३० अर्ब ८९ करोडको धितोपत्र निष्काशन गर्न बाेर्डकाे अनुमति

काठमाडाैं । नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेवोन) ले चालू आर्थिक वर्षको १० महिनाको अवधिमा कूल ३० अर्ब ८९ करोड रुपैयाँ बराबरको धितोपत्र बिक्रीका लागि अनुमति दिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत वैशाख मसान्तसम्म धितोपत्र बजारमा भए गरेका काम कारवाहीको जानकारी दिँदै बन्दाबन्दीको अवधिमा समेत सेयर बजारमा आशातित काम भएको पाइएको छ । केन्द्रीय बैंकका अनुसार समीक्षा अवधिमा बोर्डले २१ अर्ब ४५ करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्रीका लागि अनुमति दिएको छ । यस्तै चार अर्ब ४१ करोड रुपैयाँ बराबरको हकप्रद सेयर, तीन अर्ब २३ करोड रुपैयाँ बराबरको साधारण सेयर र एक अर्ब ८० करोड रुपैयाँ बराबरको सामूहिक लगानी कोष (म्युचुअल फण्ड) गरी ३० अर्ब ८९ करोड रुपैयाँ बराबरको धितोपत्र निष्काशन गर्न अनुमति दिएको बैंकले जनाएको छ । गत वैशाख मसान्तमा धितोपत्र बजार पुँजीकरण १५ खर्ब ३६ अर्ब ४२ करोड रुपैयाँ कायम भएको छ । गत असार मसान्तमा बजार पुँजीकरण १५ खर्ब ६७ अर्ब ५० करोड रुपैयाँ रहेको थियो । गत असारको तुलनामा वैशाखमा आइपुग्दा ३१ अर्ब ५० करोड रुपैयाँले कूल बजार पुजीकरणमा कमी आएको हो । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकृत कम्पनीको सङ्ख्या २१२ रहेको छ । सूचीकृत कम्पनीमध्ये १४८ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ३३ जलविद्युत् कम्पनी, १९ उत्पादन र प्रशोधन उद्योग, चार/चार होटल तथा व्यापारिक संस्था र अन्य समूहका चार कम्पनी रहेका छन् । गत असारमा सूचीकृत कम्पनीको सङ्ख्या २१५ रहेको थियो । सूचीकृत कम्पनीमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँजीकरणको हिस्सा ८०.१ प्रतिशत रहेको छ । त्यसैगरी जलविद्युत् कम्पनीको हिस्सा ५.९ प्रतिशत, उत्पादन र प्रशोधन उद्योगको हिस्सा ३.८ प्रतिशत, होटेलको हिस्सा १.३ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.३ प्रतिशत तथा अन्य समूहका कम्पनीको हिस्सा ८.६ प्रतिशत रहेको छ । स्टकमा गत वैशाखसम्म सूचीकृत कूल चार अर्ब ७० करोड सेयरको चुक्ता मूल्य चार खर्ब ६० अर्ब ६१ करोड रूपैयाँ रहेको छ । चालू आवको १० महिनामा २६ अर्ब २५ करोड रूपैयाँ बराबरका बोनस सेयर, २१ अर्ब ४६ करोड रूपैयाँ बराबरका ऋणपत्र १२ अर्ब १६ करोड रूपैयाँ बराबरका साधारण सेयर, पाँच अर्ब ७५ करोड रूपैयाँ बराबरका सामूहिक लगानी कोष (म्युचअल फण्ड), चार अर्ब ११ करोड रूपैयाँ बराबरका हकप्रद सेयर र ११ अर्ब ८३ करोड रूपैयाँ बराबरका अन्य गरी कूल ८१ अर्ब ५५ करोड रूपैयाँ बराबरका थप धितोपत्र सूचीकृत भएका केन्द्रीय बैंकले जनाएको छ । रासस

सेयर बजार बन्धक बनाएर करोडौं कुम्ल्याउने दाऊ, अर्थमन्त्रीमाथि पनि हावी हुने व्यक्ति को हो ?

