कारोबार झिनो भए पनि सुधारियो नेप्से, गुराँस र मल्टिप्रोपाेजको सर्किट ब्रेक

काठमाडौं । कारोबार रकम खासै उत्साहप्रद नभए पनि बिहीबारको नेपाल स्टक एक्सचेञ्ज परिसूचकले सुधारको दिशा देखाएको छ । साताको अन्तिम कारोबार दिनको कारोबारमा परिसूचक ५.९० ले बढ्दा सेन्सेटिभ इन्डेक्स र फ्लोट इन्डेक्स दुवैमा सुधार देखिएको हो । उपसमूहतर्फ पनि फाइनान्स, निर्जीवन बीमा र उत्पादनमूलक क्षेत्रबाहेक अन्य सूचकहरुमा वृद्धि देखिएको छ यद्यपि सबै उपसमूहहरु १ प्रतिशत भन्दा कम विन्दुले नै घटबढ भएका छन् । बिहीबारको बजारमा कुल ३७ करोड ५३ लाख रुपैंया बराबरको कारोबार भएको थियो । शिवम् सिमेन्ट कारोबारका आधारमा उत्कृष्ठ कम्पनी बन्दै गर्दा मल्टिप्रोपोज फाइनान्स र गुराँस लाईफ इन्स्योरेन्सको शेयर मूल्य करिब १० प्रतिशतले बढेर सर्किट लागेको छ ।

१० बैंकलाई ब्रोकरको काम गर्न राष्ट्र बैंकको अनुमति

काठमाडाैं । नेपाल राष्ट्र बैंकले १० ओटा वाणिज्य बैंकलाई ब्रोकर लाइसेन्स लिएर शेयर ब्रोकरका लागि आवश्यक प्रक्रिया बढाउने अनुमति दिएको छ । नेपाल राष्ट्र बैंकमा निवेदन दिएका १९ ओटा वाणिज्य बैंकमध्ये नेपाल इन्भेष्टमेन्ट बैंक, बैंक अफ काठमाण्डू, एनआईशी एशिया बैंक, कुमारी बैंक, सिद्धार्थ बैंक, ग्लोबल आईएमई बैंक, जनता बैंक, मेगा बैंक, सेञ्चुरी कमर्शियल बैंक र सानिमा बैंकलाई ब्रोकर सेवाका लागि सहायक कम्पनी खोल्ने सम्बन्धमा राष्ट्र बैंकले स्वीकृति दिएको हो । सिभिल बैंकको स्वीकृति प्रक्रियामा रहेको र नबिल बैंक, कृषि विकास बैंक, हिमालयन बै‌ंक, नेपाल बंगलादेश बैंक, माछापुच्छ्रे बैंक, लक्ष्मी बैंक, सिटिजन्स बैंक र सनराइज बैंकले पनि सहायक कम्पनी स्थापनाका लागि राष्ट्र बैंकमा निवेदन दिएका छन् । चालु आर्थिक वर्षको मौद्रिक नीतिमा बैंकलाई सहायक कम्पनीमार्फत् ब्रोकर कारोबार सञ्चालन गर्न पाउने व्यवस्थाअनुरुप सहायक कम्पनी खोल्न स्वीकृति दिइएको राष्ट्र बैंकले जनाएकाे छ ।

२.६३ अंकले बढ्यो नेप्से, बढी कारोबार हुनेमा नेपाल बैंक पहिलो, शिवम् दोश्रो र प्रभु बैंक तेश्रो

काठमाडौँ । साताको पहिलो दिन दोहोरो अंकले घटेको नेप्से परिसूचकमा दोश्रो दिन सोमबार भने सुधार भएको छ । नेप्से परिसूचक आज २.६३ अंकले बढेको हो । ०.२१ प्रतिशतले बढ्दा परिसूचक १२६०.९० बिन्दुमा पुगेको छ । झिनो अंकले परिसूचक बढेको दिन १७३ कम्पनीका १३ लाख ७३ हजार १ सय २० कित्ता शेयर किनबेच हुँदा ४० करोड ३५ लाख ३८ हजार १ सय ४७ रुपैयाँ बराबरको कारोबार भएको छ । आज विकास बैंक, लघुवित्त र जीवन बीमा बाहेका सूचक बढेका छन् । बैंकिङ समूह १.७, होटल समूह १२.८८, जलविद्युत समूह ८.८९, वित्त समूह २.०६, निर्जीवन बीमा समूह ३७.२७, उत्पादनमूलक समूह २८.३२ र अन्य २.२७ अंकले बढेका छन् । यता विकास बैंक समूह २.७६, लघुवित्त समूह ३.१९ र जीवन बीमा समूह १८.८४ अंकले घटेका छन् । हिजो जस्तै आजपनि सबैभन्दा बढी कारोबार नेपाल बैंक लिमिटेड कै भएको छ । सो बैंकको ३ करोड २९ लाख ३ हजार ३ सय २० रुपैयाँ बराबरको शेयर कारोबार हुँदा दोश्रोमा शिवम् सिमेन्टको ३ करोड २२ लाख ७८ हजार ४ सय ८१ रुपैयाँ बराबरको कारोबार भएको छ । प्रभु बैंकको कारोबार २ करोड ३१ लाख २९ हजार २ सय ८१ रुपैयाँको शेयर कारोबार हुँदै तेश्रो स्थानमा देखिएको छ । बजार बढेको दिन आज अरुण भ्याली हाइड्रो पावरका लगानीकर्ताले सबैभन्दा बढी ६.७३ प्रतिशतले कमाई गरेका छन् भने ग्योबल आइएमई लघुबित्तका लगानीकर्ताले सबैभन्दा बढी ४.८ प्रतिशतले गुमाएका छन् ।