा ५० करोड भन्दा बढी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने कम्पनीहरुमा लागू गर्ने’ भनिएको थियो । तर, समितिले ५० करोडको सीमा बढाएर एक अर्ब रुपैयाँ बढी ऋण लिएका कम्पनीहरुमा लागू गर्ने गरी पारित गरेको छ ।
१ अर्बभन्दा बढी ऋण लिने कम्पनीले आइपीओ जारी गर्नै पर्ने, गिटी उद्योग पनि पब्लिक कम्पनी
काठमाडौं । बैंक वित्तीय संस्थाहरुबाट एक अर्ब रुपैयाँभन्दा बढी ऋण लिने कम्पनी अनिवार्य रुपमा पब्लिकमा जानुपर्ने भएको छ । प्रतिनिधिसभाको अर्थसमितिले १ अर्ब रुपैयाँभन्दा बढी ऋण लिने कम्पनीले सर्वसाधारणलाई सेयर जारी गर्नै पर्ने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ । समितिले सांसद रामकुमारी झाँक्री संयोजकमा पुँजी बजार र मुद्रा बजार सम्बन्धी अध्ययन गरेर प्रतिवेदन बुझाउन उपसमिति गठान गरेको थियो । उपसमितिले तयार पारेको प्रतिवेदन समितिले संशोधनसहित पारित गरेको हो । उपसमितिको प्रतिबेदनमा ५० करोड रुपैयाँभन्दा बढी ऋण लिने कम्पनी अनिवार्य रुपमा पब्लिक कम्पनी हुनुपर्ने व्यवस्था संशोधन गर्दै कर्जाको सीमा बढाएर १ अर्ब रुपैयाँ पुर्याइएको हो । आज (२६ असार) बसेको अर्थसमिति बैठकले प्रतिवेदन संशोधन सहित पारित गर्ने निर्णय गरेको हो । रियल सेक्टरका कम्पनीहरुलाई पुँजी बजारमा भित्र्याउनको लागि यस्तो नीतिगत निर्णय आवश्यक परेको समितिको भनाइ छ । समितिले पारित गरेको प्रतिवेदन कार्यान्वयनमा आएपछि निजी कम्पनीले प्राकृतिक स्रोत तथा साधन सम्बन्धी काम गर्न पाउने छैनन् । प्राकृर्तिक स्रोत तथा साधन सम्बन्धी काम गर्ने कम्पनीहरु अनिवार्य रुपमा पब्लिक कम्पनी हुनुपर्ने भन्ने व्यवस्था राखिएको छ । यस्तै, बैंक तथा वित्तीय संस्थालाई सेयर ब्रोकरको काम गर्न दिने कि नदिने भन्ने लामो वहस पनि अब टुंगिएको छ । समितिले पारित गरेको प्रतिवेदनमा बैंकका सहायक कम्पनीलाई सेयर ब्रोकरको काम गर्न दिन हुने भन्ने व्यवस्था छ । यद्यपि यो व्यवस्था भने नियामक निकायले कार्यान्वयन गर्नुपर्ने हुन्छ ।
अजोड इन्स्योरेन्सको आईपीओ किन्नुभयो ? ३ वर्षमा यस्तो बन्दैछ कम्पनी
काठमाडौं । २०७५ साल असार १५ गतेदेखि निर्जीवन बीमा सम्बन्धी कारोबार सञ्चालन गर्दै आएको कम्पनी हो अजोड इन्स्योरेन्स लिमिटेड । बीमा समितिबाट २०७५ साल असार १५ गते नै निर्जीवन बीमा सम्बन्धी व्यवसायिक कारोबार गर्न स्वीकृत पाएको अजोडले सोही दिनदेखि नै कारोबार शुरु गरेको हो । सञ्चालनमा आएको तीन वर्षमा कम्पनीले ३० करोड रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) जारी गरिरहेको छ । कम्पनीले असार २५ गतेबाट प्रतिसेयर १ सय रुपैयाँ अंकित मूल्यको ३० लाख कित्ता साधारण सेयर निष्काशन गरेको हो । सेयर जारी गर्नुको उद्देश्य कम्पनीको पुँजी १ अर्ब रुपैयाँमध्ये प्रबन्धपत्रमा व्यवस्था