तीन महिनापछि खुलेकाे बजारमा लगानीकर्ताकाे मुड कस्ताे हाेला ?

काठमाडौं । धितोपत्रको दोश्रो बजार आज ९८औं दिनपछि खुलेको छ । लामो अवधिपछि खुलेको बजार के होला ? बढ्ला कि घट्ला ? लगानी गर्ने कि नगर्ने ? भन्ने आम लगानीकर्तामा परेको छ । यस विषयमा नेपाल इन्भेष्टर्स फोरमका पूर्व अध्यक्ष अम्बिका प्रसाद पौडेलले भने बजार शुरुमा घट्न सक्ने बताए । तर आज नै बाउन्स ब्याक पनि हुन सक्ने उनले बताए । सेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्यालले आजको बजारमा केहि गिरावट आउन सक्नेछ तर दुई चार दिन पनि सम्हालिने बताएका छन् । ‘प्यानिक अवस्थाको बजार छ । लगानीकर्ताको मनोबल गिरेको अवस्था छ । त्यसैले केहि गिरावट आउला तर त्यति धेरै गिरावट चाहि आउने छैन । किनभने बजारमा आएका सकारात्मक कुराहरु जस्तै, पुँजीगत लाभकरमा स्पष्टता भएको छ । मौद्रिक नीतिमा मार्जिन कल बढाउने भन्ने कुरा भएको छ । इन्भेष्टमेन्ट बैंकको २ अर्ब रुपैयाँ फिर्ता आएको छ । यी कुराले बजार त्यति तल जाँदैन । आजको बजारमा सेलिङ प्रेसर आउने छ । आत्तिनु पर्ने अवस्था छैन केहि दिनमा बजारले आफ्नो गति लिन थाल्छ ।’ त्यस्तै, नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले पनि प्यानिक पछि खुलेको बजारमा केहि गिरावट आउने बताएकी छिन् । लगानीकर्ताको मनोबल कमजोर भएको छ, बजार केहि तल जान सक्छ त्यसैले सकेसम्म केहि दिन सेयर होल्ड गर्न उनले लगानीकर्ताहरुलाई आग्रह गरेकी छिन् । अन्तर्राष्ट्रिय बजारले जस्तै नेपाली पुँजी बजारले पनि एक दुई दिन पछि आफ्नो गति लिन सक्ने उनले बताइन् । ‘लामो समयदेखि बन्द भएको पुँजी बजारमा अत्यावश्यक कामको लागि रकम निष्काशन गर्न पाइएको छैन । पीडित लगानीकर्ताहरुले खर्चको जोहो गर्ने भएकाले आइतबारको बजारमा बिक्री चाप बढ्न सक्ने छ ।’ ‘अर्काे, हातमा पैसा लिएर बस्नेहरु पनि पर्ख र हेरको अवस्थामा नै हुने छन् । कोरोना महामारीको अवस्थामा फेरि पुँजी बजार घट्छ । र अहिले बचेर पछि घटेपछि किनौला भन्ने लगानीकर्ताको मनोविज्ञान पनि रहेको हुन्छ । यसका साथै, असार मसान्त नजिकिँदै गर्दा मार्जिन कल र व्याज तिर्ने चटारोको प्रेसर पर्न सक्छ ।’- अध्यक्ष पाेखरेलले बताइन् । बजारमा आत्तिनु पर्ने अवस्था छैन । बजारले २/४ दिन पछि गति लिन्छ त्यसैले केही दिन होल्ड गर्न उनले सबैलाई आग्रह गरेकी छिन् ।

कतिले भरे एनआईसी एशिया लघुवित्तको सेयर ?

