२४ करोड ७२ लाखको हकप्रद सेयर आउँदै, एकैदिन दुई कम्पनीले पाए बोर्डको अनुमति

काठमाडौं । विभिन्न २ कम्पनीले २४ करोड ७२ लाख २५ हजार ३५० रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्ने भएका छन् । नेपाल धितोपत्र बोर्डले सिद्धार्थ इन्स्योरेन्स लिमिटेड र वोमी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडलाई २४ लाख ७८ हजार २५३ कित्ता सेयर निष्काशन गर्न अनुमति दिएको हो । यी दुबै कम्पनीले आ-आफ्नो संस्थाकाे चुक्तापुँजी बढाउन हकप्रद निष्कासन गर्न लागेका हुन् । सिद्धार्थ इन्स्योरेन्सले ३५ प्रतिशत(अर्थात १०ः३.५ को अनुपातमा) हकप्रद निष्कासन गर्ने भएको छ । कम्पनीले २२ करोड ४४ लाख रुपैयाँ बराबरको २२ लाख ४४ हजार ९७३ कित्ता सेयर निष्काशन गर्न बोर्डको अनुमति पाएको छ । सो मात्राको सेयर निष्काशन गर्न कम्पनीको बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ । त्यस्तै, वोमी माइक्रोफाइनान्सले पनि ३० प्रतिशत अर्थात २ करोड ३३ लाख रुपैयाँ बराबरको हकप्रद निष्कासन गर्न बोर्डको अनुमति पाएको छ । संस्थाले बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेड मार्फत २ लाख ३३ हजार २८० कित्ता निष्काशन गर्ने भएको छ । चालु आर्थिक वर्ष शुरु भएयता ४२ कम्पनीले २० अर्ब १२ करोड रुपैयाँ बराबरका हकप्रद सेयर निष्काशन गर्न अनुमति पाएका छन् । यी सबै कम्पनीले आफ्नो चुक्ता पुँजी वृद्धि गर्नको लागि हकप्रद सेयर जारी गर्ने प्रक्रिया अघि बढाएका हुन् ।

आइतबारको बजार निरन्तर ओरालो, फाइनान्स बाहेक सबै समूह राताम्मे

काठमाडौं । आइतबारको सेयर बजार खुलेदेखि बन्द हुँदासम्म निरन्तर रूपमा ओरालो लागेको छ । बजार खुल्दा १३६६ अंकमा रहेको बजार १३५३ अंकमा झरेर बन्द भएको छ । समग्रमा नेप्से परिसूचक १२.५१ अंकले घटेर १३३५३.६४ अंकमा झरेको छ । त्यस्तै, बजारमा परिसूचक सँगै सेयर कारोबारमा पनि गिरावट आएको छ । सो दिनको बजारमा कुल १६० कम्पनीको ३६ करोड १६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बजारमा दिनभर ६ हजार ६८२ कित्ता सेयर किनबेच भएका छन् । बजारमा फाइनान्स बाहेक सबै समूह राताम्मे भएका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ६८.३२ अंकले ओरालो लागेको छ । त्यस्तै, उत्पादनमूलक, माइक्रोफाइनान्स र अन्य समूह सामान्य अंकले घटेको छ भने बाँकी दोहोरो अंकले घटेका छन् । दोहोरो अंकले घटेको बजारमा सबैभन्दा बढी सांग्रिला डेभलपमेन्ट बैंकका लगानीकर्ताले एकैदिन ६.२५ प्रतिशत गुमाएका छन् । सबैभन्दा बढी एभरेष्ट बैंकको कन्भर्टिभल प्रिफेरेन्स सेयरका लगानीकर्ताले ७.७६ प्रतिशत कमाएका छन् । बजारमा नेपाल बैंकको २ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले २६ प्रतिशत बोनस सेयर दिने, पुँजी ८० करोड नाघ्ने

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले सेयरधनीलाई २६.५७ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीले चुक्ता पुँजी बढाउनको लागि सो मात्राको बोनस वितरण गर्ने निर्णय गरेको हो । फाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट हालको चुक्ता पुँजीको १६ करोड ७९ लाख ७८ हजार ५६८ रुपैयाँ बोनस दिन लागेको हो । कम्पनीको ८३ प्रतिशत हकप्रद सेयर जारी पश्चात ६३ करोड २१ लाख रुपैयाँ कायम हुने छ । यसको २६.५७ प्रतिशत बोनस पछि कम्पनीको पुँजी ८० करोड रुपैयाँ नाघ्ने छ । कम्पनी सञ्चालक समितिको यस प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा फाइनान्सको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ ।