उपत्यकाको सुरक्षा व्यवस्थामा कडाइ
काठमाडौं । काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्थालाई कडा पारिएको छ । साथै सुरक्षा निकायलाई ‘हाइअलर्ट’ हुन निर्देश गरिएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले देशभरका सुरक्षा निकायलाई सुरक्षा व्यवस्था कडा पार्न र शान्ति सुव्यवस्था खलल हुन नदिन निर्देशन दिइएको जानकारी दिए । जिल्ला सुरक्षा समितिमार्फत समन्वयात्मक रूपमा सुरक्षा व्यवस्था कडा पार्न सबै सुरक्षा निकायलाई भनिएको गृह मन्त्रालयले जानकारी दिएको छ । जेनजी पुस्ताको सोमबार भएको प्रदर्शनमा झडप समेत थियो । उपत्यकाका तीनै जिल्ल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा निश्चित क्षेत्र तोकेर निषेधाज्ञ जारी गरिसकिएको छ । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले काठमाडौंलगायत देशका विभिन्न भागमा भएको घटना र मानवीय क्षतिप्रति दुःख व्यक्त गरे । उनले यस विषम अवस्थामा सम्पूर्ण युवा विद्यार्थी, अभिभावक, शिक्षक, नागरिक समाज साथै सरोकार भएकाले संयमता र धैर्यता अपनाउन र शान्ति कायम गर्न आग्रह पनि गरेका छन् ।
काभ्रेपलाञ्चोकमा पनि लगाइयो कर्फ्यु
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा पनि कर्फ्यु आदेश जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार मंगलबार दिउँसो करिब १२:१५ बजेदेखि कर्फ्यु लागू भएको हो । बिहानैदेखि प्रदर्शन उग्र बन्दै गएपछि स्थिति नियन्त्रणमा लिन प्रशासनले कर्फ्यु जारी गरेको जनाएको छ। कर्फ्यु लागू भएपछि काभ्रे हुँदै चल्ने राजमार्गहरू पूर्णरूपमा बन्द भएका छन् । सुरक्षा निकायलाई सतर्क रहन निर्देशन दिइएको छ ।
रुपन्देहीमा निषेधाज्ञा जारी
भैरहवा । रुपन्देही जिल्ला प्रशासन कार्यालयलले जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालयले आज बिहान ९ः३० बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा लागू गरेको हो । स्थानीय प्रशासन ऐन, २०२८ (संशोधनसहित) को दफा ६ को उपदफा ३ (क) बमोजिम प्रमुख जिल्ला अधिकारी टोकराज पाण्डेद्वारा जारी आदेशमा निषेधाज्ञा लागू भएको क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति एकै ठाउँमा भेला हुन नपाइने उल्लेख छ । यसैगरी अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन र सभाजस्ता विरोधका कार्यक्रम गर्न पूर्ण रूपमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालयले यस आदेशको पालना नगर्ने वा अवरोध पुर्याउने जोकोहीलाई पनि प्रचलित कानुनबमोजिम कारबाही गरिने जानकारी दिएको छ ।