निर्धारित समय अगावै बन्द भयाे सेयर बजार, कारोबार अब आइतबार मात्रै हुने
काठमाडौं । गत मंगलबारदेखि निरन्तर बढेको सेयर बजारमा बिहीबार ब्रेक लागेको छ । कारोबार शुरु भएदेखि निरन्तर ओरालो लागेको बजारमा तीन पटक नकारात्मक सर्किट ब्रेक लागेर निर्धारित समय अगावै कारोबार बन्द भएको हो । दिउँसो १२ बजेर ४० मिनेटमा नेप्से परिसूचक ६.०२ प्रतिशतले घटेपछि बजारमा अर्को सर्किट ब्रेक लागेको हो । यससँगै आजको लागि कारोबार स्थगित भएको छ । यसअघि दुई दिन लगातार तीन पटक सम्म सकारात्मक सर्किट ब्रेक लागेर बन्द भएको बजारमा आज करेक्सन भएको छ । बजार खुलेको २३ मिनेटमै नेप्सेमा नेगेटिभ सर्किट लागेर २० मिनेट कारोबार स्थगित भएको थियो । त्यसपछि बजार खुलेको ४ मिनेट नबित्दै परिसूचक ५ प्रतिशतले घटेर दोश्रो पटक सर्किट लागेको थियो । यससँगै ४० मिनेट पछि खुलेको बजारमा नेप्से परिसूचक ६ प्रतिशतले घटेर पुनः सर्किट लागेर आजको कारोबार बन्द भएको हो । यो अवधिमा नेप्से परिसूचक ८०.४१ अंकले घटेर १२५६.११ अंकमा झरेको छ । सो दिन १४२ कम्पनीको ४७ करोड ६६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसमध्ये नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा बढी सेयर कारोबार भएको छ । कम्पनीको ६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता ३८३ रुपैयाँ रहेको छ । त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ६ करोड ५३ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बिहीबार म्युचअल फण्ड बाहेक कारोबारमा आएका सबै समूहहरु ओरालो लागेका छन् । सबैभन्दा बढी जीवन बीमा समूह ६०८ अंकले घटेको छ । तीन पटकसम्म नकारात्मक सर्किट लागेको बजारमा पनि स्वाभिमान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ८.०७ प्रतिशत कमाएका छन् । सबैभन्दा बढी सोल्टी होटलको सेयर मूल्य १० प्रतिशतले घटेको छ । त्यस्तै, ९ प्रतिशत बढी गुमाउनेमा प्रभु बैंक, हिमालयन डिष्टिलरी, लाईफ इन्स्योरेन्स कम्पनी र ग्लोबल आईएमई क्यापिटलका लगानीकर्ता रहेका छन् । यससँगै अब आइतबार(असार २१ गते) मात्रै सेयर कारोबार खुल्ने भएको छ ।
खुलेकाे एक घण्टा नबित्दै नेप्सेमा लाग्याे दुई पटक नकारात्मक सर्किट
काठमाडौं । बिहीबार कारोबार खुलेको एक घण्टा नबित्दै दुई पटक नकारात्मक सर्किट ब्रेक लागेको छ । दुई दिन लगातार उकालो लागेको बजारमा बिहीबार बजार खुलेदेखि नै घटेर नेगेटिभ सर्किट लागेको हो । पहिलो सर्किट लागेर २० मिनेटपछि खुलेको बजारमा ४ मिनेटमै अर्को सर्किट लागेको हो । नेप्से परिसूचक ५ प्रतिशतभन्दा बढीले घटेपछि सेयर कारोबार ४० मिनेटको लागि स्थगित भएको छ । ११ बजेर ४७ मिनेट जाँदा रोकिएको कारोबार अब दिउँसो १२ बजेर २७ मिनेटमा पुनः सुचारु हुने छ । यसअघि कारोबार सुरु भएको २३ मिनेटमै नेप्सेमा नेगेटिभ सर्किट लागेको थियो । ५३.५ अंक अर्थात ४ प्रतिशतले घटेपछि सेयर कारोबार २० मिनेटमा लागि रोकिएको हो । केही मिनेट उकालो लागेको बजार त्यसपछि लगातार आरालो लागेको हो । सेयर बजार ११ बजेर २३ मिनेटमै ४ प्रतिशतले घटेको थियाे । दोश्रो पटक सर्किट लाग्दा नेप्से परिसूचक ६७ अंकले घटेर १२६९ अंकमा झरेको छ । सो अवधिमा १३३ कम्पनीको २९ करोड ३५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
एनआईसी एशिया लघुवित्तको आईपीओ प्री-अलोटमेन्ट आज, कति बजे ?
काठमाडौं । एनआईसी एशिया लघुवित्तले जारी गरेको साधारण सेयर(आईपीओ)को प्री-अलोटमेन्ट आज(बिहीबार) हुँदै छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलले आज बिहान १० बजेपछि प्री-अलोटमेन्ट हुने जनाएको हो । साथै, सेयर बाँडफाँडको मिति भने नियामकहरुसँगको निर्णयपछि तय गरिने क्यापिटलले जानकारी गराएको छ । गत असार १० गतेदेखि असार १४ गतेसम्म बिक्री खुला भएको उक्त आईपीओमा ४ लाख १४ हजार एक सय ८० जनाले आवेदन दिएका थिए । उनीहरुले कूल २ अर्ब ३० करोड ६५ लाख ३९ हजार रुपैयाँ बराबर अर्थात २ करोड ३० लाख ६५ हजार ३ सय ९० कित्ता सेयर माग गरेका छन् । जुन संस्थाले सर्वसाधारणमा माग गरेको भन्दा ५.१९ गुणा बढी हो । संस्थाले सर्वसाधारणमा ४४ लाख ४३ हजार २ सय कित्ता सेयर बिक्रीमा राखेको थियो । संस्थाले एक सय अंकित मूल्य रहेको कूल ४७ लाख ५५ हजार कित्ता सेयर बिक्री गरेको हो । जुन नेपालका माइक्रोफाइनान्स कम्पनीहरुले हालसम्म जारी गरेका आइपीओ मध्येकै ठूलो हो । जसमध्ये २ लाख ३७ हजार ८ सय कित्ता(५ प्रतिशत) साधारण सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको, ७४ हजार कित्ता(०.५ प्रतिशत) साधारण सेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने बाँकी ४४ लाख ४३ हजार २ सय कित्ता सेयर सर्वसाधारणमा निष्कासन गरेको हो ।