प्रचण्डकी छोरी गंगाको घरमा आगजनी
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहालको घरमा आगजनी भएको छ । जेनजी युवाहरूको समूहले ललितपुर महानगरपालिका–२६ स्थित सुनाकोठीमा रहेको गंगा दाहालको घरमा आगजनी गरेका हुन् । उग्र बनेका युवाहरूले घरभित्र पार्किङमा राखिएको बीवाईडीको गाडीमा समेत आगजनी गरी नष्ट गरेका छन् । सोमबार ‘जेनजी’ आन्दोलनका क्रममा प्रहरीले गरेको दमनमा १९ जनाको मृत्यु र ४०० भन्दा बढी घाइते भएपछि आज बिहानदेखि प्रदर्शन झन् आक्रामक बनेको हो। राजधानी काठमाडौंसहित देशका विभिन्न सहरमा प्रदर्शनकारीहरूले नेताहरूको घर, पार्टी कार्यालय र प्रहरी कार्यालयलाई निशाना बनाउँदै विरोध जारी राखेका छन् ।
सिंहदरबारभित्रै छिरे प्रदर्शनकारी
काठमाडौं । राजधानीमा जारी ‘जेनजी’ आन्दोलन आज थप आक्रामक बन्दै गएको छ । मंगलबार बिहानैदेखि आन्दोलनरत प्रदर्शनकारीहरू केहीबेरअघि सिंहदरबारको मुख्य गेट तोड्दै भित्र प्रवेश गरेका छन् । सोमबारदेखि सुरु भएको प्रदर्शन आज पनि काठमाडौंसहित देशका विभिन्न ठूला शहरमा निरन्तर भइरहेको छ । प्रदर्शनकारीहरूले शीर्ष नेताहरूका घर, पार्टी कार्यालय र प्रहरी कार्यालयहरूमा लगातार ढुंगामुढा र तोडफोड गर्दै विरोध जारी राखेका छन् । उग्र आन्दोलनका कारण देशका मन्त्रीहरूलाई नेपाली सेनाको हेलिकप्टरमार्फत सुरक्षित स्थानमा सारिएको छ । सुरक्षा निकायले सिंहदरबार वरपर कडा निगरानी बढाए पनि प्रदर्शनकारीहरूको भीड नियन्त्रणमा आउन सकेको छैन ।
मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहले दिए राजीनामा
काठमाडौं । मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामा दिएका छन् । जनमतका अध्यक्ष डा. सीके राउतको निर्देशनमा उनले राजीनामा दिएका हुन् । यसअघि कृषिमन्त्री रामनाथ अधिकारीले पनि राजीनामा दिने घोषणा गरिसकेका छन् । कांग्रेस नेता शेखर कोइरालाले आफू निकट मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिइसकेका छन् ।