मनमैजुबाट १० लाख बराबरका गरगहना चोरी
काठमाडौं । तारकेश्वर नगरपालिका–९ मनमैजुस्थित एक घरबाट करिब १० लाख रुपैयाँ बराबरका गरगहना चोरी भएको छ । नर्थपोल स्कुल नजिकै रहेको तीनतले पक्की घरको पहिलो तलामा डेरा गरी बस्ने ६० वर्षीय एक पुरुषको कोठामा मंगलबार दिउँसो चोरी भएको हो । प्रहरीका अनुसार बिहान करिब ११ बजेतिर ढोकाको ताला फोडेर चोरी गरिएको थियो । चोरी भएको सामानमध्ये सुनको सिक्री, औंठी, बाला, मंगलसूत्र र नगद २ लाख ३० हजार रुपैयाँसहित जम्मा करिब १० लाख बराबरको सम्पत्ति रहेको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
उपेन्द्र यादवको प्रश्न : दासढुंगा र दरबार हत्याकाण्ड कसले गरायो ?
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले नेपालमा कतिपय घटना रहस्यमय घटनाको रुपमा रहन पुगेको बताएका छन् । अध्यक्ष यादवले दरबार हत्याकाण्ड, दासढुंगा काण्ड कसले गरायो भन्ने प्रश्न अझै अनुत्तरित रहेको बताएका हुन् । उनी भन्छन्, ‘कतिपय कुराहरु नेपालमा रहस्यमय छ । दरबार हत्या काण्ड कसले गरायो ? दासढुंगा काण्ड कसले गरायो ? धेरै कुराहरु अझै पनि अज्ञान नै रहेको छ ।’ दरबार हत्याकाण्डबारे अध्यक्ष यादव प्रश्न गर्छन, ‘देशको राष्ट्र प्रमुख, त्यो पनि त्यत्रो सुरक्षाभित्र घटना घट्यो, कसरी घट्यो । कसले घटायो ?’ नेपालमा कसैले सोच्दै नसोचेको र चिताउँदै नचिताएका घटनाहरु हुने गरेको उनको भनाइ छ । उनी भन्छन्, ‘यो मुलुकमा कसैले सोच्दै नसोचेको, चिताउँदै नचिताएका कुराहरु पनि हुँदो रहेछ । अनुमानको आधारमा कसैले कसैमाथि आरोप लगाउन त सजिलो कुरा हो । तर त्यसको अनुसन्धान त भइसकेको छ नी । एउटा होइन, चार-चार वटा राष्ट्रसंघीय संस्थाहरुले समेत आएर अनुसन्धान गरिसक्यो, प्रतिवेदन दिइसक्यो । यो कुनै नयाँ कुरा त होइन ।’ गौरको घटनामा आफ्नो कुनै संलग्नता नरहेको पनि उनको दाबी छ । ‘त्यहाँ माओवादीका छापामारले आक्रमण गर्दा त हाम्रा मान्छे भागिसेकेका थिए । उनीहरू हतियारसहित थिए, हाम्रा मान्छेसँग केही थिएन’, उनले भनेका छन्, ‘तर बिसौं हजार जनता गाउँका थिए ।’ गौर नरसंहारको छानविन अघि बढाउन भन्दै सर्वोच्च अदालतले भदौ २ गते आदेश दिएको थियो । गौर नरसंहारका घाइतेमध्येका एक त्रिभूवन साह लगायतले दायर गरेको रिट निवेदनमाथिको सुनुवाइपछि सर्वोच्चले यो फैसला गरेको हो । २०६३ को चैत्र ७ गते रौटहटको गौरस्थित राईसमिलको चौरमा भएको झडपमा माओवादीका २७ जना कार्यकर्ता मारिएका थिए भने सयभन्दा बढी घाइते भएका थिए । त्यो दिन मधेसी जनअधिकार फोरम र माओवादीले एकै समयमा एकै ठाँउ कार्यक्रम आयोजना गरेका थिए ।
काठमाडौं जिल्ला रेडक्रसको सभापतिमा पुनः डोटेल निर्वाचित
काठमाडौं । काठमाडौं जिल्ला रेडक्रसको कार्यसमिति सभापतिमा श्यामकाजी डोटेल पुनः निर्वाचित भएका छन् । शाखाको ४५ औं अधिवेशनले डोटेलको नेतृत्त्वमा पुनः नयाँ कार्यसमिति चयन गरेको हो । शाखाको उपसभापतिद्वयमा विष्णुमान मानन्धर, अञ्जना श्रेष्ठ मास्के, मन्त्रीमा बृदिमान शाक्य, कोषाध्यक्षमा लक्ष्मीरत्न तुलाधर, उपमन्त्रीमा नवराज भण्डारी, उपकोषाध्यक्षमा सर्मिला श्रेष्ठ राजभण्डारी निर्वाचित भएका हुन् । यसैगरी सदस्यमा अमृत नारायण मानन्धर, रजेन्द्र प्रसाद श्रेष्ठ, लक्ष्मी प्रसाद कुइँकेल, विदुर राज भट्टराई, नवराज काफ्ले, विदुर राज उप्रेती, इश्वर लामा, मञ्जु अर्याल खतिवडा, गोमा बराल, लक्ष्मी कार्की खड्का, निर्वाचित भएका छन् ।