दाङको तुलसीपुर कारागारबाट भागेका ४० कैदीबन्दी पक्राउ
तुलसीपुर । यहाँको तुलसीपुर कारागारबाट भागेका ४० कैदीबन्दीलाई पक्राउ गरिएको छ । सेनाको सहयोगमा उनीहरूलाई पक्राउ गरिएको कारागार कार्यालय तुलसीपुरका प्रमुख गिरबहादुर सेजुवालले जानकारी दिए । आज र हिजो कारागारबाट कैदीबन्दी भागेका थिए । आज बिहान मात्रै २५३ कैदीबन्दी भागेका थिए । तीमध्ये ४० जनालाई पक्राउ गरिएको हो । आज भागेका मध्ये २१३ र हिजो भागेका १२४ गरी ३३७ जना अझै फरार रहेको उनले बताए । भाग्नेहरू सबै पुरुष कैदी हुन् । कारागारमा जम्मा ४६९ कैदीबन्दी थिए । तीमध्ये महिला कैदीहरु भने भागेका छैनन् । कैदीहरूले कारागार तोडफोड गरी भागेका थिए । सेनाले हवाई फायर गर्दागर्दै पनि उनीहरू भाग्न सफल भएका थिए ।
धादिङ कारागारबाट कैदी भाग्न थालेपछि सेनाले चलायो गोली, १ जनाको मृत्यु, ७ घाइते
काठमाडौं । जिल्ला कारागार धादिङमा कैदीबन्दीहरूले आगजनी गर्दै भाग्ने प्रयास गरेपछि नेपाली सेनाले गोली प्रहार गरेको छ । सेनाको गोली लागेर अन्दाजी ७५ वर्षीय एक पुरुषको मृत्यु भएको छ । धादिङ अस्पतालका अनुसार घटनामा घाइते भएका दुई जनाको अवस्था गम्भीर छ भने पाँच जनालाई सामान्य चोटपटक लागेको छ । प्रहरीका अनुसार आन्दोलनरत कैदीहरूले कारागार तोडेर भाग्न खोजेपछि नियन्त्रणका लागि नेपाली सेनाले गोली चलाउन बाध्य भएको हो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जेनजी आन्दोलनको पृष्ठभूमिमा बुधबार नख्खु कारागारबाट रिहा भएपछि देशभरका कैदीबन्दीहरू आन्दोलित बनेका छन् । उनीहरूले ‘रविलाई छाडिएको छ, अब हामीलाई पनि छाड्नुपर्छ’ भन्ने मागसहित जेल तोड्ने प्रयास गरिरहेका छन् । धादिङ कारागारका कैदीहरूले पनि रविको रिहाइलाई उदाहरण दिँदै जेल तोड्ने प्रयास गरेका थिए । बुधबार बिहानैदेखि कारागार परिसर तनावग्रस्त बनेको थियो । कारागारभित्रै कैदीबन्दीहरूले आगजनी गरेका थिए भने बाहिर पनि भिड जम्मा भई हुलदङ्गा सुरु भएको थियो । यद्यपि, परिसरबाहिर सुरक्षाकर्मीहरू बाक्लो रूपमा तैनाथ थिए। कारागारको छतमा समेत सुरक्षाकर्मीले तुरुन्तै मोर्चा सम्हालेका थिए । मंगलबार रातिदेखि नै नेपाली सेनाको ठूलो टोली कारागार सुरक्षार्थ तैनाथ गरिएको थियो । सेनाले अहिले पनि कारागार परिसरको सुरक्षा सम्हालिरहेको छ ।
जेलबाट भागेका कैदी पक्राउ गर्दै रौतहट प्रहरी
चन्द्रपुर । मङ्गलबार राति गौर कारागारबाट फरार रहेका कैदीलाई जिल्ला प्रहरी कार्यालय रौतहटले धमाधम पक्राउ गरिरहेको छ । कारागार भत्काएर भागेका १३ जना कैदीलाई बुधबार बिहान सीमा क्षेत्रबाट पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी विनोद खड्काले जानकारी दिए । उहाँका अनुसार एक सय ९१ कैदी रहेको सो कारागारभित्र अहिले ६१ जना छन् । प्रजिअ खडकाले अन्य कैदीहरूको पनि खोजीकार्य भइरहेको बताए । उनका अनुसार अहिले जिल्लाको सहरी क्षेत्रमा नेपाली सेना खटेपछि वातावरण शान्त बनेको छ । मङ्गलबार जेनजीका प्रदर्शनकारीले चन्द्रपुर नगरपालिका, इलाका प्रहरी कार्यालय, डिभिजन सडक कार्यालय, डिभिजन वन कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालयको भवन आगलागी गरेर पूर्ण रुपमा क्षति पुर्याएका प्रजिअ खड्काले जानकारी दिए । चन्द्रनिगाहपुरमा प्रदर्शनकारीले रौतहट घर भएका सङ्घीय सांसद देवप्रसाद तिमलसिना, रौतहट घर भएका प्रदेशसभा सदस्य युवराज भट्टराई, नगरप्रमुख सञ्जयकुमार काफ्ले, रौतहटका सहायक प्रमुख जिल्ला अधिकारी किरणनिधि तिवारी, नेपाल कम्युनिष्ट पार्टी ९एमाले० चन्द्रपुर नगर कमिटी कार्यालयको घरमा समेत आगो लगाएका छन् । त्यस्तै गौर नगरपालिकाको कार्यालय, एमाले, नेपाली कांग्रेसलगायत दलका कार्यालयमा समेत आगजनी गरेका थिए । रासस