चार कम्पनीको एक करोड ६७ लाख कित्ता बोनस सेयर सूचिकृत, क-कसको भयो?
काठमाडौं । आइतबार मात्रै विभिन्न चार वटा बैंक तथा वित्तीय संस्थाको एक करोड ६७ लाख ६२ हजार १४० कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको छ । नेप्सेमा एकैदिन काबेली विकास बैंक, सिद्धार्थ इन्स्योरेन्स, ग्लोबल आईएमई बैंक र लक्ष्मी बैंकको सो मात्राको बोनस सेयर सूचिकृत भएको हो । सो मध्ये काबेली विकास बैंकको एक लाख ४० हजार ३५२ कित्ता बोनस सेयर सूचिकृत भएको छ । त्यस्तै, सिद्धार्थ इन्स्योरेन्सको पनि १० लाख ६९ हजार ३५ कित्ता र ग्लोबल आईएमई बैंकको ८० लाख ८० हजार ३४१ कित्ता बोनस सेयर नेप्सेमा थपिएको छ । त्यसैगरी, लक्ष्मी बैंकको पनि ७४ लाख ७२ हजार ४१२ कित्ता बोनस सेयर आइतबार मात्रै नेप्सेमा थपिएको छ ।
१ अर्ब ७३ करोडको सेयर कारोबार
काठमाडौं । धितोपत्र बजारमा गत साता १ अर्ब ७३ करोड ९० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्ज (नेप्से)का अनुसार कुल १७७ कम्पनीको ५० लाख ५९ हजार ९३० कित्ता शेयर बिक्री भएका थिए । कारोबार रकम गत साताको भन्दा ५८.७४ प्रतिशत बढी हो । गत साता १७० कम्पनीको १ अर्ब ९ करोड ५४ लाख ८५ हजार रुपैयाँ बराबरका २४ लाख ६१ हजार ६०० कित्ता शेयर खरिद बिक्री भएका थिए । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १.८६ अंकले बढेर अन्तिम दिन १ हजार ४०४ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा शुन्य दशमलव ३१ अंकले बढेर २९६ दशमलव ४१ अंकमा आइपुगेको छ । यस साता कारोबार रकमका आधारमा सानिमा माई हाइड्रोपावर लिमिटेड अग्रस्थानमा छ । सो कम्पनीको १६ करोड सात लाख ६० हजार बराबरको शेयर कारोबार भएको छ । त्यसैगरी कारोबार भएको शेयर संख्याका आधारमा ग्लोबल आइएमई बैंक अग्रस्थानमा छ । सो बैंकको ६ लाख १५ हजार कित्ता शेयर कारोबार भएको छ । रासस
सूर्योदय लघुवित्तले ७० प्रतिशत हकप्रद निष्काशन गर्ने, पायो बोर्डको अनुमति
काठमाडौं । सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले ७० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । संस्थाले बिहीबार मात्रै सो मात्रा अर्थात २ करोड ८० लाख रुपैयाँ बराबरको हकप्रद निष्कासन गर्न नेपाल धितोपत्र बोर्डको अनुमति पाएको हो । लघुवित्तले बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल मार्फत २ लाख ८० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हाल लघुवित्तको चुक्ता पुँजी ४ करोड ७६ लाख रुपैयाँ रहेको छ । ७० प्रतिशत हकप्रद पश्चात संस्थाको पुँजी ७ करोड ५६ लाख रुपैयाँ नाघ्ने छ ।