अन्ततः मंगलबारको सेयर कारोबार बन्द, सरकारले घुँडा टेक्ला त ?

काठमाडौं । मंगलबारको सेयर बजार खुलेपनि कारोबार भने बन्द भएको छ । सेयर लगानीकर्ता संघलगायत अन्य लगानीकर्ताका संस्थाले सेयर कारोबार नगर्न दवाव दिए पछि सो दिनको कारोबार बन्द भएको हो । सरकारले बोनस र हकप्रद सेयरमा लाभकर लगाउने भएपछि लगानीकर्ताहरुले लाभकर नहटाएसम्म कारोबार नगर्न ब्रोकरलाई दवाव दिएका हुन् । साथै, सरकारको उक्त निर्णय फिर्ता नभएसम्म सेयर कारोबार नगर्न आम लगानीकर्ता तथा ब्रोकरलाई अनुरोध गरेका छन् । कारोबार बन्द भएको बजारमा नेप्से परिसूचक पनि राताम्मे भएको छ । करिब एक बज्दा नेप्से ५.११ अंकले घटेर १२६८ अंकमा झरेको छ । आइतबारदेखि लाभकर लागु भएको विरुद्धमा लगानीकर्ताहरुले सोमबार पनि सेयर कारोबार बन्द गर्न अनुरोध गरेका थिए ।

लाभकर गणना गर्ने नयाँ व्यवस्थाले सेयर बजार घट्यो

काठमाडौं । आइतबारको बजार दोहोरो अंकले घटेर १३०० अंक तल झरेको छ । दिनभरको बजारमा नेप्से परिसूचक ३३.७१ अंकले घटेर १२७३ अंकमा पुगेको छ । आर्थिक वर्ष २०७५/७६ को बजेट सार्वजनिक भएपछि पनि सेयर बजारमा निरन्तर गिरावट आएको छ । बजेटमा अर्थमन्त्री युवराज खतिवडाले बजारप्रति सकारात्मक कुरा बताए पनि सेयर बजारले भने राम्रो गति लिन सकिरेहको छैन । लगातार ओरालो लागेको बजारप्रति दुःख व्यक्त गर्दै नेपाल स्टक ब्रोकर एसोसियसनका पूर्वअध्यक्ष नरेन्द्र सिजापतिले लाभकर गणना गर्ने नयाँ व्यवस्थाले सेयर बजार ओरालो लागेको बताएका छन् । उनले बोनस र हकप्रद सेयरको लागत मूल्य गणना गर्दा सेयरको अंकित चुक्ता मूल्यलाई लागत लिई लाभकर गणना गर्ने उक्त व्यवस्थाले दोश्रो बजारमा कारोबार गर्ने लगानीकर्तालाई हास्नु न रुनु बनाएको बताएका छन् । साथै, उनले यो नियम दोश्रो बजारमा गरिने कारोबारको सिद्धान्तको विपरीत भएको हुँदा सीघ्र सच्चाउन हुन अनुरोध गरेका छन् । भारी अंकको गिरावट आएको बजारमा उत्पादनमूलक बाहेक बाँकी समूहको परिसूचक राताम्मे भएका छन् । सबैभन्दा बढी बीमा समूह २९० अंकले घटेको छ । उत्पादनमूलक ३५ अंकले बढेको छ भने फाइनान्स समूह ८ अंकले घटेको छ भने बाँकी समूह दोहोरो अंकले झरेका छन् । आइतबार सबैभन्दा बढी मेघा बैंकका लगानीकर्ताले ९.७१ प्रतिशत गुमाएका छन् । त्यस्तै, राष्ट्रिय बीमा कम्पनीको साधारण र प्रमोटर दुबैको सेयर मूल्य क्रमशः ८.८७ र ८.४१ प्रतिशतले घटेको छ ।

मिर्मिरे माइक्रोफाइनान्सको सेयर मूल्य समायोजन, प्रतिकित्ता १७९५ रुपैयाँ

काठमाडौं । आइतबार मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले कम्पनीको हकप्रद पछिको सेयरको मूल्य समायोजन गरेको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता एक हजार ७९५ रुपैयाँ रहेको छ । हाल कम्पनीको सेयर प्रतिकित्ता १७६५ रुपैयाँमा कारोबार भइरहेको छ ।