भए अनुरुप जारी पुँजीको ३० प्रतिशत सेयर सर्वसाधारणमा बिक्री गर्नु पर्नेछ । सोही बमोजिम कम्पनीले जारी पुँजीको ३० प्रतिशत अर्थात ३० करोड रुपैयाँ बराबरको प्रतिसेयर १ सय रुपैयाँ दरको ३० लाख कित्ता साधारण सेयर सर्वसाधारणलाई बिक्री गरेको हो । कम्पनीको सञ्चालनमा सर्वसाधारणहरुलाई समेत संलग्न गराउन इन्स्योरेन्सले उक्त सेयर जारी गरेको हो । त्यस्तै, आवश्यक पुँजी संकलन गर्न तथा आफ्नो सेवा विस्तार गर्ने क्रममा बीमा व्यवसायको जोखिम धारण क्षमता बढाउन तथा वित्तीय एवं आर्थिक गतिवधिलाई विस्तार गर्न आवश्यक पर्ने पुँजीको व्यवस्था गर्न कम्पनीले उक्त सेयर जारी गरेको हो । हाल कम्पनीको अधिकृत पुँजी तथा जारी पुँजी १/१ अर्ब र चुक्ता पुँजी ७० करोड रुपैयाँ रहेको छ । हाल निष्काशन गरेको साधारण सेयर पश्चात कम्पनीको चुक्ता पुँजी एक अर्ब रुपैयाँ पुग्नेछ । हाल ५.८९ रुपैयाँ रहेको यस कम्पनीको प्रतिसेयर आम्दानी वार्षिक रुपमा बढेर आगामी तीन वर्षमा २०.०८ रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ । त्यस्तै, सो अवधिमा प्रतिसेयर नेटवर्थ पनि बढेर एक सय ३९ रुपैयाँ पुग्ने छ भने जगेडामा ३८ करोड रुपैयाँ बढी जम्मा हुने कम्पनीले जनाएको छ । त्यस्तै, आर्थिक वर्ष २०७५/७६ र २०७६/०७७ को वित्तीय विवरण एनएफआरएस बमोजिम तयार गर्दा अतिरिक्त व्यवस्था गर्नुपरेकोले संचित नोक्सान देखिएको कम्पनीले जनाएको छ । आगामी तीन वर्षमा कम्पनीको संचित नाफा ११ करोड रुपैयाँ पुग्ने प्रक्षेपण रहेको छ । एक सय रुपैयाँ प्रतिसेयरका दरले निष्काशन गरिएको सेयर मूल्यले सूचीकरण पश्चात धितोपत्र बजारमा हुने कारोबारमा उतार चढाव आउन सक्ने भएकाले सेयर मूल्यमा हुन सक्ने परिवर्तनको जोखिम रहेको छ । सेयर निष्काशनको लागि कम्पनीले केयर रेटिङ्ग नेपालबाट ‘केयर एनपि आईपीओ ग्रेड ४’ प्रमाणपत्र पाएको छ । जसले कम्पनीको आधारहरु औसतभन्दा कमजोर रहेको जनाउँछ । आईपीओबाट उठेको रकम कम्पनीले कसरी र कुन क्षेत्रमा प्रयोग गर्छ ? कम्पनीले हाल जारी गरिरहेको आईपीओबाट कूल ३० करोड रुपैयाँ उठाउने छ । जसमध्ये सबैभन्दा बढी अर्थात २५ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा राखिने कम्पनीले जनाएको छ । त्यस्तै, नेपाल सरकारको जमानीप्राप्त ऋणपत्र तथा बचतपत्रमा ४ करोड ५० लाख रुपैयाँ र शाखा विस्तार तथा भौतिक पूर्वाधारको अभिवृद्धिमा ५० लाख रुपैयाँ लगानी गर्ने कम्पनीले बताएको छ । साधारण सेयर निष्काशन गरी प्राप्त हुने पूँजी कम्पनी ऐन, बीमा ऐन तथा अन्य प्रचलित कानूनको अधिनमा रही कम्पनीको व्यवसायिक प्रयोजनमा उपयोग गर्ने कम्पनीले जनाएको छ । निर्जीवन बीमाको प्रकृति बमोजिम ब्यवसाय बृद्धिको अनुपातमा चुक्ता पूँजी बृद्धि भएमा कम्पनीको वित्तीय क्षमता थप सुदृढ हुनुका साथै चुक्ता पूँजी तथा