निजी क्षेत्रको घोषणा : आर्थिक सुधार र समृद्धिमा एकजुट हुने

काठमाडौं । अर्थतन्त्र सुधार र मुलुकको समृद्धिका लागि निजी क्षेत्रका व्यवसायीहरूले एकजुट हुने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, राष्ट्रिय व्यवसायी पहल, निर्यात व्यवसायी महासंघ र नेपाल युवा उद्यमी मञ्चलगायतका व्यवसायीक छाता संगठनका पदाधिकारिहरुको सोमबार राजधानीमा सम्पन्न संयुक्त छलफलमा व्यवसायीले साझा प्रतिवद्धता जनाएका हुन् । उद्योग वाणिज्य महासंघका केन्द्रीय कार्यकारी सदस्य तथा स्थल यातायात तथा पारवाहन समितिका सभापति शिव प्रसाद घिमिरेको पहलमा आयोजित कार्यक्रममा हालैको जेनजी आन्दोलनले सिर्जना गरेको परिस्थिति, व्यवसायमा देखिएका समस्या र त्यसका समाधानबारे विस्तृत छलफल भएको थियो । कार्यक्रममा बोल्ने व्यवसायीहरुले पछिल्ला आन्दोलनका कारण उद्योग र व्यापारमा ठूलो क्षति पुगेको उल्लेख गर्दै सरकारको विशेष पहलमा नाका केही दिनमै खुलेको उदाहरण प्रस्तुत गरे । उनीहरुले राज्यले दृढतापूर्वक काम गरेमा व्यवसायसँग सम्बन्धित समस्या सजिलै समाधान हुने धारणा राखे । छलफलमा सहभागी व्यवसायीहरुले आगामी यात्रामा निजी क्षेत्र एकताबद्ध भएर अघि बढ्ने, व्यवसायिक नीतिनिर्माणमा युवा पुस्ताको सक्रियता सुनिश्चित गर्ने, पुनर्निर्माणमा सक्दो सहयोग गर्ने र बौद्धिक तथा सक्षम युवालाई प्रोत्साहन गर्ने विषयमा सहमति जनाए । व्यवसायीहरुले आन्दोलनका क्रममा निजी क्षेत्रमाथि भएका आक्रमणले सुरक्षामा प्रश्न उठेको र यसले बेरोजगारी बढाउने चेतावनी पनि दिए । उनीहरुले निजी क्षेत्रको अर्थतन्त्रमा रहेको योगदानलाई अझ प्रगाढ बनाउन निर्यात प्रवर्द्धन, पर्यटन संरक्षण र अन्तर्राष्ट्रिय समुदायमा नेपाललाई सुरक्षित गन्तव्यको रूपमा चिनाउने आवश्यकता औंल्याए। कार्यक्रममा हालको परिस्थितिबारे अनुभव र चुनौती प्रस्तुत गर्दै व्यवसायीहरुसँगै विभिन्न वस्तुगत संघका सदस्यहरूको पनि समस्याका सम्भावित समाधान र राज्यले गर्न सक्ने कदमबारे सुझाव राखेका थिए । छलफलको विस्तृत प्रतिवेदन तयार गरी छिट्टै सरकार र सम्बन्धित निकायलाई बुझाइने निर्णय गरिएको छ । व्यवसायीहरुको भनाइमा, अहिलेको संवेदनशील परिस्थितिमा सरकारलाई मार्गदर्शन दिने र निजी क्षेत्रको सुरक्षा सुनिश्चित गर्ने काममा व्यवसायी, उद्यमी र सरोकारवालाको सहकार्य अपरिहार्य रहेको छ । कार्यक्रममा सबै व्यवसायिक सस्थाका पदाधिकारीसहित ३ सय भन्दा बढी व्यवसायीहरुको सहभागिता रहेको थियो ।

सार्वजनिक जग्गा व्यवस्थित गरिँदै

