बीपीसीको २० प्रतिशत नगद लाभांश पारित
काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेड(बीपीसी)को २० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित भएको छ । मंगलबार(आज) सम्पन्न कम्पनीको २५औं वार्षिक साधारण सभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले पारित गरे बमोजिम कम्पनीले आ.ब. २०७३/७४ को खुद मुनाफाबाट सेयरधनीहरुलाई चुक्ता पूँजीको सो मात्राको नगद लाभांश दिने भएको छ । सो सभाले आ.ब. २०७४/७५ को लागि लेखापरीक्षण गर्नका लागि बीआरएस नेउपाने एण्ड कम्पनीलाई लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक समेत निर्धारण गरेको छ । साथै, नयाँ सेयर निष्काशन पश्चात् सर्वसाधारण सेयरधनीहरुको सेयरको अनुपात अनुसार सर्वसाधारण सेयरधनीको तर्फवाट दुई जना संचालकहरुको प्रतिनिधित्व हुने गरी कम्पनीको नियमावलीको नियम संशोधन गर्ने विशेष प्रस्ताव समेत पारित गरेको कम्पनीले जनाएको छ । यस कम्पनीले हालै चिनिया साझेदारहरु एससीआईजी इन्टरनेशनल लिमिटेड, जिङ्चेण्ड इन्टरनेशनल इन्भेष्टमेन्ट कम्पनी लिमिटेड एण्ड ओवाईईसी इन्टरनेशनल कम्पनी लिमिटेडसंगको संयुक्त लगानीमा मनाङ जिल्ला स्थित मस्र्याङदी नदीमा ६०० मेगावाटको माथिल्लो मस्र्याङदी-२ जलविद्युत आयोजना तथा २८२ मेगावाटको मनाङ मस्र्याङदी जलविद्युत आयोजना विकासको लागि दुबै आयोजनाहरुका आयोजना कम्पनीका सेयरहरु खरिदको सम्झौताहरु सम्पन्न गरी स्वीकृतिको प्रक्रियामा रहेको छ । सो आयोजनाहरुको बीचमा कम्पनीले नै अध्ययन गरेको १४० मेगावाटको लोअर मनाङ मस्र्याङदी आयोजना रहेको छ । उल्लेखित तीनै आयोजनाहरु नदी वेसिन आयोजनाको रुपमा नेपाली बजारलाई लक्षित गरी प्रचलित निर्देशिका बमोजिम क्षमता पुनरावलोकन गरी विकास गर्ने कम्पनीको लक्ष्य रहेकाे छ । त्यसैगरी, इन्फ्राको एसियासंगको संयुक्त लगानीमाहाल ३७.६ मेगावाटको कावेली ए जलविद्युत आयोजनातथा स्थानीय साझेदारसंगको संयुक्त लगानीमा ३० मेगावाटको न्यादी जलविद्युत आयोजनाको निर्माण कार्य भईरहेको छ । सो दुबै आयोजनाहरुमा कम्पनीको मुख्य लगानी रहेको छ । मनाङ जिल्ला स्थित ८.५ मेगावाटको चिनोखोला साना जलविद्युत आयोजनाको वातावरणीय प्रभाव मुल्यांकनको कार्य भईरहेको छ । हालै कम्पनीले १६० मेगावाटको मुगु कर्णाली आयोजनाको सर्वेक्षण अनुमतिपत्र प्राप्त गरी अध्ययनको कार्य अगाडि बढाइएको कम्पनीले जनाएको छ ।
कारोबार रकम बढ्ने क्रम जारी, मंगलबार ५३ करोडको सेयर किनबेच
काठमाडौं । केही दिनयता सेयर बजारमा कारोबार रकम बढ्ने क्रम जारी रहेकाे छ । नेपाल धितोपत्र बोर्डले केवाईसीमा कडाई गरेपछि एक्कासी घटेको कारोबार रकम पुनः सुधारतर्फ लागेको छ । मंगलबारको सेयर बजारमा ५३ करोड ८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा १८ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । अघिल्लो दिनको बजारमा कुल ३५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । कुल १६० कम्पनीको कारोबार भएको बजारमा १० लाख ४७ हजार कित्ता सेयर बिक्री भएका छन् । कारोबार संख्या र रकम दुबैको आधारमा सबैभन्दा बढी नेपाल इन्भेष्टमेन्ट बैंकको प्रमोटर सेयर किनबेच भएको छ । कम्पनीको ३ लाख ८५ हजार कित्ता प्रमोटर सेयर २२ करोड २४ लाख रुपैयाँमा कारोबार भएको छ । अन्ततः मंगलबारको बजार ४.३१ अंकले घटेर १३३२.८२ अंकमा झरेको छ । बजारमा सबैभन्दा बढी बीमा समूहको सूचक २४ अंकले घटेको छ । उत्पादनमूलक, माइक्रोफाइनान्स र होटल समूह उकालो लागेका छन् भने बाँकी समूह ओरालो लागेका छन् ।
गण्डकी विकास बैंकको बोनस पछिको सेयर मूल्य समायोजन
काठमाडौं । मंगलबार गण्डकी विकास बैंकको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले बैंकको १९.३१०६ प्रतिशत बोनस पश्चात कम्पनीको सेयर मूल्य समायोजन गरेको हो । समायोजन पश्चात बैंकको सेयर मूल्य प्रतिकित्ता २१४ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता २८० रुपैयाँ रहेको थियो ।