नेप्से सातामै ३७ अंकले बढ्यो, ४६ करोडको कारोबार हुँदा ५ कम्पनीका शेयरधनी मालामाल

काठमाडौं । नेप्से परिसूचक एक सातामै ३७ अंकले बढेकाे छ । गत मंसिर २३ गते ११११.९९ अंकमा रहेकाे परिसूचक आज(सोमबार)सम्म निरन्तर बढेर ११४८.८९ अंकमा पुगेकाे छ । पछिल्लाे समय निरन्तर ओरालो लागेको बजारले करिब एक साता अघिदेखि भने केही गति लिएको देखिन्छ । सोमबारको नेप्से परिसूचक १३.५२ अंकले बढेर ११४०.८९ विन्दुमा पुगेको छ । जुन गत एक महिनायताकै उच्च बिन्दु हो । मंसिर १६ गतेदेखि निरन्तर सामान्य अंकले उकालो लाग्दै आएको बजार सोमबार दोहोरो अंकले बढेर एकमहिना यताकै उच्च विन्दुमा पुगेको छ । आइतबारको तुलनामा सोमबारको नेप्से परिसूचकमा १.१९ प्रतिशतको वृद्धि भएको छ । परिसूचक सँगै कारोबारमा रकममा पनि उच्च सुधार भएको छ । पछिल्लो समय शेयर कारोबार १५ देखि ३५ करोडमा सीमित भइरहेको थियो । सोमबारको बजारमा ४६ करोड ४२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । बजारमा १७३ कम्पनीको १४ करोड ५९ लाख कित्ता शेयर किनबेच भएको छ । सोमबार कारोबारमा आएका दुई समूह बाहेक बाँकी समूह हरिया देखिएका छन् । सबैभन्दा बढी निर्जीवन बीमा समूह १५६ अंकले उकालो लागेको छ । त्यस्तै, जीवन बीमा समूह ६०, माइक्रोफाइनान्स समूह ५०, विकास बैंक समूह २८, उत्पादनमूलक समूह २९, होटल १३, हाइड्रोपावर १६, ट्रेडिङ १६ र बैंकिङ समूह ७ अंकले बढेका छन् । अन्य र म्युचअल फण्ड समूह सामान्य अंकले ओरालो लागेका छन् । सो दिन ५ वटा कम्पनीका शेयरधनीले ९ प्रतिशत बढी कमाएका छन् । समीट लघुवित्त वित्तीय संस्था र नाडेप लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य १० प्रतिशतले बढेको छ । नेपाल सेवा लघुवित्त वित्तीय संस्थाको ९.९५, समता माइक्रोफाइनान्स वित्तीय संस्थाको ९.८० र मिथिला लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ९.५२ प्रतिशतले बढेको छ । बजारमा ८ कम्पनीको करोडौंको शेयर कारोबार भएको छ । नेपाल बैंकको सबैभन्दा बढी शेयर कारोबार भएको छ । बैंकको दुई करोड ३० लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । एनएमबि बैंकको एक करोड ९२ लाख, डिप्रोक्स लघुवित्तको एक करोड ७२ लाख, स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको एक करोड ६७ लाख, हिमालयन डिष्टीलरीको एक करोड २३ लाख, प्रभु बैंकको एक करोड १८ लाख, नेपाल लाइफ इन्स्योरेन्सको एक करोड १७ लाख र बुटवल पावर कम्पनीको एक करोड १५ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