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको साधारण सेयर(आईपीओ) भर्ने म्याद आज(आइतबार) बाट सकिएको छ । असार १० गतेदेखि बिक्री खुला भएको उक्त आईपीओमा कूल ४ लाख १२ हजार ३ सय ३२ जना आवेदकले आवेदन दिएका छन् । सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार आइतबार साँझ साढे ५ बजेसम्ममा उनीहरूले २ करोड २९ लाख ६८ हजार ८ सय ७० कित्ता सेयरको लागि आवेदन दिएका हुन् । जुन संस्थाले सर्वसाधरणमा माग गरेकाे भन्दा  ५.१७ गुणा बढी हाे । सो अवधिसम्ममा २ अर्ब २९ करोड ६८ लाख ८७ हजार रुपैयाँ बराबरको आवेदन परेकाे छ। उक्त डाटामा आश्वा सदस्यका बैंकहरुबाट केहि थपिन सक्ने क्यापिटलले जानकारी गराएको छ । संस्थाले एक सय अंकित मूल्य रहेको ४७ लाख ५५ हजार कित्ता सेयर बिक्री गरेकाे हाे । जुन नेपालका माइक्रोफाइनान्स कम्पनीहरुले हालसम्म जारी गरेका आइपीओ मध्येकै ठूलो हो । जसमध्ये २ लाख ३७ हजार ८ सय कित्ता(५ प्रतिशत) साधारण सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको, ७४ हजार कित्ता(०.५ प्रतिशत) साधारण सेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने बाँकी ४४ लाख ४३ हजार २ सय कित्ता सेयर सर्वसाधारणमा निष्कासन गरिनेछ संस्थाले जनाएको छ । संस्थाले बुधबारदेखि ४४ लाख ४३ हजार २ सय कित्ता सेयर बिक्रीमा राखेको थियो । इच्छुक लगानीकर्ताले न्युनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्मको लागि आवेदन दिन पाउने व्यवस्था रहेकाे थियाे ।

सेयर बजार सञ्चालनको लागि धितोपत्र बोर्डले के के काम गर्यो ?

काठमाडौं । लकडाउनको अवधिमा धितोपत्रकाे दाेश्राे बजार पूर्णरूपमा बन्द भयाे । याे अवधिमा दोश्रो बजार सञ्चालनको लागि नेपाल धितोपत्र बोर्डले विभिन्न कार्यहरु गरेको छ । लकडाउनको तीन महिनाको अवधिमा बोर्डले घरमै बसी कारोबार गर्न सक्ने व्यवस्थादेखि अनलाइन स्टक डिलर व्यवसाय सञ्चालनमा ल्याउने प्रक्रिया अघि बढाएको बाेर्डका उप कार्यकारी निर्देशक डा. नवराज अधिकारीले जानकारी गराएका छन् । धितोपत्र बजारको विद्यमान अवस्था र सुधारका विषय तथा लगानीकर्ताहरुको माग सम्बन्धमा उच्च स्तरीय वित्तीय क्षेत्र समन्वय समितिमा छलफल र नियमन निकायहरुले सुधार गर्नुपर्ने कार्यहरु गर्न निर्देशन दिएको छ । विद्युतीय माध्यमबाट रकम भुक्तानी तथा प्राप्ति र लगानीकर्ताहरुको बैंक खाता तथा डिम्याट खाता आवद्ध गर्ने सम्बन्धमा नेप्सेलाई निर्देशन दिएको बोर्डले जनाएको छ । स्टक डिलर व्यवसाय सञ्चालनमा ल्याउने सम्बन्धमा निर्देशन तथा अनुमतिका लागि बोर्डमा निवेदन प्राप्त भएको बोर्डले जानकारी गराएको छ । त्यसैगरी, लगानीकर्ताले कारोबार गर्दा डिम्याट खातामा धितोपत्र रहे/नरहेको यकिन गर्ने व्यवस्था बोर्डले गराएको छ ।आफूले बिक्री गरेको धितोपत्र हस्तान्तरण गर्ने र धितोपत्रको भारित औषत लागत प्रविष्ट स्वचालितरुपमा गर्न सकिने व्यवस्था भएको छ । धितोपत्र दलालबाट युजर नेम तथा पासवर्ड लिई घरमै बसी कारोबार गर्न सक्ने र नलिने लगानीकर्ताले समेत घरमै बसी दलाललाई विद्युतीय माध्यमबाट धितोपत्र कारोबारका लागि फोन र एसएमएस, इमेल जस्ता विद्युतीय माध्यमबाट आदेश दिन सक्ने व्यवस्था भएको छ । क्ल्यिरिंग बैंकबाट अनलाईन भुक्तानी गर्ने सुविधा र नेपाल क्लियरिङ्ग हाउसको कनेक्ट आईपीएस वा आईपीएसको प्रयोग गर्न सक्ने व्यवस्था भएको छ । खरिद गरेको धितोपत्र लगानीकर्ताको डिम्याट खातामा विद्युतीय माध्यमबाट प्राप्त हुने र बिक्री गरेको धितोपत्रको रकम ब्रोकरले विद्युतीय माध्यमबाट लगानीकर्ताको बैंक खातामा जम्मा गरिदिने व्यवस्था भएको बोर्डले जनाएको छ । साथै, लगानीकर्ताले घरमै बसेर मेरो सेयर एप्लीकेशनको प्रयोग गरी विद्युतीय माध्यमबाट धितोपत्र हस्तान्तरण गर्न सक्ने व्यवस्था(ई-डीआईएस) गरिएको छ ।