रामपुर । सार्वजनिक जग्गा नागरिकको साझा सम्पत्ति भए पनि व्यक्तिगत रूपमा लाभ उठाउने कार्य भइरहेको छ । व्यक्तिगत प्रयोजनका लागि सार्वजनिक जग्गा हडपेर भोगचलन गर्ने कार्य कायमै छ । उद्यान, चौतारी, सडक, धार्मिकस्थल, ताल, पर्यटन विकासलगायतका विकास नागरिक हितका हुन् । यस्ता कार्यमा चासो र चिन्तन भने कमै हुने गरेका छन् । पाल्पाको रामपुर नगरपालिकाले नागरिक हित र नगरको विकासका लागि व्यक्तिले वर्षौँदेखि भोगचलन गर्दै आएका सार्वजनिक जग्गा छुट्याएर विभिन्न संरचना निर्माणमा जोड दिएको छ । सार्वजनिक जग्गा संरक्षणका लागि नगर सरकार तदारुकताका साथ लागेको छ । नगरपालिकाले १० वटै वडामा रहेका सार्वजनिक जग्गा छुट्याउने कार्य गरिरहेको छ । हाललाई सबैभन्दा ठूलो मानव बस्ती रहेको वडा नं ५ मा मिचिएका सार्वजनिक जग्गा नाप नक्साङ्कन गरेर छुट्याइएको छ । वडा नं ५ भित्र पर्ने मटेरी ठूलोटार, इलाका प्रहरी कार्यालय, सानीअमराई क्षेत्र, बहखोला, भम्बक आर्मिक्याम्प, सिमलघारी बसपार्क, नहरअफिस, आयुर्वेद अस्पताल क्षेत्रमा रहेका सार्वजनिक जग्गा छुट्याउने कार्य भएको छ । यी क्षेत्रलाई व्यवस्थित बनाउँदै लगिएको छ । व्यक्तिले सार्वजनिक जग्गा मिचेर भोगचलन गर्दै आएका जग्गा छुट्टयाएर पिल्लर गाड्ने, वृक्षरोपण, सडक, उद्यान निर्माण, सौन्दर्यकरणजस्ता काम भइरहेको वडाध्यक्ष दुर्गाप्रसाद पोखरेलले बताए । 'वर्षौँदेखि व्यक्तिले भोगचलन गरेको जग्गा छुट्याएर काम गर्न निकै चुनौती झेल्नुपर्यो, सार्वजनिक जग्गा अधिकरण गरेर व्यक्तिले लाभ लिएको जग्गा अहिले नाप नक्साङ्कन गरेर राखिएको छ', वडाध्यक्ष पोखरेलले भने, 'नक्साअनुसार काम गरिएको छ, यस कार्यमा स्थानीयसँग धेरै विवाद सामना गर्नुपर्यो, अहिले हाम्रो वडामा सार्वजनिक जग्गा अतिक्रमण गर्ने समस्या समाधान भएको छ ।' मटेरी ठूलोटार क्षेत्रमा चारैतिर ३८ वटा पिलर गाडेर सार्वजनिक जग्गा छुट्याइएको छ । इलाका प्रहरी कार्यालय, रामतुलसी नमूना माविको खेलमैदान र व्यक्तिको विवादित बनेको जग्गा छुट्याएर वर्षौँदेखि समस्या समाधानका लागि पिलर गाडेर राखिएको छ । इलाका प्रहरी कार्यालयको पश्चिम क्षेत्रमा रहेको भान्साघर परिसरसम्म सार्वजनिक जग्गा रहेको पाइएपछि अब सो क्षेत्रमा नयाँ स्थायी संरचना बनाउन नपाउनेगरी पिलर गाडेर जग्गा छुट्याउने काम सकिएको वडाध्यक्ष पोखरेल बताउँछन् । व्यक्तिले अतिक्रमण गरेर प्रयोग गरेका सार्वजनिक जग्गालाई नाप नक्साङ्कन गरेर सो क्षेत्रमा अहिले मनोरञ्जन उद्यान, व्यायामशाला, सडक निर्माण तथा विस्तार, वृक्षरोपणजस्ता कार्य हुन थालेपछि रामपुरको स्वरुप फेरिँदै गएको छ । रामपुर नगरपालिकाले २०८० देखि सार्वजनिक जग्गा संरक्षण अभियान थालेको हो । नगरपालिकाले बजेट नै विनियोजन गरेर यो कार्य गरिरहेको छ । नगरपालिकाले पहिलो र दोस्रो वर्ष रु पाँच-पाँच लाख, वडा नं ५ कार्यालयले वडाभित्रका सार्वजनिक जग्गा छुट्याउनका लागि पहिलो वर्ष रु एक लाख रकम विनियोजन गरेर काम गरेको वडाध्यक्ष पोखरेलले जनाए । नगरले राष्ट्रिय गौरवका योजनाबाट सार्वजनिक जग्गा छुट्याउने कार्य थालनी गरेको नगरप्रमुख रमणबहादुर थापाले बताए । नगर गौरवका योजना चलेका स्थानमा व्यक्तिले हडपेका सार्वजनिक जग्गामा बनेका संरचना हटाएर पर्यटन विकास, बालउद्यान, खेलमैदान स्तरोन्नति गर्दै सौन्दर्यकरण गर्दै लैजाने नगरप्रमुख थापा बताउँछन् । “कोही व्यक्तिले पनि व्यक्तिगत रूपमा आफूलाई लाभ लिने उद्देश्यले सार्वजनिक जग्गा अतिक्रमण गर्न पाइँदैन, त्यस्ता जग्गा पहिचान गरेर नगरपालिकाको हित हुने र सर्वसाधारण, समुदायले प्रत्यक्ष लाभ लिने खालका पूर्वाधार विकास गर्दै जानेछौँ, सार्वजनिक जग्गा छुट्याउने कार्यलाई नगरले जोड दिएको छ”, नगरप्रमुख थापाले भने । रामपुरभित्र रहेका सार्वजनिक र निजी जग्गा छुट्याउनुपर्ने र त्यसलाई वर्गीकरण गरी सार्वजनिक जग्गा संरक्षण गरिनुपर्ने नगरवासीको मागअनुसार काम भइरहेको छ । सार्वजनिक जग्गा संरक्षण अभियानमा नगरवासीले साथ दिएका छन् । पहिले नै गर्नुपर्ने काम नगर्दा अहिलेको अवस्थामा सार्वजनिक जग्गा संरक्षण गर्न अप्ठ्यारो परेको छ । रामपुरमा तत्कालीन गाउँ पञ्चायत, गाउँ विकास समितिले जग्गा बिक्री गर्न थालेपछि सार्वजनिक जग्गा व्यवस्थापनमा चुनौती थपिँदै आएको थियो । रामपुर नगर सरकारले भने थालनी यस कार्यले समाजमा राम्रो प्रभाव पारिरहेको छ । रासस

नवरात्रको दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौं । आश्विन शुक्ल द्वितीया तिथी अर्थात् नवरात्रको दोस्रो दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको विशेष पूजा आराधना गरिँदै छ ।  नवरात्रको पहिलो दिन सोमबार दसैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । सोही दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो । दोस्रो दिन आज पूजा स्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त धार्मिक विश्वास रहिआएको छ ।  यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । संसारका मुमुक्षु प्राणीलाई सच्चिदाननद रुप ब्रह्मको बोध गराउनका लागि निरन्तर लागिरहने मान्यतामा नवदुर्गा मध्येको दोस्रो देवीलाई ब्रह्मचारिणी भनिएको हो । ब्रह्मचारिणीको हातमा कमल, अक्षमाला र कमण्डलु बनाइनुपर्छ भन्ने विधान छ । नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको घुइँचो हुने गर्दछ । सोमबारदेखि नै देशभरका शक्तिपीठमा भक्तजनको विशेष चहलपहल सुरु भइसकेको छ ।