साताको शेयर बजार: झण्डै तीन अर्बको कारोवार

काठमाडौं । धितोपत्र बजारमा यस साता शेयर कारोवार मापक नेप्से परिसूचक घट्दो क्रममा रह्यो । साताभर कूल १ सय ७५ कम्पनीको शेयर कारोवार भयो । नेपाल स्टक एक्सचेन्जका अनुसार ८५ लाख ९५ हजार ५३१ कित्ता शेयर  दुई अर्ब ८१ करोड ८८ लाख ९२ हजार ६ सय ९० रूपैयाँ मूल्यमा खरिदबिक्री भए । नेप्सेका अनुसार साताको पहिलो दिन  धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक झिनो अङ्कले सुधार भयो । कूल १ सय ६७ कम्पनीका १४ लाख ८८ हजार ३०४ कित्ता शेयर रु ३७ करोड ४४ लाख ६६ हजार ४ सय ६५ मूल्यमा खरिद–बिक्री भए । सोमबार नेप्से १७.७७ विन्दुले बढेर एक हजार १ सय ६८.५८ मा पुग्यो । कूल १ सय ७७ कम्पनीको १७ लाख ५४ हजार ३६३ कित्ता शेयर  ५९ करोड ५७ लाख ६४ हजार ५ सय ४४ रूपैयाँ बराबरको कारोवार भयाे । मङ्गलबार भने नेप्से पुनः ओरालो लाग्यो । सो दिन नेप्से परिसूचक २.३७ बिन्दुले घटेर एक हजार १ सय ६६.२१ मा पुग्यो । कूल १ सय ७१ कम्पनीको २० लाख २९ हजार ८ सय १५ कित्ता शेयर ७२ करोड १६ लाख ४२ हजार ९ सय ६५ रूपैयाँमा खरिदबिक्री भए । बुधबार नेप्से १.८२ अङ्कले बढेर १ हजार १ सय ६८.०३ मा पुग्यो । कूल १७५ कम्पनीको १६ लाख ८१ हजार ८ सय ३८ कित्ता शेयर ५३ करोड ८३ लाख ४० हजार ८ सय २९ रुपैयाँमा कारोवार भए । बिहीबार नेप्से परिसूचक ओरालो लाग्यो । नेप्से आरोलो लागे पनि कारोवार रकम भने औसतमा रह्यो । कूल १७२ कम्पनीको कूल १६ लाख ४१ हजार २११ कित्ता शेयर ५८ करोड ८६ लाख ७७ हजार ८ सय ८७ रूपैयाँ मूल्यमा कारोवार भयाे । साताभर विभिन्न चार कम्पनीनको शेयर नेप्सेमा सूचीकृत भए । त्यसमा कामना सेवा विकास बैंकको तीन लाख ७५ हजार ३ सय ९८ कित्ता शेयर लाभांश, कुमारी बैंकको ८६ लाख ८५ हजार ५ सय ७३ कित्ता शेयर लाभांश, सिटिजन बैंकको २५ लाख ११ हजार ३ सय १९ कित्ता शेयर लाभांश र एभरेष्ट बैंकको परिवर्तित शेयर कूल चार लाख कित्ता सूचीकृत भएको नेप्सेले जनाएको छ । रासस

०.६२ अंकले घट्यो नेप्से परिसूचक, ५८ करोडको कारोबार

काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बिहीबार ०.६२ अंकले घटेको छ । ०.०५ प्रतिशतले घट्दा नेप्से परिसूचक ११६७.४१ बिन्दुमा पुगेको हो । बिहीबार सेयर बजारमा १७२ कम्पनीले कारोबार गरेका छन् । १६ लाख ४१ हजार २ सय ११ कित्ता सेयर किनबेच हुँदा ५८ करोड ८६ लाख ७७ हजार ८ सय ८७ रुपैयाँको कारोबार भएको छ । नेप्सेका ८ सूचक राता छन् भने ४ सूचक हरियो रहेका छन् । बैंक समूह ०.६९, ट्रेडिङ्ग समूह ३५.७२, विकास बंैक समूह २.२९ र जीवन बीमा समूह १६.५५ अंकले बढ्न पुगेका छन् । यस्तै होटल समूह ९.८८, जलविद्युत समूह ६.४७, वित्तीय समूह १.२५, निर्जीवन बीमा समूह २४.६७, उत्पादन मूलक समूह २४.२६, अन्य समूह ०.२५, माइक्रो फाइनान्स समूह ०.७३ र म्युचुअल फण्ड समूह ०.०३ अंकले घटेका छन् । नेपाल सेभा लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ८ प्रतिशतले सबैभन्दा धेरै नाफा आर्जन गरेका छन् । यस्तै, पाँचथर पावर कम्पनी लिमिटेडका लगानीकर्ताले ७ प्रतिशतले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् ।

सेयर बजारको सबैभन्दा ठूलो कम्पनी नेपाल टेलिकमको सेयर किन्ने बेला आएको हो ?

