तत्कालीन माओवादी केन्द्र काठमाडौं महानगर कमिटीका अध्यक्ष लामा एमालेमा प्रवेश
काठमाडौं । नेकपा माओवादी केन्द्रका काठमाडौं महानगर कमिटीका तत्कालीन अध्यक्ष राजेश लामा नेकपा एमालेमा प्रवेश गरेका छन् । सोमबार दिउँसो नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको गुण्डुस्थित आफ्नै निवासमा लामा र जिल्ला कमिटी सदस्य विष्णु जोशीलाई पार्टीको झण्डा, नेपालको झण्डा र खादा ओढाएर पार्टी प्रवेश गराएका हुन् । पार्टी प्रवेशपछि अध्यक्ष राजेश लामाले एमाले प्रवेश गर्न अलि ढिलो भएको महसुस भएको बताएका छन् ।
आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह
काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फाुगन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि सञ्चार माध्यमहरुले आधिकारिक स्रोतलाई मात्र आधार मानेर समाचार एवं सूचनाको प्रवाह गर्न आग्रह गरेका छन् । सार्वजनिक सेवा प्रसारण नेपालले आयोजना गरेको ‘प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ आचारसंहिता अभिमुखीकरण’ विषयक कार्यक्रममा प्रमुख आयुक्त भण्डारीले निर्वाचनका क्रममा भ्रामक समाचार फैलाउनबाट जोगिन सुझाव दिएका हुन् । उनले नागरिकलाई यतिबेला अत्यन्त सत्यतथ्य समाचार सामग्रीको खाँचो हुने हुँदा खास गरी सञ्चार माध्यममले आचारसंहिताको पालना गर्ने र गराउने भूमिका निर्वाह गर्नुपर्ने बताए । उनले भने, ‘सञ्चार माध्यमले सकेसम्म निर्वाचनका समाचार लेख्दा आधिकारिक स्रोतमा मात्रै आधार बनाउन अनुरोध गर्छु ।’ डिटिल प्लेटर्फम कृत्रिम बुद्धिमता (एआई) जस्ता एप्स प्रयोग गरेर यतिबेला सामाजिक सञ्जालमा कसैको छविमा आँच आउने खालका श्रव्यदृश्य सामग्री देखिएकाले यसलाई व्यवस्थापन गर्न निर्वाचन आयोगले मेटा, टिकटकलगायत सामाजिक सञ्जालसँग सम्झौता गर्न लागेको जानकारी दिए । कार्यक्रममा आयोगका सचिव कृष्णबहादुर राउतले निर्वाचनको आचारसंहिता पालना गर्ने र गराउनका लागि निगरानी गर्ने दायित्व सञ्चार माध्यमको हुने बताए । सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा नागरिकलाई सही सूचना दिने र निर्वाचन सफल पार्न सघाउ पुर्याउन सञ्चारमाध्यमले अहम् भूमिका खेल्नुपर्ने बताए । सार्वजनिक सेवा प्रसारण नेपालका अध्यक्ष डा. महेन्द्र विष्टले सञ्चारमाध्यमले निर्वाचन आचारसंहितासँगै पत्रकारको आचारसंहिता ध्यानमा राखेर पत्रकारिता गर्न सुझाव दिए । उनले सञ्चारकर्मी आफैँबाटै आचारसंहिता पालना भएको छ कि छैन भनी जाँच गर्नुपर्ने धारणा राखे । कुनै पनि पार्टीका उम्मेदवार वा विचार धाराका कुरा सामाजिक सञ्जालमा राख्ने जस्ता गतिविधि नगरी निष्पक्ष ढङ्गले पत्रकारिताको धर्म निभाउनुपर्ने उनले बताए । टेलिभिजनले देशभरका आफ्नो समाचारदातालाई भिडियो कलमार्फत निर्वाचन आचारसंहिताबारे अभिमुखीकरण तालिम दिएको छ ।
गफ होइन, श्रमले मात्र देश बनाउँछ : अध्यक्ष हर्क साम्पाङ
दमौली । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले श्रम नगरी देश विकास हुन नसक्ने बताएका छन् । तनहुँको आँबुखैरेनीमा सोमबारस्थानीयसँग भेटघाट गर्दै अध्यक्ष साम्पाङले गफले मात्रै मुलुक नबन्ने बताउँदै त्यसका लागि श्रम अनिवार्य रहेको बताए । गफभन्दा श्रमलाई प्राथमिकता दिने पार्टी आफ्नो मात्रै रहेको दाबी गर्दै साम्पाङले सबै जनता उत्पादनशील काममा जोडिनुपर्ने उल्लेख गरे । उनले भने, 'काम नगरेर देश नबनेको हो । काम गर्ने मानिसलाई अपमान गर्ने प्रवृत्ति छ । श्रम गरेर देशलाई स्वाधीन बनाउनुपर्छ ।' अध्यक्ष साम्पाङले राजनीतिक दलहरू विकासका नाममा भाषण र आश्वासनमै सीमित भएको आरोप लगाउँदै आफ्नो पार्टीले श्रमलाई व्यवहारमै उतारेको दाबी गरे । 'काम नगरेर देश बनेको छैन । हामी कहाँ काम गर्ने मानिसलाई हेप्ने र गफ गर्ने मानिसलाई सम्मान गर्ने गलत संस्कार छ,' उनले भने, 'यो सोच बदल्न सकेनौँ भने देश कहिल्यै अगाडि बढ्दैन ।' उनले देशका सबै नागरिकलाई उत्पादनशील काममा जोड्न नसक्दासम्म बेरोजगारी, गरिबी र परनिर्भरताको समस्या समाधान नहुने बताए । विशेषगरी युवाहरू श्रमबाट टाढा रहँदा ठूलो जनशक्ति विदेशिन बाध्य भएको उनको भनाइ थियो । अध्यक्ष साम्पाङले विदेशी सहयोग र अनुदानले मात्र देश नबन्ने स्पष्ट पार्दै आफ्नै श्रम र स्रोतको सदुपयोगमार्फत विकास गर्नुपर्नेमा जोड दिए । 'विदेशी आएर हाम्रो देश बनाई दिँदैनन् । आफ्नो देश आफैँले बनाउने हो,' उनले भने, 'श्रमलाई मूल आधार मानेर हामी अघि बढेका छौँ ।'