सबैको लघुवित्तको बाेनस र हकप्रद शेयर पारित

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको तेश्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा शनिवार डुम्रे, तनहुँमा सम्पन्न भएको हो । सभाले आ.ब. २०७५।७६ को मुनाफाबाट हाल कायम चुक्ता पुँजी रु. १६ करोड ५० लाखको १३ प्रतिशत अर्थात् २ करोड १४ लाख ५० हजार बराबरको बोनश सेयर पारित गरेको छ । बोनसपश्चात संस्थाको चुक्ता पुँजी १८ करोड ६४ लाख ५० हजार पुगेको छ । सभाले बोनश सेयर जारी पश्चात्को पुँजीको १०० प्रतिशत अर्थात् १ः१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने समेत निर्णय गरेको छ । साथै, उक्त सभामा सर्वसाधारण समुहको तर्फबाट २ जना सञ्चालकहरुः श्याम प्रसाद श्रेष्ठ र गोपाल जोशी निर्विरोध निर्वाचित भएका छन् । सभाले नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त अन्य “घ” वर्गका कुनै एक वा एक भन्दा बढी वित्तीय संस्थाहरु एक आपसमा गाभ्न गाभिन वा प्राप्ती गर्ने सम्बन्धी विशेष प्रस्ताव समेत पारित गरेको छ ।

साताको शेयर बजार: एक अर्ब २७ करोडको कारोवार

काठमाडौं। धितोपत्र बजारमा यस साता शेयर कारोवार मापक नेप्से परिसूचक उकालोको यात्रामा देखिएको छ । शेयर कारोवार हुने पाँच दिनमध्ये दुई दिन नेप्सेले नयाँ यात्रा तय नगरे पनि पछिल्ला तीन दिन भने बजार सुधारात्मक दिशामा अगाडि बढ्दा नेप्सेले समेत गति लियो । साताभर कूल १७२ कम्पनीको शेयर कारोवार भयो । नेपाल स्टक एक्सचेन्जका अनुसार साताभर कूल ४५ लाख ६७ हजार ८५९ कित्ता शेयर रु एक अर्ब २७ करोड २४ लाख २९ हजार ५३७ मूल्य बराबरको कारोवार भयो । साताको पहिलो दिन धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक स्थिर देखियो । नेप्से स्थिर रहँदा कारोवार रकम पनि सस्तैमा समेटियो । कूल १६१ कम्पनीको छ लाख ७५ हजार ३८ कित्ता शेयर रु २० करोड ६३ लाख १४ हजार ३२३ मा कारोवार भए । सोमबार नेप्से परिसूचक सामान्य अङ्कले घट्यो । कूल १६४ कम्पनीका आठ लाख २६ हजार ३६८ कित्ता शेयर रु २३ करोड २२ लाख ५९ हजार ३३१ मा खरिद बिक्री भए । मङ्गलबार नेप्से परिसूचक ३.७५ अङ्कले वृद्धि भई एक हजार ११५.७४ पुग्यो । कूल १७२ कम्पनीका १० लाख १० हजार ९९१ कित्ता शेयर रु २६ करोड ६८ लाख एक हजार ५५८ मा खरिदबिक्री भए । बुधबार नेप्से परिसूचक ८.७३ अङ्कले बढेर एक हजार १२४.४७ मा पुग्यो । कूल १६९ कम्पनीका नौ लाख ९० हजार २७४ कित्ता शेयर रु ३० करोड ८२ लाख १४ हजार ४६५ मा खरिदबिक्री भए । साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक झण्डै साढे सात अङ्कले वृद्धि भयो । त्यसदिन नेप्से ७.४५ अङ्कले बढेर एक हजार १३१.९२ मा पुग्यो । परिसूचक बढेसँगै कारोवार रकममा पनि वृद्धि भए । कूल १६८ कम्पनीका १० लाख ९५ हजार १८८ कित्ता शेयर रु ३५ करोड ८८ लाख ३९ हजार ८६० मा खरिदबिक्री भए । साताभर नेप्सेमा विभिन्न छ कम्पनीका शेयर सूचीकृत भए । त्यसमा मुक्तिनाथ विकास बैंक, माछापुच्छ्रे बैंक, नागरिक लगानी कोष, एनएमबी ५०, माछापुच्छ्रे बैंकको ऋणपत्र र एनआइसी एशिया बैंकको ऋणपत्र सूचीकृत भए ।