विश्वकप फुटबल : पाराग्वेसँग टर्की पराजित

काठमाडौं । फिफा विश्वकप फुटबल, २०२६ अन्तर्गत आज भएको खेलमा पाराग्वेले टर्कीलाई पराजित गरेको छ । अमेरिकाको सान फ्रान्सिस्को बे एरिया स्टेडियममा भएको खेलमा पाराग्वेले टर्कीलाई १–० गोलअन्तरले पराजित गरेको हो । हारसँगै टर्की प्रतियोगिताबाट बाहिरिएको छ ।  पाराग्वेको जितमा माटियास गालार्जा नायक बने । उनले खेल सुरुआत दोस्रो मिनेटमा गरेको एक गोल नै पाराग्वेको लागि निर्णायक गोल सावित भयो । खेलको पहिलो हाफको अतिरिक्त समयमा मिगुएल अल्मिरोन रातो कार्ड पाएर मैदान बाहिरिएसँगै पाराग्वे १० खेलाडीमा सीमित भएको थियो । त्यसपछि टर्कीले निरन्तर दबाबमा राखे पनि गोल गर्न सकेन ।  यस जितसँगै समूह ‘डि’ मा रहेको पाराग्वेले शीर्ष तीन अङ्क बटुलेको छ । यसै समूहमा रहेको अमेरिकाले दुई खेलमा छ अङ्क जोड्दै विश्वकपको नकआउट चरणमा प्रवेश गरिसकेको छ । समान दुई–दुई खेल खेलेका अष्ट्रेलिया तीन अङ्क जोड्दै अङ्क तालिकाको दोस्रो स्थानमा छ भने समान तीन अङ्क नै बुटुलेको पाराग्वे तेस्रो स्थानमा छ ।  

आइएमईको सांगीतिक एम्बेसेडरमा प्रकाश सपुत नियुक्त

काठमाडौं । आइएमई लिमिटेडले चर्चित गायक तथा अभिनेता प्रकाश सपुतलाई  सांगीतिक दूत (म्युजिकल एम्बेसेडर) नियुक्त गरेको छ । शुक्रबार आयोजित एक कार्यक्रममा आइएमईले सपुतलाई सांगीतिक दूतका रूपमा सार्वजनिक गरेको हो । ग्राहकसँगको सम्बन्धलाई थप सुदृढ बनाउने तथा रेमिट्यान्स सेवाप्रति जनचेतना विस्तार गर्ने उद्देश्यले सपुतसँग सहकार्य गरिएको कम्पनीले जनाएको छ । लोकगीत तथा सामाजिक विषयवस्तुमा आधारित सिर्जनाका कारण लोकप्रिय रहेका सपुतका गीतहरू देशभित्र मात्रै होइन, विदेशमा रहेका नेपालीमाझ पनि उत्तिकै रुचाइने गरेका छन् । विशेषगरी वैदेशिक रोजगारीमा रहेका नेपालीका भावना, संघर्ष र जीवन भोगाइलाई उनले आफ्ना गीतमार्फत निरन्तर उठाउँदै आएका छन् । आइएमईले रेमिट्यान्सले देशको अर्थतन्त्र र समाजमा पुर्‍याएको योगदानबारे आम नागरिकलाई थप जानकारी दिन सपुतको सहभागिताले सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ । सम्झौता कार्यक्रममा आइएमईका महाप्रबन्धक बद्री कटवालले सपुतका सिर्जनाले नेपाली समाजको यथार्थ चित्रण गर्ने भएकाले यो सहकार्यले कम्पनीको अभियानलाई थप प्रभावकारी बनाउने बताए । ‘उहाँका सिर्जनाले नेपालीको मन छुन्छन् । त्यसैले यो सहकार्यले हाम्रो अभियानमा छुट्टै अपनत्व थप्नेछ,’ उनले भने, ‘स्वदेश र विदेशको दूरी कम गर्न संगीत बलियो माध्यम बनेको छ, जसले प्रवासी नेपाली श्रमिकहरूका लागि सारथीको भूमिका निर्वाह गर्न सक्छ ।’ कार्यक्रममा गायक सपुतले आइएमईजस्तो प्रतिष्ठित संस्थासँग जोडिन पाउँदा खुसी लागेको बताए । उनले संगीतमार्फत विश्वभर छरिएका नेपालीलाई आफ्नो माटो र संस्कृतिसँग जोडिराख्ने प्रयासलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

हाइटीलाई पाखा लगाउँदै विश्वकपमा ब्राजिलको पहिलो जित दर्ता

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को आफ्नो दोस्रो खेलमा ब्राजिलले सानदार जित दर्ता गरेको छ ।  फिलाडेल्फिया स्टेडियममा भएको एकपक्षीय खेलमा ब्राजिलले हाइटीमाथि रोमाञ्चक र फराकिलो जित निकाल्दै प्रतियोगितामा स्पष्ट ३ अंक जोडेको हो । पहिलो खेलमा मोरक्कोसँग १-१ को निराशाजनक बराबरीमा रोकिएको ब्राजिल यस खेलमा भने सुरुदेखि नै आक्रामक रूपमा प्रस्तुत भएको थियो । खेलको सुरुवाती मिनेटदेखि नै हाइटीको रक्षापंक्तिलाई दबाबमा राखेको ब्राजिलका लागि २३औँ मिनेटमा म्याथ्युज कुन्हाले पहिलो गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । उत्कृष्ट लयमा देखिएका कुन्हाले पुनः खेलको ३६औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै ब्राजिलको अग्रता दोब्बर पारे । पहिलो हाफको इन्जुरी समयमा ब्राजिलका स्टार फरवार्ड भिनिसियस जुनियरले गोल थपेपछि टोली पहिलो हाफमै ३-० को बलियो स्थितिमा पुगेको थियो । दोस्रो हाफमा हाइटीले ब्राजिलको बलियो आक्रमणलाई रोक्ने प्रयास गरे पनि सफल हुन सकेन। ब्राजिलले रक्षापंक्ति र मिडफिल्डमा पूर्ण नियन्त्रण राख्दै हाइटीलाई पुनरागमनको कुनै मौका दिएन । यो जितसँगै समूह ‘सी’मा ब्राजिलले नकआउट चरणको सम्भावनालाई बलियो बनाएको छ भने पहिलो खेलको बराबरीको दबाबलाई समेत पन्छाएको छ ।  खेलमा उत्कृष्ट प्रदर्शन गरेका म्याथ्युज कुन्हा प्लेयर अफ दि म्याच चुनिए ।