काठमाडौं । दूरसञ्चार संस्थानबाट २२ माघ २०६० मा रुपान्तरण भएर नेपाल टेलिकम कम्पनी (एनटीसी) को स्थापना भएको हो । हाल कम्पनीले जीएसएम, सीडीएमए, पीएसटिएन र डाटा सेवा अन्तरगत थ्रीजी, फोरजी, इभिडिओ, वाइम्याक्स, एडीएसएललगायतको सेवा दिदै आएको छ । बजार प्रतिस्पर्धाको आधारमा हेर्दा मोबाइल सेवा (जीएसएम) मा टेलिकम अग्रस्थानमा छ । दूरसञ्चार प्राधिकरणको असोजसम्मको तथ्यांक अनुसार एनसेलको जीएसएम प्रयोगकर्ता १ करोड ६८ लाख छ भने एनटीसीको २ करोड ९ लाख छ । तर, अहिलेको पछिल्लो प्रविधि फोरजीमा भने नेपाल टेलिकमको तुलनामा एनसेल अगाडी छ । एनसेलबाट ३४ लाख ९० हजारले यो सेवा लिदा टेलिकमबाट ८ लाख ३८ हजारले लिएका छन् । फोरजी सेवा विस्तारको लागि महंगो प्रस्ताव (१९ अर्ब रुपैयाँ) स्वीकर गरेकोले कम्पनीको दायित्व बढ्ने चर्चा पनि हुँदै आएको छ । इन्टरनेट सेवामा समेत टेलिकम दोस्रो स्थानमा छ । वल्र्डलिंकबाट ३ लाख ३४ हजारले सेवा लिदा टेलिकमबाट २ लाख ३५ हजारले सेवा लिइरहेका छन् । टेलिकमले बजार प्रतिस्पर्धाबाट सिर्जित चुनौंति कम गर्न पछिल्लो प्रविधिलाई सर्वसुलभ बनाउने लगायतका काम गर्ने वित्तीय विवरणमा उल्लेख गर्दै आएको छ । कम्पनी बजार पुँजीकरणको आधारमा सेयर बजारमा रहेको सबैभन्दा ठूलो कम्पनी हो । १५ करोड सेयर सूचीकृत भएको कम्पनीको हाल मूल्य ६ सय ५७ छ । यसको आधारमा बजार पूँजीकरण ९८ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ । सेयर बजारमा कम्पनीको हिस्सा आधारमा ६.५ प्रतिशतभन्दा धेरै छ । कम्पनीमा नेपाल सरकारको ९१.४९ प्रतिशत, नागरिक लगानी कोषको ०.०३ प्रतिशत र सर्वसाधारणको ८.४८ प्रतिशत सेयर लगानी छ । बन्द बोलपत्र आवहानबाट ९ माघ २०६४ मा कम्पनीको सेयर विक्री गरिएको थियो । प्रिमियम मूल्य सहित ६ सय रुपैयाँमा कम्पनीको सेयर बिक्री भएको थियो । हाल कम्पनीमा दिपक सुवेदी अध्यक्ष छन् भने प्रबन्ध निर्देशकमा डिल्लीराम अधिकारी छन् । कम्पनीले ५ वर्षयता बार्षिक औसत ५१.२ प्रतिशत लाभांश दिएको छ । नगद लाभांश वितरणमा जोड दिदै आएको कम्पनीको चुक्ता पुँजी स्थिर छ । गत आवको नाफापछि पनि बैंकले ४५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । १४ पुससम्म लगानी गर्नेले यस्तो लाभांश पाउने छन् । पहिलो त्रैमाशमा नाफा सुस्तियो कम्पनीले पहिलो त्रैमाशमा ३ अर्ब २४ करोड रुपैयाँ नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा नाफामा ६.१ प्रतिशतले कमी आएको हो । सञ्चितीमा भने ८९ अर्ब ४६ करोड रुपैयाँ छ । कम्पनीले २३ पुसमा हुने साधारणसभामा सञ्चितीमा रहेको रकम बैंक तथा वित्तीय संस्था तथा अन्य कम्पनीको सेयरमा लगानी गर्ने प्रस्तावसमेत लैजादैछ । रणनीतिक तरिकाले लगानी गर्न सकेमा यसले कम्पनीको नाफामा वृद्धि समेत गराउन सक्नेछ । कम्पनीको सञ्चालन आम्दानी ९ अर्ब ४ करोड र अन्य आम्दानी १ अर्ब ५६ करोड छ । प्रशासनिक खर्च १० प्रतिशतले बढेको कम्पनीको कुल खर्च ४ प्रतिशतले बढेर ४ अर्ब ८६ करोड छ । कम्पनीमा उत्पादनको लागि र तयारी अवस्थामा रहेको सामग्री (इन्भेन्ट्रिज) २८ करोड बराबर छ । इन्भेन्ट्रिजमा ५० प्रतिशतको वृद्धि छ । उत्पादन बढाउने उदेश्यले समेत यो बढेको हुनसक्छ । यसको बिक्री पछि कम्पनीको नाफा थप बढ्न सक्छ । कम्पनीले व्यापार लगायतबाट २ अर्ब ६४ करोड उठाउन बाँकी छ । ग्राहकबाट उठाएको अग्रिम निक्षेप २ अर्ब दायित्वको रुपमा छ । कम्पनीको कुल सम्पत्ती र कुल दायित्व सन्तुलित छ । कम्पनीको १२ अर्ब बराबरको काम सञ्चालन (वर्क इन प्रोग्रस) को अवस्थामा रहेको उल्लेख गरेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ८६ रुपैयाँ ५८ पैसा र मूल्य आम्दानी अनुपात ७.१६ गुणा रहेको छ । प्रतिसेयर नेटवर्थ ६ सय ९६ रुपैयाँ छ । सेयर विश्लेषण कम्पनीको मूल्य वर्षकै न्यून बिन्दु (६ सय ६ रुपैयाँ) बाट केही माथि लागेको छ । यद्यपि ६ सय ७० को आसपासमा मूल्यले प्रतिरोध पाइरहेको रेखा चित्रले देखाउँछ । लाभांश प्रस्ताव र नजिकिदो बुक क्लोजले मूल्यमा सानो तिनो सुधारसहित सामान्य उतारचढाव देखिएको छ । कम्पनीको आरएसआई सूचक ५५.९ छ । यसले कारोबार सन्तुलित क्षेत्रमा रहेको संकेत गर्छ । आरएसआई स्केल ३० भन्दा मुनि भए सेयर अधिक बिक्री क्षेत्रमा, ३० देखि ७० बीचमा भए सन्तुलित क्षेत्रमा र ७० भन्दा माथि भए अधिक खरिद क्षेत्रमा रहेको विश्लेषण गरिन्छ । ७ दिने सिम्पल मुभिङ एभरेज रेखा २१ दिनेभन्दा माथि रहेकोले मूल्य बुलिश प्रवृत्तिमा नै रहेको संकेत गरिरहेको छ । तर यी दुई रेखा नजिकिएका छन् । यो समय थप ध्यान दिनुपर्ने देखिन्छ । २१ दिने रेखा माथि लागेमा मूल्य वियरिश प्रवृत्तिमा आउने सम्भावना छ । पीभट विश्लेषणले आगामी महिना काराबोरमा ६ सय ७७ मा पहिलो प्रतिरोध र ६ सय २९ मा पहिलो टेवा पाउने संकेत गर्छ । कम्पनीको सेयर मूल्यले पछिल्लो तीन दिनमा पहिलो दुई दिन डार्क क्लाउड कभर आकृति बनाएको छ । जसमा सेतो लामो मैनवत्तिपछि बनेको कालो मैनवत्तिको आकार माथिसम्म गएको छ । यसले मूल्य घट्ने संकेत गर्छ । तर अन्तिम दिन डोजी स्टार बनेको छ । यसले भने लगानी गर्नुअघि विचार पु¥याउनु पर्ने देखाइरहेको छ । लगानीकर्ताहरु निर्णय गर्न नसकिरहेको यसले संकेत गर्छ । नजिकिदो मुभिङ एभरेज रेखालेपनि तत्काल लगानी गर्नुभन्दा आगामी दिनको गतिलाई याद गर्न सुझाव दिइरहेकोछ ।