जेनजी पुस्तालाई सन्तुष्टि हुनेगरी काम गर्छु : मनोज सिलवाल

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक मनोज सिलवालले युवा पुस्ताको अपेक्षा सम्बोधन हुनेगरी प्राधिकरणमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मन्त्रिपरिषद्को आइतबारको बैठकबाट नियुक्त भएका सिलवालले हालको सेवा प्रवाहबाट ग्राहकहरूले गुणस्तरको प्रत्याभूति गर्न नसकेको स्वीकार गर्दै यसको सुधारमा जोड दिएका छन् । कार्यकारी निर्देशक सिलवालले आफ्नो कार्यकालमा गुणस्तरीय विद्युत् आपूर्तिः ग्राहकहरूलाई भरपर्दो र गुणस्तरीय विद्युत् सेवा प्रदान गर्नु प्रमुख लक्ष्य रहेको बताए ।  विद्युत्को पहुँच विस्तारः देशभर विद्युत् पहुँच नपुगेका स्थानहरूमा विद्युतीकरणलाई तीव्रता दिइने उनको भनाइ छ । यस्तै,  निजी क्षेत्रसँगको सहकार्यमा विद्युत् खरिद–बिक्री बढाउने र भारत लगायतका मुलुकहरूसँग आयात–निर्यातको सम्भावना अध्ययन गरी वृद्धि गरिने तथा प्राधिकरणको आर्थिक तथा प्राविधिक सुदृढीकरणः प्राधिकरणलाई आर्थिक र प्राविधिक दुवै रूपले बलियो बनाउन आन्तरिक सुधारमा जोड दिइने उनको दाबी छ ।  सिलवालले सार्वजनिक संस्थाबाट सेवा पाइरहेका युवा पुस्ताका ग्राहकहरूको सन्तुष्टिमा विशेष जोड दिएका छन् । । ‘युवा पुस्ताको अपेक्षा ठुलो छ, तर जुन हिसाबले सेवा डेलिभरी पाइराखेका छन्, उनीहरू सन्तुष्ट छैनन् । अब उनीहरू सन्तुष्ट हुने गरी हामीले सेवा प्रवाहमा सुधार गर्नुपर्छ,’ उनले भने । औद्योगिक क्षेत्रमा नियमित विद्युत् आपूर्तिमा विशेष ध्यान दिइने उनको भनाइ छ । निजी क्षेत्रसँगको सहकार्यलाई थप बलियो बनाउँदै विद्युत् खरिद सम्झौतालाई निरन्तरता दिइनेछ । नेपाल सरकारले तयार पारेको २८ हजार मेगावाटको ऊर्जा रोडम्यापलाई आफ्नो कार्यदिशा मान्दै निजी क्षेत्रको सहयोगमा मात्रै यो लक्ष्य हासिल गर्न सकिने उनले बताए । प्राधिकरणको आन्तरिक सुदृढीकरणलाई पनि उनले आफ्नो प्रमुख एजेन्डा बताएका छन् । यसका साथै, डेडिकेटेड ट्रंकलाइनको बक्यौता असुलीलाई पनि प्राथमिकतामा राखिने उनले स्पष्ट पारे  ।   

दशैंमा पनि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुने

काठमाडौं । सर्वोच्च अदालतमा दशैं बिदामा बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ गर्न बिहान ११ः०० बजेदेखि अपराह्न ३ः०० बजेसम्म अदालत खुला रहने भएको छ ।   दशैं अवधिमा घटस्थापना, विजयादशमी, कोजाग्रत पूर्णिमा र शनिबारको दिनबाहेक अन्य दिनहरूमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ हुने सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।     अदालतको सूचनामा भनिएको छ, 'न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम उक्त अवधिमा पर्ने घटस्थापना, विजयादशमी, कोजाग्रत पूर्णिमा र शनिबारको दिनबाहेक अन्य दिनहरूमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाइ गर्न बिहान ११ः०० बजेदेखि अपराह्न ३ः०० बजेसम्म अदालत खुला रहने हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।'  

काठमाडौंमा सुरु भयो दोस्रो पक्कु फेस्टिवल

काठमाडौं । प्रेसिडेन्ट बिजनेस ग्रुपद्वारा आयोजित दोस्रो पक्कु फेस्टिवल २०८२ सोमबारदेखि काठमाडौंमा सुरु भएको छ । सोमबार ९ः४५ बजे नवरात्रको प्रथम दिन नौ कन्याहरूबाट पानसमा बत्ती बालेर कार्यक्रमको औपचारिक उद्घाटन गरिएको हो । उद्घाटन समारोहमा विशेष महत्वसहित नव कन्याहरूलाई भोजन र टीका लगाई कन्याहरूका हातबाट कार्यक्रम शुभारम्भ गरिएको अध्यक्ष टिआर भण्डारी (शंकर) ले जानकारी दिए । वि.सं. २०६३ सालमा सुन्धाराबाट सुरु भएको प्रेसिडेन्टको व्यवसायिक यात्राले हाल १९ वर्ष पार गरिसकेको छ हाल प्रेसिडेन्ट होटल, रेस्टुरेन्ट, सेकुवा तथा मल्टी क्यूजिन रेस्टुरेन्ट र प्रेसिडेन्ट बेकरीसहित मुलुकका १६ स्थानबाट सेवा दिइरहेको समूहले वि.सं. २०६८ सालदेखि ‘प्रेसिडेन्ट बिजनेस ग्रुप’ नाममा ब्रान्डिङ गर्दै आएको छ । गत वर्ष आयोजित पहिलो पक्कु फेस्टिवल–२०८१ को सफलतापछि यस पटक दोस्रो पटक यो फेस्टिवल आयोजना गरिएको हो । प्रेसिडेन्ट सेकुवा तथा मल्टी क्यूजिन रेस्टुरेन्ट, महाराजगञ्जमा आयोजना भएको यस फेस्टिवलमा दशैंसँग सम्बन्धित स्थानीय हस्तकला, सांस्कृतिक बाजा, परम्परागत परिकार र पक्कु खानाको प्रदर्शनी हुने जनाइएको छ ।  फेस्टिवलले विशेषगरी नयाँ पुस्तालाई संस्कृति, रहनसहन, खानपान र परम्परासँग जोड्ने उद्देश्य राखेको आयोजकले जनाएको छ। साथै, शहरमा स्थायी वा अस्थायी रूपमा बसोबास गर्दै गाउँ टाढिएका मानिसलाई पर्वको माहोल दिने उद्देश्य पनि रहेको छ । कार्यक्रममा बोल्दै अध्यक्ष भण्डारीले भने, ‘आर्थिक व्यापारभन्दा बढी यो फेस्टिवलले मनोरञ्जन, परम्परा र हाम्रो मौलिकताको जगेर्नामा जोड दिनेछ ।’