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमण रोक्न सरकारले देशव्यापी लकडाउन गरेको चैत ११ गतेदेखि नेपाली सेयर बजार बन्द छ । सरकारले लकडाउन खुकुलो पारेपछि सामान्य चिया पसलसमेत खुलिसक्दा पनि दैनिक अर्ब रुपैयाँको हाराहारीमा कारोबार हुने बजार अनिश्चित कालको लागि बन्द भएको छ । पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्डले बजार बन्द गर्नुका पछाडि दुईटा कारण देखाएको छ । एउटा कारण, कनेक्ट आइपीएसबाट दैनिक १० लाख रुपैयाँसम्म मात्रै भुक्तानी गर्न पाइने भएकोले यो सीमा नेपाल राष्ट्र बैंकले हटाइदिएपछि मात्रै बजार खोल्न सकिन्छ । अर्काे, सेयर कारोबारमा लाग्दै आएको पुँजीगत लाभकर अन्तिम हो कि होइन भन्नेमा अन्योल छ, अर्थमन्त्रालयले पुँजीगत लाभकर अन्तिम हो भनेर स्पष्ट पारेपछि लगानीकर्ता सेयर कारोबार गर्न तयार हुन्छन्, अनिमात्र बजार खोल्न सकिन्छ । धितोपत्र बोर्डले सार्वजनिक रुपमा देखाएका यी कारण सेयर बजार बन्द गर्नुपर्ने तहका छैनन् । किनभने दैनिक १० लाख रुपैयाँसम्म मात्रै भुक्तानी गर्न पाइने कनेक्ट आइपीएसको व्यवस्था र पुँजीगत लाभकर अन्तिम हो कि होइन भन्ने अन्योलले मात्रै बजार खोल्न नसकिने होइन भन्ने सरोकारवालाको दाबी छ । एक व्यक्तिले दैनिक १० लाख रुपैयाँसम्मको कारोबार गर्ने सीमा भनेको अहिलेको नेपाली बजारका लागि पर्याप्त रहेको लगानीकर्ता बताउँछन् । १० लाख रुपैयाँभन्दा बढीको सेयर किन्ने व्यक्तिको लागि पनि अहिले कुनै समस्या नभएको ब्रोकरको भनाई छ । ‘दैनिक १० लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच गर्ने व्यक्ति सामान्यतः हामीले चिनेकै हुन्छन्, उनीहरुसँग सो परिमाणको सेयर किनबेचको अर्डर स्वीकार गर्ने कि नगर्ने भन्ने हामीले सजिलै निक्र्योल गर्न सक्छौं, र १० लाख रुपैयाँभन्दा बढीको सेयर किन्ने व्यक्तिले चेक लिन आऊ भनेर हामीलाई भन्छ भने काठमाडौं उपत्यकाको कुनै पनि ठाउँमा कर्मचारी पठाएर चेक ल्याउने व्यवस्था मिलाउँछौं, त्यसैले दैनिक १० लाख रुपैयाँसम्मको मात्रै भुक्तानी गर्न सकिने सीमाको कारण असजिलो भएर बजार बन्द गरियो भन्ने तर्क मलाई त सुन्दै हाँसो लाग्छ,’ एक ब्रोकरले भने । अब पुँजीगत लाभकर अन्तिम हो कि होइन भन्ने ‘अन्योल’को कुरा गरौं । यो विषय उठेको लकडाउनको बीचमा मात्रै होइन । विगतदेखि नै चल्दै आएको यो वहसले अहिले बजार बन्द गर्ने अवस्थामा पुर्याएकै छैन । र, अहिले बजार बन्द भएको पनि पुँजीगत लाभकरको अन्योलताको कारण होइन । बजारमा लगानीकर्ताको विश्वास बृद्धि गर्न अस्पष्ट भएका विषय प्रष्ट पार्दै जाऔं भन्ने लगानीकर्ताको माग हो । पुँजीगत लाभकर अन्तिम हो कि होइन भन्ने दुविधा बजार खुलाएर पनि प्रष्ट पार्न सकिन्छ । अर्थमन्त्री रमिते पुँजी बजारलाई अनुत्पादक क्षेत्र भनेर आलोचना गर्दै आएका अर्थमन्त्री डा. युवराज खतिवडा बजारलाई बन्दक बनाउने अहिलेको खेलमा रमिते बनेका छन् । धितोपत्र बोर्डले सार्वजनिक रुपमा बताएका दुबै समस्या समाधान गर्ने सबैभन्दा माथिल्लो जिम्मेवारीमा अर्थमन्त्री खतिवडा नै छन् । बोर्डले भनेको कनेक्ट आइपिएसबाट दैनिक १० लाख रुपैयाँ मात्रै भुक्तानी हुने अहिलेको व्यवस्था नै बजार खुल्ला गर्नको लागि बाधक हो भने अर्थमन्त्री डा. खतिवडाले नेपाल राष्ट्र बैंकलाई