डिल्लीबजार कारागारबाट कैदीबन्दी सार्ने तयारी

काठमाडौं । डिल्लीबजार कारागारमा कैदीबन्दीहरूले आगजनी गरेका छन् । आफूहरूलाई पनि बाहिर निस्कन दिनुपर्ने माग गर्दै कैदीहरूले आगजनी गरेको कारागार प्रशासनले जनाएको छ । कारागारमा आगो फैलिन थालेपछि कैदीबन्दीलाई अन्यत्र स्थानान्तरण गर्ने तयारी भइरहेको कारागार प्रशासक बाबुराम अर्यालले जानकारी दिए । उनका अनुसार अहिले कारागारभित्र आगोको मुस्लो देखिएको छ । आगजनी र तोडफोडपछि कारागार परिसरमा सुरक्षाकर्मी परिचालन गरिएको र स्थिति नियन्त्रणमा लिन प्रयास भइरहेको प्रशासनले जनाएको छ ।

देशभर कर्फ्यू आदेश, बिहीबार बिहान ६ बजेसम्म जारी रहने

काठमाडौं । नेपाली सेनाले देशभर कर्फ्यू आदेश जारी गरेको छ । देशको समग्र शान्ति–सुरक्षा अवस्थालाई मध्यनजर गर्दै आदेश लागू गरिएको सेनाले जनाएको छ । आजका लागि साँझ ५ बजेसम्म कर्फ्यू रहने र त्यसपछि पनि निरन्तर भोलि बिहान ६ बजेसम्म आदेश जारी रहने सेनाको विज्ञप्तिमा उल्लेख छ । सेनाले आन्दोलनको नाममा अराजक व्यक्ति र समूहले सार्वजनिक तथा व्यक्तिगत सम्पत्ति तोडफोड, आगजनी र लुटपाटजस्ता गतिविधि गर्दै आएको भन्दै यसलाई नियन्त्रण गर्न कर्फ्यू आदेश जारी गरिएको स्पष्ट पारेको छ । यस्तै, व्यक्ति लक्षित हिंस्रक आक्रमण तथा बलात्कार प्रयासजस्ता आपराधिक गतिविधि हुने वा हुनसक्ने सम्भावना पनि रहेको सेनाले जनाएको छ । आन्दोलनका नाममा हुने कुनै पनि प्रदर्शन, तोडफोड, लुटपाट, आगजनी तथा आक्रमणलाई दण्डनीय अपराध मानी कडा कारबाही गर्ने चेतावनी सेनाले दिएको छ । निषेधाज्ञा तथा कर्फ्यू अवधिमा एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीका सवारीसाधन सञ्चालनमा कुनै रोकताेक नहुने जनाएको छ । आवश्यक परे नजिकका सुरक्षाकर्मीसँग समन्वय गर्न पनि सेनाले अनुरोध गरेको छ । यस्तै, सम्पूर्ण अवकाशप्राप्त सैनिक, सुरक्षाकर्मी, राष्ट्रसेवक, सञ्चारकर्मी तथा आम नागरिकलाई अफवाहमा नलागी आधिकारिक सूचनामा मात्र विश्वास गर्न सेनाले आग्रह गरेको छ । राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राख्दै जनजीवन सामान्य बनाउन सेनाले निरन्तर दायित्व निर्वाह गर्ने विश्वास व्यक्त गरेको छ ।

काठमाडौं उपत्यकाको जनजीवन क्रमशः सामान्य बन्दै

काठमाडौं । काठमाडौं उपत्यकाको जनजीवन क्रमशः सामान्य बन्दै गएको छ । नेपाली सेनासहितका सुरक्षा फौज देशमा शान्तिसुरक्षा कायम गर्न परिचालन भएपछि यहाँको जनजीवन क्रमशः सामान्य बन्दै गएको हो । साथै नेपाली सेनाले अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कन सर्वसाधारणलाई अनुरोध गरेको छ ।  ऐतिकासिक, सामाजिक, सांस्कृतिक, धार्मिकस्थल तथा व्यक्तिगत सम्पत्तिको सुरक्षामा सबै सुरक्षा निकाय तैनाथ भएकाले अवाञ्छित गतिविधि हुन लागेको जानकारी पाएमा तत्काल  सुरक्षा फौजलाई खबर सेनाले पुनः आग्रह गरेको छ ।  हाल यहाँका सडकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ ।  यद्यपि मानिस र सवारीसाधनको उपस्थिति न्यून छ । प्रदर्शनकारीले सार्वजनिक र निजी सम्पत्तिमा झोसेको आगो निभाउने प्रयासमा सुरक्षाकर्मी छन् ।