लगानीकर्ता ‘पर्ख र हेर’ को अवस्थामा, बजार सामान्य अंकले बढेपनि कारोबारमा गिरावट
काठमाडौं । सेयर बजारका लगानीकर्ताहरु ‘पर्ख र हेर’ अवस्थामा रहेका छन् । केहीदिन अघिसम्म बजार निरन्तर घट्दै गएपछि लगानीकर्ताहरु सेयर किनबेच गर्न डराएका छन् । त्यसैले केहीदिन यता सेयर बजारमा कारोबार रकममा गिरावट आएको हो । पछिल्लो २ दिनयताको बजारमा नेप्से परिसूचकमा केही सुधार आएपनि कारोबार रकममा भने गिरावट आएको छ । बुधबारको बजारमा पनि जम्मा १८ करोड ४५ लाख ९९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा ५ करोड रुपैयाँ घटी हो । मंगलबारको बजारमा कुल २३ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । बुधबारको सेयर बजारमा दिनभर सामान्य उतारचढाव आएको छ । उतारचढाव आएको बजार अन्तमा ४ दशमलब ०६ अंकले बढेर १२८५.९६ अंकमा पुगेको छ । सो दिन ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इण्डेक्स ०.९६ अंक बढेर २७३ दशमलव ७३ अंकमा पुगेको छ । बजारमा बीमा समूहको परिसूचक २९ अंकले उकालो लागेको छ । होटल २६, फाइनान्स ६ र उत्पादनमूलक समूह ०.८८ अंकले ओरालो लागेका छन् भने बाँकी समूहको सूचक सामान्य अंकले बढेका छन् । सो दिन नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको सेयर कारोबार भएको छ । यस कम्पनीको एकैदिन एक करोड ५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
प्राइम लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन
काठमाडौं । बुधबार प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले कम्पनीको १२.५० प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन गरेको छ । समायोजन पश्चात यस इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता ७२६.७९ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ५५१.११ रुपैयाँ रहेको थियो ।
उन्नति माइक्रोफाइनान्सले २५ प्रतिशत हकप्रद जारी गर्ने, आगामी चैत ६ गते बुक क्लोज
काठमाडौं । उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाले २५ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । फागुन २९ गते सम्पन्न संस्थाको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । संस्थाले चुक्ता पुँजीको ४ बराबर १ को अनुपातमा सेयर जारी गर्न लागेको हो । संस्थाले प्रतिसेयर १०० रुपैयाँ दरको एक लाख ३७ हजार ५ सेयर कित्ता सेयर निष्कासन गर्दै छ । हाल संस्थाको चुक्ता पुँजी ५ करोड ५० लाख रुपैयाँ रहेको छ । हकप्रद जारी पश्चात कम्पनीको चुक्ता पुँजी ६ करोड ८७ लाख रुपैयाँ नाघ्ने छ । कम्पनीले एक करोड ३७ लाख ५० हजार रुपैयाँ बराबरको हकप्रद निष्काशन गर्न लागेको हो । आगामी चैत २१ गते यस संस्था आफ्नो तेश्रो वार्षिक साधारणसभामा जाँदै छ । सो प्रयोजनको लागि संस्थाले चैत ६ गते बुक क्लोज गर्दै छ ।