पूजा आराधना गरी विश्वकर्मा पूजा पर्व मनाइँदै, आज औजारको पूजा गरे धेरै समय टिक्ने
काठमाडौं । आज कालीगढहरुले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदै छन् । प्रत्येक वर्ष झै कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन विश्वकर्माको विधि पूर्वक पूजा गर्न लागिएको हो । विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्बिरमा विधि पूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेष रुपमा सजाएर मजदुरलाई सहभागी गराएर यो दिवस मनाइन्छ । बालुवा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति बागमती मुहान स्थल सुन्दरीजल वा अन्य शुद्ध स्थलमा लगी सेलाउने गरिन्छ । आज पूजा गरी बिहीबारदेखि नदीमा लगी मूर्ति सेलाइन्छ । आजका दिन कालीगढले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिने लगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ । द्वापर युगमा भगवान कृष्णलाई राक्षसहरूले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद रुपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको धर्मशास्त्रविद् प्रा तोयराज नेपाल बताउँछन् । प्राचीन भारत वर्षका चार दिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकको रुपमा मानिन्छ । विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रको बीचमा रहेको विश्वास गरिन्छ । विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रुपमा मानिन्छ । ‘विश्वकर्मा प्रकाश’ नामक वास्तु शास्त्रको ग्रन्थ उहाँले नै रचना गर्नुभएको विश्वास गरिने वास्तु शास्त्री शिव पोखरेल बताउँछन् । यही सम्झनामा नेपालका कालीगढहरुले आज भव्यरुपमा विश्वकर्मा बाबाको पूजा गरी उहाँको विद्वताको सम्मान गर्छन् । यसो गरेमा आफूमा विश्वकर्माको गुण प्राप्त हुने विश्वास गरिन्छ । यस विश्वासमा आज इन्जिन जडान भएका यन्त्र सवारीसाधनमा समेत पूजा आराधना गरिन्छ । वास्तुका शास्त्रका पुस्तकका लेखक एवं अध्येताको सम्झनामा आजको दिनलाई वास्तुविद्हरुले वास्तु दिवसका रुपमा मनाउने गर्छन् । पछिल्लो समय नेपालमा वास्तु विद्याको पुनर्जागरण सुरु भएको छ । चार उपवेदमध्येको एक स्थापत्यवेदमा वास्तु शास्त्रकै विषय उल्लेख गरिएको छ । लुप्त प्रायः भएको स्थापत्य वेदमा आधारित सहर एवं आवास निर्माण गर्नेको सङ्ख्या बढ्न थालेको छ । यसैले गर्दा अहिले वास्तु विद्याको महत्व बढेको छ ।
जेनजी आन्दोलनमा ज्यान गुमाउनेहरूको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
काठमाडौं । जेनजी पुस्ताको आन्दोलनमा ज्यान गुमाउनेहरूको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । पोस्टमार्टम सकिएसँगै ज्यान गुमाएका शहीदहरुको त्रिवि शिक्षण अस्पतालबाट शवयात्रा गरी पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । शव यात्रामा गृहमन्त्री एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्याल, उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङ लगायतको उपस्थिति रहेको थियो । द्वय मन्त्रीहरूले मृतकको पार्थिव शरीरमाथि राष्ट्रिय झण्डा ओढाएर सम्मान गरे । आन्दोलनमा ७० जना भन्दा बढीले ज्यान गुमाएका छन् । सशस्त्र प्रहरी बलले मृतकलाई सलामी अर्पण गरी सम्मान व्यक्त गरेका छन् । सरकारले आन्दोलनमा मृत्यु हुनेहरुलाई शहीद घोषणा गरी जनही दश लाख नगद राहत स्वरुप प्रदान गर्ने घोषणा गरेको छ ।
निर्वाचनका लागि प्रारम्भिक तयारी सुरु
काठमाडौं । प्रतिनिधिसभा विघटन भई आगामी फागुन २१ गते निर्वाचनको मिति घोषणा भएपछि निर्वाचन आयोगले प्रारम्भिक तयारीका काम सुरु गरेको छ । यसअघि आगामी कात्तिक १७ गतेका लागि निर्धारित रुपन्देही निर्वाचन क्षेत्र नं ३ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनसम्बन्धी सम्पूर्ण कार्यक्रम रद्द गरी मध्यावधि निर्वाचनका लागि आयोगले प्रारम्भिक तयारी सुरु गरेको हो । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचन घोषणासँगै सरकारसँगको औपचारिक परामर्श र अन्य व्यवस्थापकीय तयारी तथा योजना तर्जुमा सुरु भएको बताए । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निर्वाचनका लागि आवश्यक पर्ने रकमको प्रबन्ध हुनेगरी बजेट परिमार्जित गर्ने घोषणा गरिसकेका छन् । यही भदौ २३ २४ गते भएको ‘जेनजी पुस्ता’को आन्दोलन र यसबाट उत्पन्न परिस्थितिका कारण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई यही भदौ २७ गते प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । सोही दिन प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी आगामी फागुन २१ गतेका लागि निर्वाचन घोषणा गरेका थिए ।