लुटपाट गरेको दुई लाख नगद र सुनचाँदी फिर्ता

नेपालगन्ज । बाँकेको कोहलपुर नगरपालिका–११ स्थित राजस्व अनुसन्धान कार्यालयमा भएको आगजनीपछि लुटपाट गरिएको नगद रकम, सुन र चाँदी फिर्ता गरिएको छ ।  राजस्व अनुसन्धान कार्यालय कोहलपुरबाट लुटपाट गरिएको दुई लाख ५२ हजार रुपैयाँ नगद, ४२१ ग्राम सुन तथा नौ किलो चाँदी कोहलपुरका जनप्रतिनिधि, समाजसेवीको पहल तथा इलाका प्रहरी कार्यालय कोहलपुरको सक्रियतामा फिर्ता गरिएको इप्रका, कोहलपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी खनालले जानकारी दिए । राजस्व अनुसन्धान कार्यालयबाट लुटिएको रकम र सुनचाँदीमध्ये सोमबार एक लाख १७ हजार र ८४ हजार रुपैयाँ भारतीय रुपैयाँ इलाका प्रहरी कार्यालय, कोहलपुरमा फिर्ता गरेको उनले बताए । उक्त रकम, सुन र चाँदी पीडित परिवारलाई फिर्ता गरिएको छ ।  ‘जेनजी पुस्ता’को आन्दोलनका क्रममा जिल्लाका अधिकांश सरकारी कार्यालयमा आगजनी र लुटपाट भएको थियो । प्रहरीले आइतबार पनि कोहलपुर नगरपालिका–२ बाट सात लाख ६६ हजार रुपैयाँसहित कोहलपुर–५ का १९ वर्षीय प्रयास लम्साल, २० वर्षीय युवल बलायर र नेपालगन्ज उपमहानगरपालिका–१८ का २६ वर्षीय ऋषिकेश मिश्रलाई पक्राउ गरेको थियो ।  

मन्त्री आवासको प्रारम्भिक क्षति विवरण सङ्कलन सुरु

ललितपुर । ललितपुर महानगरपालिका–१८ भैँसेपाटीस्थित सङ्घीय मन्त्री आवास, प्रदेश प्रमुख र मुख्यमन्त्री आवासमा जेनजी आन्दोलनका क्रममा भएको आगजनीपछि प्रारम्भिक क्षति विवरण सङ्कलन सुरु भएको छ । सङ्घीय सचिवालयका अनुसार भदौ २४ गतेको घटनामा क्षति पुगेका संरचनाको विवरण एक हप्ताभित्र तयार हुने अनुमान गरिएको छ । सचिवालयका सुपरिटेन्डिङ इञ्जिनियर चक्रवती कण्टका अनुसार प्रारम्भिक विवरण सङ्कलन अघि बढाइएको हो । भैँसेपाटीस्थित ९६ रोपनी १० आना क्षेत्रफलमा निर्माण गरिएका सङ्घीय मन्त्री, राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष र प्रतिनिधिसभाका उपसभामुखका लागि बनेका २७ वटा अत्याधुनिक सुविधासम्पन्न भवन पूर्ण रूपमा जलेका छन् । गत असारमा मात्र मन्त्रीहरू सो आवासमा सरेका थिए । त्यसैगरी, २७ रोपनी १२ आना क्षेत्रफलमा सातै प्रदेशका प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि बनेका सम्पर्क कार्यालयमा पनि आगजनी भएको छ । हाल भैँसेपाटीस्थित ती सङ्घीय मन्त्री आवास र प्रदेश सम्पर्क कार्यालयमा नेपाली सेनाले सुरक्षा दिएको छ । आवास क्षेत्रमा बस्ने परिवारका सदस्यलाई मात्र परिचयपत्र देखाएर भित्र प्रवेश दिइएको छ । सङ्घीय सचिवालयले क्षति विवरण नआएसम्म सरसफाइलगायतका कार्य अघि नबढाइने जनाएको छ ।

शिवम् सिमेन्टले जिल्ला प्रशासन कार्यालयमा गर्‍यो सरसफाई

काठमाडौं । हालैको जेनजी आन्दोलन पश्चात काठमाडौंमा भएको आगजनी तथा तोडफोडका कारण उत्पन्न अव्यवस्था व्यवस्थापनका लागि शिवम् सिमेन्टले सरसफाई अभियान सञ्चालन गरेको छ । कम्पनीले सोमबार जिल्ला प्रशासन कार्यालय, काठमाडौंसँग समन्वय गर्दै कार्यालय परिसरमा सरसफाई गर्नुका साथै दैनिक कार्य सञ्चालन सहज बनाउन आवश्यक फर्निचरसमेत हस्तान्तरण गरेको जनाएको छ । शिवम् सिमेन्टका अनुसार वर्तमान विषम परिस्थितिमा सहयोग र श्रमदानमार्फत समुदायलाई साथ दिइरहेको छ र आगामी दिनमा समेत निरन्तर सरसफाई तथा श्रमदान कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ । 'समुदाय र शहरको पुनर्निर्माणका लागि सहयोग गर्नु हाम्रो कर्तव्य हो । काठमाडौंलाई सफा, व्यवस्थित र सुरक्षित बनाउन निरन्तर योगदान गर्नेछौं,' कम्पनीले विज्ञप्तिमा उल्लेख गरेको छ ।