राष्ट्रियसभा निर्वाचन : ५० प्रतिशतभन्दा बढी मतदान

काठमाडौं । राष्ट्रियसभा सदस्यका लागि आज सातै प्रदेशको राजधानीमा भइरहेको निर्वाचनमा अहिले १२ः४५ बजेसम्म ५० प्रतिशतभन्दा बढी मत खसेको निर्वाचन आयोगले जनाएको छ ।       आगामी फागुन २० गतेदेखि राष्ट्रियसभामा रिक्त हुने १७ पदका लागि आइतबार बिहान ९ः०० बजेदेखि सुरु भई अपराह्न ३ः०० बजे सम्पन्न हुने निर्वाचनमा ५० प्रतिशतभन्दा बढी मत खसिसकेको हो ।        अहिलेसम्म कोसी प्रदेशमा ३१३, मधेस प्रदेशमा २२७, बागमती प्रदेशमा २१७, गण्डकी प्रदेशमा १८०, लुम्बिनी प्रदेशमा १६३, कर्णाली प्रदेशमा १४५ र सुदूरपश्चिम प्रदेशमा १८६ मत खसेको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए ।      रिक्त हुने १८ पदमध्ये कोसी प्रदेशमा खस–आर्यतर्फको एउटा पदमा निर्विरोध भएको थियो । बाँकी १७ पदका लागि अहिले मतदान भइरहेको छ । कोसी प्रदेशका खस आर्यतर्फका उम्मेदवार नेपाली कांग्रेसका सुनीलबहादुर थापा निर्विरोध निर्वाचित भएका थिए ।      कोसी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर, विराटनगर मोरङ, मधेस प्रदेशको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र, जनकपुर उपमहानगरपालिका वडा ४ धनुषा, बागमती प्रदेशको भुटनदेवी माध्यमिक विद्यालय, हेटौँडा उपमहानगरपालिका ४ मकवानपुरमा मतदान भइरहेको आयोगले जनाएको छ ।      यसैगरी, गण्डकी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर, पोखरा कास्की, लुम्बिनी प्रदेशको कर्मचारी मिलन केन्द्र, घोराही, दाङ, कर्णाली प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर, वीरेन्द्रनगर, सुर्खेत र सुदूरपश्चिम प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर, धनगढी, कैलालीमा मतदान चलिरहेको छ ।      राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेशसभा सदस्य, नगरप्रमुख तथा उपप्रमुख एवं गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष मतदाता रहेको निर्वाचक मण्डलको व्यवस्था गरिएको छ । कूल दुई हजार ५६ मतदाता रहेकामा विभिन्न कारणले हाल दुई हजार ११ कायम रहेको आयोगले जनाएको छ ।   

राष्ट्रिय सभा निर्वाचन : मधेस प्रदेशमा मतदान जारी

काठमाडौं । नेपालको राष्ट्रिय सभाका रिक्त १७ सदस्यका लागि आइतबार सातवटै प्रदेशमा मतदान शुरु भएको छ । मधेस प्रदेशमा महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र, जनकपुरधाममा स्थापना गरिएको मतदान केन्द्रमा मतदान भइरहेको हो ।  मतदान बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ । राष्ट्रिय सभामा मार्च ४, २०२६ देखि रिक्त हुने १८ सिटमध्ये कोशी प्रदेशको एक सिट नेपाली काँग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भइसकेका छन् । बाँकी १७ सिटका लागि आइतबार मतदान हुनेछ ।  मधेस प्रदेशबाट यसपटक चार पद (महिला, दलित, अपाङ्गता/अल्पसंख्यक र अन्य क्लस्टर) का लागि निर्वाचन हुँदैछ । यहाँ नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेदवारहरुबीच प्रतिष्पर्धा छ । प्रमुख दलहरुबीचको गठबन्धनका कारण काँग्रेस–एमाले नेतृत्वको समीकरणले बहुमत प्राप्त हुने अपेक्षा गरिएको छ ।  काँग्रेसका उम्मेदवार धर्मेन्द्र पासवान र रञ्जित कर्ण र लोसपाका उम्मेदवार पार्टी अध्यक्ष महन्थ ठाकुर रहेका छन् । राष्ट्रिय सभाका कुल ५९ सदस्यमध्ये हरेक दुई वर्षमा एक तिहाइ सदस्यको कार्यकाल सकिने व्यवस्था छ ।    

मुस्ताङमा निर्वाचन प्रहरीको जागिर खाने भेटिएनन्, तेस्रोपटक म्याद थप

मुस्ताङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचन सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालयले तेस्रोपटक थप दुई दिन म्याद थप गरेको छ । जिल्ला प्रहरी कार्यालयले आवश्यक माग सङ्ख्याका लागि दुईपटक दरखास्त आह्वान गरेको थियो । तर दुई पटक म्याद थप गर्दा पनि छनोट प्रक्रिया सकिँदासम्म माग सङ्ख्या अपुग भएकाले पुनः तेस्रोपटक निर्वाचन प्रहरी भर्नाका लागि दरखास्त आह्वानको कार्यतालिका सार्वजनिक गरेको हो । यसअघि नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालको संयुक्त कार्यविधि २०८२ अनुसार मुस्ताङमा निर्वाचन प्रहरी छनोट, नियुक्ति तथा परिचालनका लागि योग्यता पुगेका नेपाली नागरिकबाट एकीकृत रूपमा दुई पटकसम्म निर्वाचन प्रहरी भर्नाका लागि दरखास्त आह्वान गरिएको थियो । जिल्ला प्रहरी कार्यालयले पहिलोपटक २५ पुसमा निर्वाचन प्रहरी भर्नाका लागि आवेदन खुला गरेको थियो । पुस २५ देखि माघ १ गतेसम्मको कार्यतालिका अवधिमा आवश्यक माग सङ्ख्या अपुग भएपछि पुनः दुई दिनको म्याद थप गरेको थियो । निर्वाचन सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालयले दुई सय ६६ जना र सशस्त्र प्रहरी बल नेपालले ४६ गरी तीन सय १२ जना निर्वाचन प्रहरीको माग गरी दरखास्त खुलाइएको थियो । दोस्रोपटक म्याद थप भई छनोट प्रक्रिया सकिँदा दुई सय ९० जना व्यक्तिमात्रै सम्पर्कमा आएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए । आवेदन दिएकामध्ये केही छनोट प्रक्रियामा अनुउत्तीर्ण भएका र कतिपय सम्पर्कमै नआउँदा सङ्ख्या नपुगेकाले थप दुई दिनको म्याद थप्नुपरेको उनको भनाइ छ । जिल्लामा निर्वाचन प्रहरीमा भर्ना हुनका लागि मुस्ताङसहित जिल्ला बाहिरका उल्लेख्य व्यक्ति मुस्ताङ आएको बताए। निर्वाचन प्रहरी भर्ना हुनेमध्ये ८० प्रतिशत व्यक्ति जिल्ला बाहिरका रहेको प्रहरी निरीक्षक बस्यालको भनाइ छ । भर्ना हुनेमा अधिकांश सडक, कृषि र होटल मजदुर रहेको उनको भनाइ छ । निर्वाचन सुरक्षाका लागि छनोट गरिएका निर्वाचन प्रहरीलाई आवश्यक प्रक्रिया पूरा गरी नियुक्ति प्रदान गरिने र त्यसपछि माघ १५ देखि २५ गतेसम्म शारीरिक प्रशिक्षण तालिम सञ्चालन गरिने जनाइएको छ । रासस