मंगलबारको बजारमा दोहोरो अंकको गिरावट, ३२ करोड ८९ लाख रूपैयाँको सेयर कारोबार

काठमाडौं । सेयर बजार घट्ने क्रम जारी रहेको छ । सोमबार एकल अंकले घटेको बजार मंगलबार भने दोहोरो अंकले ओरालो लागेको छ । सो दिनको नेप्से परिसूचक १५.०५ अंकले घटेर १२५५ अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा मंगलबारको परिसूचकमा गिरावट आएता पनि कारोबार रकममा भने वृद्धि भएको छ । मंगलबारको दिनभरको बजारमा कुल १५९ कम्पनीका ३२ करोड ८९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन अघिल्लो दिनको तुलनामा ४ करोड रुपैयाँ बढी हो । अघिल्लो दिन(सोमबार) २८ करोड रुपैयाँको सेयर किनबेच भएको थियो । बजारमा विभिन्न ९ समूहहरु कारोबारमा आएका थिए । सो मध्ये होटल समूह बाहेक बाँकी समूहको परिसूचक राताम्मे भएका छन् ।

सेन्ट्रल फाइनान्सले ६ करोड ९८ लाख रुपैयाँ लाभांश दिने

काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडले सेयरधनीलाई ६ करोड ९८ लाख रुपैयाँ लाभांश दिने भएको छ । संस्थाले हकप्रद सेयरपछिको चुक्ता पुँजीको ८.५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ३४ लाख ९३ हजार ९२२ रुपैयाँ नगद गरी सो मात्राको लाभांश वितरण गर्न लागेको हो । हकप्रद पश्चात संस्थाको चुक्ता पुँजी ७८ करोड ९ लाख रुपैयाँ पुगेको छ । ८.५ प्रतिशत बोनसपछि फाइनान्सको पुँजी ८४ करोड ७२ लाख रुपैयाँ नाघ्ने छ । सोमबार सम्पन्न संस्थाको २४८औं सञ्चालक समितिको बैठकले सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो । सञ्चालक समितिकाे प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ ।

सूर्या लाइफ इन्स्योरेन्सले ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने, पायो बोर्डको अनुमति

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई चुक्ता पुँजीको १० बराबर ४ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको हो । कम्पनीले साविकका सेयरधनीलाई २८ करोड ८७ लाख ५० हजार रुपैयाँ बराबरको २८ लाख ८७ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्ने छ । चुक्तापुँजी बढाउन कम्पनीले हकप्रद सेयर निष्कासन गर्न लागेको हो । आउँदो असारसम्म कम्पनीलाई चुक्तापूँजी बढाएर १ अर्ब रुपैयाँ पुर्याउन नियामक बीमा समितिले निर्देशन दिएको छ ।