सानिमा इक्विटी फण्डको कारोबार खुला
काठमाडौं । आज (बुधबार)देखि नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सानिमा इक्विटी फण्डको इकाई कारोबार खुलेको छ । नेप्सेले फण्डको कारोबारको लागि प्रतिइकाई १० रुपैयाँ मूल्य तोकेको छ । फण्डको स्टक सिम्बोल ‘एसएइएफ’ रहेको छ । फण्डले उक्त सिम्बोल/संकेत बाट इकाईको कारोबार गर्ने छ ।
तारागाउँ होटल र नेपाल फाइनान्सले तोके बुक क्लोजको मिति, कहिले कहिले हुँदैछ ?
काठमाडौं । तारागाउँ रिजेन्सी होटल र नेपाल फाइनान्सले बुक क्लोजको मिति तोकेका छन् । तारागाउँ रिजेन्सी होटलले आगामी फागुन १८ गतेदेखि चैत १२ गतेसम्म बुक क्लोज गर्ने भएको छ । होटलले वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि बुक क्लोजको मिति तय गरेको हो । होटलको साधारणसभा चैत १२ गते हुने भएको छ । सभामा होटलले सेयरधनीलाई (कर समेत) ७.३६८ प्रतिशत अर्थात १४ करोड ५ लाख रुपैयाँ नगद लाभांश दिने प्रस्ताव लैजाँदै छ । हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ८८ करोड ६६ लाख रुपैयाँ रहेको छ । त्यस्तै, नेपाल फाइनान्सले फागुन १५ गतेदेखि २९ गतेसम्म संस्थाको बुक क्लोज गर्ने भएको छ । यस संस्था फागुन २९ गते विशेष साधारणसभामा जाँदै छ
नेप्से परिसूचक र कारोबार रकम दुबैमा वृद्धि
काठमाडौं । मंगलबारको सेयर बजारमा नेप्से परिसूचक र कारोबार रकम दुबैमा वृद्धि भएको छ । सोमबार सरकार विस्तार भएको र अर्थमन्त्रीका रुपमा डा युवराज खतिवडा नियुक्त भएपछि मंगलबारको सेयर बजारले स्वागत गरेको धितोपत्र बजारका विज्ञहरुले बताएका छन् । मंगलबारको परिसूचक ५.८६ अंकले उकालो लागेर १३६४.८१ अंकमा पुगेको छ । बजारमा ५५ करोड ६८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएका छन् । जुन रकम अघिल्लो दिन(सोमबार)को तुलनामा ४४ लाख रुपैयाँ बढी हो । सोमबारको सेयर बजारमा ५५ करोड २४ लाखको सेयर किनबेच भएको थियो । बजारमा सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सेयर किनबेच भएको छ । यस कम्पनीको एकैदिन ६ करोड ७१ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । मंगलबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १७९० रुपैयाँ रहेको छ । त्यस्तै, प्रभु बैंकको ६ करोड १८ लाखको सेयर किनबेच भएको छ । त्यस्तै, मंगलबार कारोबारमा आएका ५ वटा समूहको परिसूचक हरिया भएका छन् भने बाँकी ४ समूहको परिसूचक राताम्मे भएका छन् । सबैभन्दा बढी होटल समूहको परिसूचक ३१ अंकले उकालो लागेको छ । सो दिन गोर्खाज फाइनान्सका लगानीकर्ताले करिब ५.४७ प्रतिशत कमाएका छन् । सबैभन्दा बढी कञ्चन डेभलपमेन्ट बैंकको सेयर मूल्य ९.००९ प्रतिशतले घटेको छ ।