भनेर सो सीमा हटाउने व्यवस्था गराउन सक्थे । एउटा बैंकको एउटा खातावालाको पैसा बैंककै अर्काे खातावालकोमा जाने व्यवस्था रहेको कनेक्ट आइपिएसको भुक्तानीमा सीमा तोकेर अनावश्यक झन्झट कायम राखिरहनु पर्ने नै थिएन । अर्थमन्त्री खतिवडाले गभर्नर महाप्रसाद अधिकारीलाई एक कल फोन गरे मात्रै पनि यो सीमा हटाउन काफी हुन्छ । र, गभर्नरले सम्बन्धित विभागको कार्यकारी निर्देशकलाई तत्काल निर्देशन दिन सक्छन् । यो समस्या समाधान गर्न एक घण्टा पनि समय नलाग्नु पर्ने हो । तर, सरोकारवाला भने कनेक्ट आइपिएसबाट १० लाख रुपैयाँ मात्रै भुक्तानी गर्न पाइने सीमा नै बजार खोल्नको लागि बाधक हो भनेर स्वीकार गर्न तयार छैनन् । पुँजीगत लाभकर अन्तिम हो कि होइन भनेर प्रष्ट पार्ने काम पनि अर्थमन्त्रालय अन्तरगतकै निकायको हो । नेपालको कर कानुनले कर ऐनमा भएका व्यवस्थाको व्याख्या गर्ने अधिकार सम्बन्धित विभागको महानिर्देशकलाई दिएको छ । भन्सार महसुल सम्बन्धी विषयमा कुनै अस्पष्टता वा दुविधा भयो भने भन्सार विभागको महानिर्देशकले र आयकर तथा पुँजीगत लाभकर सम्बन्धी विषयमा कुनै दुविधा उत्पन्न भयो भने त्यसको व्याख्या आन्तरिक राजस्व विभागका महानिर्देशकले गर्ने व्यवस्था कानुनमै छ । त्यसैले पुँजीगत लाभकरको विषयमा आन्तरिक राजस्व विभागका महानिर्देशकले एक घण्टा पनि समय नलगाई स्पष्ट पार्न सक्छन् । समस्या समाधान गर्न साँच्चिकै तयार हुने भने एक घण्टा पनि समय नलाग्ने विषयलाई देखाएर ३ महिनादेखि बजार बन्द हुनसक्नु भनेको अर्थमन्त्री रमित बनेकैले हो । यसमा अर्थमन्त्री डा. खतिवडालाई मनको बाघले खाएको आभाष मिलेको लगानीकर्ता बताउँछन् । गैरसांसदको रुपमा फागुन तेस्रो सातादेखि अर्थमन्त्री पदमा बहाल रहेका डा. खतिवडालाई आफ्नो पद जोगाईराख्न भदौ तेस्रो साताभित्रमा सांसद बनिसक्नुपर्छ । सत्तारुढ नेकपा सचिवालय बैठकले राष्ट्रपतिबाट राष्ट्रियसभामा मनोनित हुने सांसदमा पार्टी उपाध्यक्ष बामदेव गौतमलाई सिफारिस गर्न प्रधानमन्त्रीलाई भनिसकेकोले उनले पार्टीको विश्वास पाएका छैनन् । भलै, प्रधानमन्त्री केपी शर्मा ओली दाहिना भएकोले मात्रै डा खतिवडा अर्थमन्त्री पदमा बहाल छन् । सेयर बजार धेरै घट्यो भने आफूविरुद्ध अर्काे नकारात्मक अंक थपिने आकलन अर्थमन्त्रीको छ । ‘बजार खुल्यो भने सेयरको मूल्य घट्छ, सेयर बजार घटेपछि आफूविरुद्ध नाराबाजी र मोर्चाबन्दी हुन्छ, त्यो मोर्चाबन्दी र नाराबाजीले मेरो पद धरापमा पर्छ भन्ने त्रास अर्थमन्त्रीमा देखिएको छ,’ एक लगानीकर्ताले भने । बजार घट्ने वा बढ्ने भनेको स्वभाविक प्रक्रिया हो । अर्थमन्त्री तर्सिए जस्तै गरी बजार धेरै घट्ने सम्भावना पनि कम छ । किनभने अहिले बैंकिङ क्षेत्रमा तरलता बढिरहेको छ । बैंकको व्याज घट्दो क्रममा छ । भन्सार महसुल बढेको कारण सुन महंगिएको छ । लगानीका अन्य क्षेत्र प्रायः सबै बन्द छन् । यस्तो बेलामा घर बसेर लगानी गर्न पाइने क्षेत्र भनेको सेयर बजार मात्रै हो । र, संसारका धेरै देशमा सेयर बजारले गति लिदै गरेको पछिल्लो अवस्था पनि देखिएको छ । अर्कै छ प्रपञ्च सेयर बजार बन्दक बनाएर अनुचित लाभ लिन ठूलै योजना तयार भएको स्रोतको दाबी छ । यो योजना कार्यान्वयन गर्नको लागि नेपाली बजार जस्तै संसारभरको इक्वीटी क्यास डेलिभरी प्रणालीमा