माथिल्लो तामाकोशीले डाक्यो ११औँ वार्षिक साधारणसभा, जेठ २१ गतेदेखि बुक क्लोज

काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले आगामी असार ११ गते आफ्नो ११औँ वार्षिक साधारणसभा डाकेको छ । उक्त सभा सो दिन बिहान ११ बजे कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बस्ने कम्पनीले जनाएको छ । सो प्रयोजनको लागि कम्पनीले आगामी जेठ २१ गतेदेखि असार ११ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । उक्त निर्णय जेठ ७ गते बसेको कम्पनीको संचालक समितिको बैठकले गरेको हो । साथै, आगामी जेठ २० गतेसम्म नेप्सेमा कारोबार गरी सेयर होल्डिङ गर्नेहरु साधारणसभामा सहभागि हुन पाउने छन् । यो वर्ष कम्पनीले आफ्ना सेयरधनीलाई बोनस वा नगद लाभांश केही पनि वितरण नगर्ने भएको छ । साथै, कम्पनीले आयोजना प्रभावित दोलखा जिल्ला स्थित विभिन्न सामाजिक संस्थाहरु लगायत अन्य संस्थाहरुलाई गत आवमा उपलब्ध गराइएको आर्थिक सहयोगको रकम अनुमोदन गर्ने विशेष प्रस्ताव गरेको छ ।

नेप्से दोहोरो अंकले घट्दा ६२ करोडको कारोबार, सबै समूह राताम्मे

काठमाडौं । साताको पहिलो दिनको नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । कारोबार खुलेदेखि निरन्तर ओरालो लागेको आइतबारकाे नेप्से बजार बन्द हुँदा ११.९३ अंकले घटेर १३०२.६१ अंकमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.९१ प्रतिशत घटी हो । त्यस्तै, परिसूचक सहित कारोबार रकममा पनि गिरावट देखिएको छ । आइतबार कुल १६५ कम्पनीको ६२ करोड ६२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन गत बिहीबारको तुलनामा झण्डै ३१ करोड रुपैयाँ घटी हो । गत बिहीबार ९३ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । कूल कारोबारमा आएका कम्पनीमध्ये नेपाल बैंकको सबैभन्दा बढी सेयर किनबेच भएको छ । बैंकको एकैदिन ४ करोड ८५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । त्यस्तै, शिवम् सिमेन्टको ४ करोड ७५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता ५६० रुपैयाँ रहेको छ । बजारमा कारोबारमा आएका सबैसमूह राताम्मे देखिएका छन् । कारोबारमा आएका कूल ११ समूह मध्ये सबैभन्दा बढी जीवन बीमा समूह ओरालो लागेको छ । बैंकिङ्, फाइनान्स, उत्पादनमूलक, माइक्रोफाइनान्स र म्युचअल फण्ड समूह सामान्य अंकले ओरालो लागेका छन् भने बाँकी समूह दोहोरो अंकले ओरालो लागेका छन् । सो दिन सबैभन्दा बढी ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । उता जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य ९.७६ प्रतिशतले घटेको छ ।

ओम डेभलपमेन्ट बैंकका सेयरधनीले १२ प्रतिशत बोनस नपाउने, यस्ताे छ कारण

काठमाडौं । ओम डेभलपमेन्ट बैंकका सेयरधनीले प्रस्तावित १२.७० प्रतिशत बोनस सेयर नपाउने भएका छन् । ओमले एनएमबि बैंकसँग मर्जरमा जान भएको सैद्धान्तिक सहमति(एमओयू) अनुसार बोनस सेयर वितरण नगर्ने गरी साधारण सभा बोलाउन नेपाल राष्ट्र बैंकसँग स्वीकृति मागेको हो । ओमले प्रस्तावित सो मात्राको बोनस सेयर वितरण गर्दा एमओयूको बुदा नम्बर २५ अनुसार सेयर स्वाप रेसियोमा असर पर्ने भएकाले उक्त बोनस वितरण नगर्ने निर्णय गरेको हो । ओमले गत आर्थिक वर्ष(२०७४/७५)को मुनाफाबाट सेयरधनीहरुलाई सो मात्राको बोनस सेयर दिने प्रस्ताव गरेको थियो । संस्थाको गत पुस २७ गते बसेको सञ्चालक समितिको १५९औँ बैठकले उक्त प्रस्ताव गरेको थियो । जुन हालसम्म स्वीकृति भईसकेको छैन । यस अघि प्राइम कमर्शियल बैंकसँग मर्जमा जानको लागि सैद्धान्तिक सहमति भएकाले उक्त बोनस हालसम्म स्वीकृत नभएको ओमले जनाएको छ । त्यस्तै, प्राइमसँग मर्जर सम्झौता तोडेको ओम गत जेठ २ गते एनएमबि बैंकसँग मर्जरमा जान एमओयू भैसकेको छ । दुई संस्था एक आपसमा मर्ज पश्चात एकिकृत साधारणसभा पछि दुबै संस्थाका सेयरधनीहरुलाई आर्थिक वर्ष २०७५/७६ को नाफाबाट बोनस सेयर वितरण गर्ने सहमति भएको ओमले जनाएको छ ।