जगेडा कोषलाई एउटा निश्चित अनुपातमा राख्दा कम्पनीको सोल्भेन्सी मार्जिन समेत सकारात्मक हुने भई कम्पनीको समग्र वित्तीय अवस्था सुदृढ हुने हुँदा यस सार्वजनिक निष्काशनबाट प्राप्त रकमले उक्त अवस्था अनुकुल बनाउन मद्दत गर्ने छ । यसैगरी बीमा समितिबाट जारी गरिएको नयाँ लगानी नीतिले विभिन्न पूर्वाधारजन्य तथा राष्ट्रिय प्राथमिकता प्राप्त क्षेत्रहरुमा लगानीको अवसरहरु प्रदान गरेकोले त्यस्तो क्षेत्रहरुमा लगानी विस्तारका लागि उक्त रकम उपयोगको लागि पहल गरिने कम्पनीले जनाएको छ । काठमाडौंको सुन्धारास्थित सीटीसी मलमा प्रधान कार्यालय लिएको यस कम्पनीले आवश्यकता अनुसार बीमा समितिको स्वीकृति लिएर देशभित्र प्रादेशिक, शाखा, उपशाखा वा अन्य कार्यालय खोली निर्जीवन बीमा सम्बन्धी कारोबार गर्न सक्नेछ । केन्द्रिय कार्यालय सहित कम्पनीले हाल विभिन्न ३९ स्थानमा रहेको प्रादेशिक र शाखा उपशाखा कार्यालयहरुबाट कारोबार गर्दै आएको छ । सञ्चालक समितिमा को को छन् ? कम्पनीको सञ्चालक समितिको अध्यक्षमा आजाद श्रेष्ठ रहेका छन् । जसको सेयर स्वामित्व एक लाख १० हजार रुपैयाँ रहेको छ । करिब १२ वर्षसम्म अजोड इन्स्योरेन्सको संचालक पदमा रहेका उनले २०७६ साल असार ३० गतेदेखि अध्यक्ष पदको कार्यभार सम्हालेका छन् । स्नातक तह उत्तीर्ण गरेका उनमा नेपाल उद्योग वाणिज्य महासंघमा सदस्य, उपाध्यक्ष पद देखि लिएर माछापुच्छ्रे बैंकको संचालक पदमा रहेर काम गरेको अनुभव रहेको छ । रोडसो इन्भेष्टमेन्ट कम्पनीका प्रतिनिधि समेत रहेका संचालक सागर गुरुङको यस कम्पनीमा २ लाख रुपैयाँ बराबरको सेयर स्वामित्व रहेको छ । शैक्षिक योग्यता स्नातकोत्तर रहेको उनी हाल रोडसो रियर स्टेटको संचालक र रोडसो यूपीभीसीको प्रबन्ध निर्देशक पदमा रहेका छन् । संचालक उपरथी राम बहादुर गुरुङको ७ लाख ९९ हजार ५० रुपैयाँ सेयर स्वामित्व रहेको छ । भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेण्ट स्टोरका प्रतिनिधि रहेका उनको शैक्षिक योग्यता स्नातक रहेको छ । त्यसैगरी, अर्का सञ्चाकल चिरन्जिवी द्धा को सबैभन्दा थोरै अर्थात ३५ हजार ४ सय ५० रुपैयाँ सेयर स्वामित्व रहेको छ । पोखरा उद्योग वाणिव्य संघको कार्यकारी सदस्य, जनता बैंक नेपालमा र कैलाश विकास बैंक(साविकको अन्नपूर्ण फाइनान्स) मा संचालक पदमा काम गरेको अनुभव बटुलेका उनी २०७६ साल असार ३० गतेदेखि अजोड इन्स्योरेन्सको सञ्चालक पदमा रहेका छन् । यसका साथै, हाल सर्वसाधारण सेयरधनीहरुबाट प्रतिनिधित्व गर्ने संचालक दुई जना स्वतन्त्र संचालक एक जना गरी जम्मा तीन जना संचालकहरु नियुक्त हुन बाँकी रहेको कम्पनीले जानकारी गराएको छ । यस्ताे छ व्यवस्थापकीय टीम कम्पनीको म्यानेजमेन्ट(व्यवस्थापकीय) टीममा प्रमुख कार्यकारी अधिकृत(सीईओ) कुमार बहादुर