लागू नभएको रियल टाइम सेटलमेन्ट अर्थात ‘टी प्लस जेरो’ प्रणालीको विषय उठाइएको छ । ‘संसारको सबैभन्दा विकसित र पुँजीबादी देश भनिने अमेरिकामा हाम्रो जस्तो इक्वीटी क्यास डेलिभरीमा २ दिन (टी प्लस टू) मा सेटलमेन्ट हुन्छ, हाम्रोमा रियल टाइम सेटलमेन्ट (टी प्लस जेरो) लागू गर्ने कुरा किन आयो ? यसको पछाडिको कारण खोज्ने हो भने सेयर बजार किन बन्द भइरहेको छ भन्ने प्रश्नको जवाफ भेटिन्छ,’ अर्का एक लगानीकर्ताले भने । ती लगानीकर्ताको शंका पुष्टी गर्ने केही गतिविधि पनि देखिएको छ । जस्तो कि सरकारले जेठ २५ गतेदेखि लकडाउन खुकुलो बनाउने निर्णय गर्यो । सो निर्णय गर्दा कोरोेना भाइरस संक्रमण रोक्न सावधानी अपनाउँदै सेयर बजार पनि खोल्ने प्रस्ताव अर्थमन्त्रालयबाट मन्त्रिपरिषदमा गएको स्रोतको दाबी छ । तर, मन्त्रिपरिषदबाट निर्णय भएर आउँदा सहकारी संस्था खोल्ने भनियो, सेयर बजार खुल्ला गर्ने विषय समावेश भएन । त्यसैले अर्थमन्त्रीभन्दा पनि माथि कसैले सेयर बजारका बारेमा केही योजना बनाइरहेकोे शंकालाई बल मिलेको छ । अर्थमन्त्री डा. खतिवडाले सेयरको अनलाइन कारोबारमा बेग्लै कम्पनी आवश्यक भएको आशय धितोपत्र बोर्डको वार्षिकोत्सव समारोहलाई गरेको सम्बोधनमा समावेश गरेका थिए । सो सम्बोधनमा उनले अनलाइन कारोबारमा बैंक खाता र डिम्याट खाता इन्ट्रिगेसन गर्न अहिलेको संरचना बाधक भए छुट्टै कम्पनी स्थापना गरेर भएपनि अघि बढ्नुपर्ने बताएका थिए । अर्थमन्त्री खतिवडाले यस्तो आशय व्यक्त गर्ने वित्तिकै धितोपत्र बोर्डले आगामी साउन १ गतेदेखि रियल टाइम सेटलमेन्टको लागि तयार रहन सरोकारवाला सबैलाई निर्देशन जारी गरेको छ । बोर्डको यस्तो निर्देशनपछि रियल टाइम सेटलमेन्टको काम अहिलेको संरचनाबाट नहुने भन्दै बेग्लै सिस्टम बनाउने तयारी भएको स्रोतको दाबी छ । यसमा सिडिएसमा काम गरिसकेका एकजना व्यक्तिको समेत संलग्नतामा नेपालकै सबैभन्दा प्रभावकारी भनिने एक भुक्तानी सेवा प्रदायक कम्पनीकाे माउ कम्पनी, भारतीय ब्रोकरलाई सफ्टवयर प्रदान गर्ने भनिएको एक भारतीय सफ्टवयर कम्पनीको नेपाली एजेन्ट र एक श्रीलंकाली सफ्टवयर कम्पनीको नेपाली एजेन्ट दौडधुपमा रहेको बताइएको छ । यसरी रियल टाइम सेटलमेन्टको लागि बेग्लै सिस्टम बनेर लागू भएमा त्यस्तो सिस्टम बनाउनेले करोडौं रुपैयाँ आम्दानी गर्ने सरोकारवालाले बताए ।

फेरि अनिश्चितकालका लागि बन्द भयाे सेयर बजार

काठमाडौं । सेयर बजार अनिश्चितका लागि बन्द गरिएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले शनिबार एक सूचना सार्वजनिक गर्दै सेयरबजार अनिश्चितका लागि बन्द गरिएको जनाएको हो । स्टक एक्सचेञ्ज लिमिटेडका अनुसार असार ७ गतेदेखि धितोपत्रको दोस्रो कारोबार स्थगन गर्ने निर्णय गरिएको हो । नेप्सेले धितोपत्र बोर्डबाट अर्को सूचना नभएसम्मका लागि बन्द हुने सूचनामार्फत जनाएको छ । गत साता नेप्सेले बोर्डको निर्देशनमा बिहीबारसम्मका लागि कारोबार बन्द गरेको थियो । अब आइतबारबाट बजार खुला हुन सक्ने सम्भावना रहेको भन्दै नेप्सेले तयारीमा रहन सरोकारवाला सबैलाई सूचना जारी गरेको थियो । तर शनिबार फेरि सूचना जारी गर्दै धितोपत्र बोर्डको अर्को निर्देशन प्राप्त नभएसम्म बजार बन्द रहने बताएको हो । अब बजार खुला हुने मिति अनिश्चित बनेको छ ।