मिर्मिरे लघुवित्तले एफपीओ जारी गर्दै, बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट नियुक्त
काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले ३७ हजार २ सय ६० कित्ता थप सार्वजनिक निष्काशन (एफपीओ) निष्काशन गर्ने भएको छ । उक्त सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैकिङ्ग नियुक्त भएको छ । सो सम्बन्धि सम्झौतापत्रमा नेपाल एसबिआई मर्चेण्टका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत रोशनी भारती र मिर्मिरे लघुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद न्यौपानेले हस्ताक्षर गरेका हुन् । उक्त सम्झौता मिर्मिरे लघुवित्तको बनेपा–८ स्थित रजिष्टर्ड कार्यालयमा असार २३ गते आयोजित एक कार्यक्रमबीच भएको हो ।
धितोपत्र बोर्डका कर्मचारीले सेयर कारोबार गर्न नपाउने
काठमाडौं । नेपाल धितोपत्र बोर्डका कर्मचारीले सेयर कारोबार गर्न नपाउने भएका छन् । सांसद राम कुमारी झाँक्रीको नेतृत्वमा गठित उपसमितिले मंगलबार अर्थसमितिमा प्रतिवेदन बुझाउँदै उक्त व्यवस्था मिलाउन सुझाव दिएको हो । उक्त प्रतिवेदनमा बोर्डका पदाधिकारी र कर्मचारीले आफुसँग यसभन्दा अगाडि रहेका आईपीओ सेयरहरु बिक्री गर्ने बाहेक सेयर कारोबार गर्न नपाउने कुरा उल्लेख छ । यस व्यवस्था लागू भएमा बोर्डका कर्मचारीहरूले प्राथमिक तथा दाेश्राे बजार दुबैमा सेयर काराेबार गर्न पाउने छैनन् ।
बैंकलाई ब्रोकर लाइसेन्स दिन अर्थ समितिको निर्देशन
काठमाडौं । बैंकलाई ब्रोकर लाइसेन्स दिन अर्थ समितिले निर्देशन दिएको छ । नेपाल सरकारद्वारा गठित अर्थ समितिको उपसमितिले बोर्डले तोकिएको मापदण्ड पुरा गर्ने वाणिज्य बैंकहरुलाई सहायक कम्पनी मार्फत सेयर खरिद बिक्री गर्न पाउने गरी ब्रोकर लाईसेन्स दिन सिफारिस गरेको हो । पुँजी बजार तथा मुद्रा बजार सम्बन्धी अध्ययन अर्थ समितिले गठन गरेको उपसमितिकी अध्यक्ष रामकुमारी झाँक्रीले मंगलबार अर्थसमितिमा प्रतिवेदन बुझाउँदै बैंकलाई ब्रोकर लाइसेन्स दिन सिफारिस गरेकी हुन् । साथै, समितिले धितोपत्र दलाल व्यवसायलाई थप प्रतिस्पर्धी बनाउन धितोपत्र दलाल सम्बन्धी विद्यमान इजाजत र संचालन नीतिमा पुनरावलोकन गर्न सुझाव दिएकाे छ । त्यस्तै, सेयर खरिद बिक्री गर्न पाउने गरी खोलिएका वाणिज्य बैंकहरुका सहायक कम्पनी तथा धितोपत्र दलाल व्यवसायीले अर्को धितोपत्र दलाल व्यवसायीलाई प्राप्ती गर्ने र गाभिने नीतिगत व्यवस्था गर्न सिफारिस गरेको छ । अर्थ समितिले सांसद राम कुमारी झाँक्रीको नेतृत्वमा रामबाबु यावद, प्रमिला राई, हेमकुमार राई र मेटमणि चौधरी सदस्य रहेको उपसमिति गठन गरेको थियो । बैंकलाई ब्रोकर लाइसेन्स दिने या नदिने भन्ने सम्बन्धमा गठित उक्त समितिले अध्ययन गरी उक्त प्रतिवेदन तयार गरेको हो । नेप्सेले वाणिज्य बैंकका सहायक कम्पनीलाई धितोपत्र सदस्य दलाल व्यवसायी अनुमतिपत्रका लागि सिफारिश कार्यविधि तयार गरेको थियो । साथै, यस सम्बन्धमा गत साउन १७ मा वाणिज्य बैंकका सहायक कम्पनीले धितोपत्र खरिद बिक्री गर्ने अनुमतिपत्रका लागि निवेदन दिने बारे नेप्सले सूचना जारी गरिसकेकाे थियाे ।