खत्री, नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापा, सहायक महाप्रबन्धक अनिल कुमार अर्याल र सहायक महाप्रबन्धक महेश राज खरेल रहेका छन् । एमबिएमा स्नातकोत्तर गरेका सीईओ खत्री २०७५ साल जेठ महिना १६ गते यस कम्पनीको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त भएका हुन् । उनमा नेपाल इन्स्योरेन्स कम्पनीको विकास अधिकृत पदमा, एनबि इन्स्योरेन्स हाल आईएमई जनल इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सको नायव प्रबन्धकको पदमा काम गरेको अनुभव रहेको छ । त्यस्तै, नायव प्रमुख कार्यकारी अधिकृत थापाले औद्योगिक क्षेत्र व्यवस्थापन महाप्रबन्धकको पदमा दुई वर्ष बढी काम गरेका छन् । साथै, उनले राष्ट्रिय बीमा संस्थानमा संचालक÷सहायक प्रशासकमा, सनराइज बैंक(साविकको एनआइडिसी क्यापिटल माकेट्समा अध्यक्ष, नागरिक लगानी कोषमा संचालक पदको अनुभव बटुलि सकेका छन् । सहायक महाप्रबन्धक अर्यालले युनाइटेड इन्स्योरेन्स कम्पनी(नेपाल) र एलाइन्स इन्स्योरेन्स(हाल प्रभु इन्स्योरेन्स) मा बजार अधिकृतमा, एनबि इन्स्योरेन्स(हाल आईएमई जनरल इन्स्योरेन्स(मा मुख्य बजार अधिकृतको पदमा, लुम्बिनी जनरल इन्स्योरेन्समा नायव प्रबन्धक र युनाइटेड इन्स्योरेन्समा वरिष्ठ प्रबन्धकको काम गरि बीमा क्षेत्रमा लामो अनुभव बटुलिसकेका छन् । एमएमा स्नातकोत्तर गरेका सहायक महाप्रबन्धक महेश राज खरेलले राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालयहरुका विभिन्न पद तथा कर्मचारी विनियमावली मस्यौदा समिति र संस्थान सुधार सुझाव समितिको सदस्य पदमा काम गरेका छन् । उनी २०७५ साल साउन २७ गते यस कम्पनीको सो पदमा नियुक्त भएका हुन् । कसको लगानी कहाँ र कति छ ? प्रमुख कार्यकारी अधिकृत(सीईओ) कुमार बहादुर खत्रीले वाणिज्य बैंक, बीमा तथा हाइड्रोपावर कम्पनी लगायतका ५ वटा संगठित संस्थामा लगानी गरेका छन् । उनले प्राइम कमर्शियल बैंकमा ७२ हजार कित्ता, सिटिजन्स लाईफ इन्योरेन्समा २० कित्ता, जनरल इन्स्योरेन्स कम्पनीमा १५ हजार कित्ता, पिपुल्स हाइड्रोपावर कम्पनीमा १६ हजार ५ सय कित्ता र चार्टड इन्भेष्टमेन्ट कम्पनीमा १५ हजार कित्ता संस्थापक सेयरमा लगानी गरेका छन् । त्यस्तै, सहायक महाप्रबन्धक महेश राज खरेलले नवकिरण लघुवित्तमा ५ हजार कित्ता संस्थापक सेयरमा लगानी गरेका छन् । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ । सो काम गरे बापत कम्पनीले उक्त क्यापिटललाई एक लाख रुपैयाँ सेवा शुल्क भुक्तानी गर्ने जनाएको छ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ पुस मसान्तसम्मको अवधिमा नेपालको निर्जीवन बीमा बजारमा २.८८ प्रतिशत बजार हिस्सा ओगट्न सफल रहेको छ । समय सापेक्ष अनुसार कम्पनीले नयाँ निर्जीवन बीमा योजना तथा सेवाहरुको विकास गरी सम्भाव्य ग्राहकहरुको पहिचान गरेर आफ्नो व्यापार विस्तार गर्ने योजना लिइएको जनाएको छ । कम्पनीको संस्थापक सेयरधनी ४, सर्वसाधारण सेयरधनी २ र स्वतन्त्र संचालक १ जना गरी संचालक समितिमा ७ जना रहेका छन् । जसमध्ये संस्थापक सेयरधनीको शतप्रतिशत भुक्तानी भएको छ भने सर्वसाधारण सेयरधनी (सामूहिक लगानी कोष तथा कर्मचारी समेत) को भुक्तानी हुन बाँकी छ । त्यसैकारण कम्पनीले अहिले साधारण सेयर विक्री गरिरहेको हो । गत असार १५ गतेबाट दोश्रो वर्ष पार गरी तेश्रो वर्षमा प्रवेश गरेको अजोडले हालसम्म बोनस सेयर जारी गरेको छैन । तर, भविष्यमा नेपाल धितोपत्र बोर्डको व्यवस्था अनुसार बोनस सेयर जारी गर्ने कम्पनीले जनाएको छ । यस्ता छन् जाेखिमहरूः वित्तीय साधनको अभावबाट हुने जोखिम जस्तै, निक्षेप, लगानी तथा कर्जाको ब्याजदरमा आउने परिवर्तनबाट हुन सक्ने जोखिम र नेपालको बजारमा हुने आर्थिक मन्दीबाट पर्न सक्ने असरबाट हुन सक्ने आर्थिक जोखिमहरु रहेका छन् । नयाँ समान प्रकृतिका कम्पनीहरुको प्रवेशबाट उत्पन्न हुने प्रतिस्पर्धाबाट, देशको आर्थिक अवस्थामा आउने उतार चढावबाट हुन सक्ने जोखिमहरु रहेका छन् । नेपालको बीमा कम्पनी/नेपालको बीमा बजार प्रतिको बिश्लेषणबाट र बीमा प्रतिस्पर्धी बजारबाट उत्पन्न हुन सक्ने जोखिमहरु । देशको बैदेशिक ब्यापार नीतिमा हुन सक्ने परिवर्तन तथा बिदेशी मुद्राको बिनिमय दरमा घटबढ भई उत्पन्न हुन सक्ने सम्भावित जोखिमहरु सम्बन्धमा कम्पनीले विदेशमा दर्ता भएका कम्पनीहरुसंग पुर्नविमा गरेको वा सम्बन्धीत निकायहरुबाट आवश्यक स्वीकृति लिई बिदेश स्थित कम्पनीहरुसंग उद्देश्य अनुरुपको कुनै साझेदारी गरेका अवस्थामा यो जोखिम रहन सक्ने कम्पनीले जनाएकाे छ । अन्तर्राष्ट्रिय बजारमा हुने आर्थिक मन्दीबाट पर्न सक्ने असरबाट र अन्तर्राष्ट्रिय बीमा बजारको अवस्थामा आउने उतार चढावबाट पनि कम्पनीमा आर्थिक जोखिम पर्न सक्छ । त्यस्तै, नेपाल सरकार तथा बीमा समितिको नीति नियममा हुने परिवर्तनबाट र देशको मौद्रिक नीति लगायत बीमा समितिले जारी गर्ने नियम निर्देशनको अप्रत्याशित परिवर्तनबाट सिर्जना हुने सम्भावित जोखिमहरु रहेका छन् । सम्भावित जोखिमलाई व्यवस्थापनले कसरी न्यूनीकरण गर्छ ? सम्भावित आर्थिक जोखिमलाई व्यवस्थापनले उचित जोखिम मुल्याङ्कन गरी कुशल जोखिम ब्यबस्थापन गर्नेछ । त्यस्तै, अनुभवी तथा दक्ष जनशक्तिद्वारा उचित दाबी ब्यबस्थापन गर्ने र बीमा समितिद्वारा जारी लगानी निर्देशिका अनुरुप लगानी गर्ने कम्पनीले जनाएकाे छ । आन्तरिक नियन्त्रण प्रणाली प्रभावकारी बनाई लेखापरिक्षकले औँल्याएका कैफियतहरु सुधार गर्दै लैजाने र बीमा समितिले जारी गरेको संस्थागत सुशासन तथा अन्य निर्देशिकाहरु पालना गर्दै आइरहेको र परेका चुनौतीहरुलाई व्यवस्थान गर्दै अगाडी बढ्ने कम्पनीकाे सम्भावित याेजना रहेकाे छ ।