अब शंका वा अनुमानका आधारमा भिजिट भिसामा जाने यात्रुलाई नरोकिने
काठमाडौं । अध्यागमन विभागले सुरक्षित, मर्यादित र व्यवस्थित वैदेशिक यात्राका लागि विभिन्न सात पक्षलाई अनुरोध गरेको छ । विभागले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै अध्यागमन प्रक्रियामा अनियमितता तथा भ्रष्टाचारप्रति शून्य सहनशीलता नीति रहेको भन्दै अध्यागमन प्रणालीलाई व्यवस्थित गर्न सात पक्षलाई आग्रह गरेको हो। पत्रकार सम्मेलनमा बोल्दै विभागका महानिर्देशक रामचन्द्र तिवारीले अध्यागमन प्रक्रियाको सुधारका लागि यात्रु, वायुसेवा कम्पनी, स्थानीय तह र सञ्चारमाध्यम, विदेशस्थित कुटनैतिक नियोग, ट्राभल्स तथा मुद्रा सटही कारोबार गर्ने संस्थाहरुलाई आ-आफ्नो जिम्मेवारी निर्वाह गर्न आग्रह गरे । उनले अबदेखि कुनै पनि नेपाली नागरिकलाई केवल अनुमान, शंका वा हैसियतको आधारमा विदेश जान रोकिने नरोकिने प्रतिवद्धता समेत व्यक्त गरे । यद्यपि फर्जी वा नक्कली कागजात प्रयोग गरी प्रस्थान गर्न खोज्ने यात्रुलाई प्रस्थान अनुमति नदिइने मात्र नभई नेपाल प्रहरीमार्फत कानुनी कारबाही गरिने चेतावनी समेत दिए । महानिर्देशक तिवारीले यात्रामा जानुअघि वैध राहदानी, भिसा, दुईतर्फी हवाई टिकट, होटल बुकिङ वा आफन्तसँग बस्ने प्रमाण, डलर सटही र आवश्यक कागजात अनिवार्य रुपमा लिन यात्रुहरूलाई अनुरोध समेत गरे। उनले दलाल वा विचौलियाको प्रलोभनमा परी अवैधानिक बाटोबाट विदेश नजान र अध्यागमन प्रक्रियामा रकम मागिएमा तुरुन्तै विभाग, प्रहरी वा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई जानकारी दिन समेत आग्रह गरे। उनले वायुसेवा कम्पनीलाई समेत यात्रुहरूलाई प्रस्थान समयभन्दा कम्तीमा एक घण्टा अगाडि अध्यागमनको ‘स्टेरेलाइज्ड एरियामा पठाउन, अत्यधिक ओभरबुकिङ नगर्न र बोर्डिङ पास दिन नसक्ने अवस्थामा यात्रुलाई लिखित जवाफ दिन अनुरोध गरे । महानिर्देशक तिवारीले स्थानीय तह र जिल्ला प्रशासन कार्यालयलाई दलाल–बिचौलियाबाट नागरिकलाई सचेत गराउन र ठगी गर्ने समूहविरुद्ध निगरानी तथा कारबाही अभियान सञ्चालन गर्न आग्रह गरे । उनले सञ्चारमाध्यमलाई वैदेशिक यात्रा सम्बन्धी झुट्टा विवरण, फर्जी कागजात र दलालका गतिविधिबारे जिम्मेवारपूर्वक जानकारी प्रसार गरी जनतालाई सचेत बनाउन विभागले अपील पनि गरे ।
बीमा बजार विकास र पहुँच विस्तारका लागि नेपाल बीमा प्राधिकरणको कार्यक्रम सम्पन्न
काठमाडौं । नेपाल बीमा प्राधिकरणद्वारा बीमाङ्कीय मूल्याङ्कन, बीमालेख डिजाइन तथा मूल्य निर्धारण लगायत समसामयिक विषयमा परामर्शदाता बीमाङ्कीसँग आयोजित तीनदिने अन्तक्रिर्या कार्यक्रम शुक्रबार (साउन ३० गते) ललितपुरमा सम्पन्न भएको छ । कार्यक्रममा परामर्शदाता बीमाङ्की शुभ्रमन्यम कोल्लिमार्लाले बीमाङ्कीय मूल्याङ्कन, बीमालेख डिजाइन, मूल्य निर्धारण, आईएफआरएस–१७ कार्यान्वयन र एक्चुअरीहरूको नियुक्ति सम्बन्धमा प्रस्तुती दिएका थिए । उनले नेपालमा बीमाको पहुँच बढाउनका लागि बीमालेखमा विविधता ल्याउनुपर्ने, विभिन्न उमेर समूहलाई बीमाको दायरामा ल्याउने, नवीनतम् बीमा प्रणाली विकास गर्ने, दक्ष जनशक्ति र पूर्वाधार विकास आवश्यक रहेको तथा बीमा सचेतना अभिवृद्धिमा जोड दिनुपर्ने सुझाव प्रस्तुत गरे । कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै कोल्लिमार्लाले बीमाको पहुँच बढाउन नागरिकको आर्थिक अवस्था अनुसार बीमालेख निर्माण, बीमा शिक्षाको विस्तार, र बीमा सेवा ९दाबी भुक्तानीसम्म० चुस्तदुरुस्त हुनुपर्ने आवश्यकता औँल्याए । कार्यक्रमको पहिलो दिन परामर्शदाता बीमाङ्की र नेपाल बीमा प्राधिकरणका कर्मचारीबीच नियामकीय दृष्टिकोणमा छलफल भयो भने दोस्रो दिन बीमकका प्रोडक्टरभ्यालुएसन विभाग प्रमुखहरूसँग बीमाङ्कीय दृष्टिकोणमा अन्तक्रिर्या सम्पन्न भयो । अन्तिम दिन नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदी र निर्देशक पूजन ढुङ्गेल अधिकारीको उपस्थितिमा परामर्शदाता बीमाङ्की कोल्लिमार्ला र बीमकका प्रमुख कार्यकारी अधिकृतबीच नेपालमा बीमाको पहुँच बढाउने विषयमा छलफल भएको थियो । कार्यक्रमका क्रममा कार्यकारी निर्देशक सुवेदीले बीमाङ्कीय मूल्याङ्कन, जोखिममा आधारित पूँजी, सोल्भेन्सी, बीमा बजारका समस्या र अपेक्षा सम्बन्धी राय सुझाव लिन उद्देश्या राखिएको बताए भने निर्देशक ढुङ्गेलले बीमा बजारको विकास र पहुँच वृद्धि गर्ने साझा उद्देश्य हासिल गर्न अझ परिस्कृत ढंगले अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याए । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कर्मचारी, जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी, पुनर्बीमा कम्पनी, लघु जीवन तथा लघु निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता रहेको थियो । कार्यक्रम साउन २८ देखि ३० गतेसम्म सञ्चालन भएको थियो ।
प्रादेशिक अस्पताल सिरहा : ‘डायलाइसिस’ सेवा लिन दिनहुँ २० जना बिरामी पालो पर्खिनुपर्ने बाध्यता
सिरहा । प्रादेशिक अस्पताल सिरहामा डायलाइसिस सेवा लिनका लागि बिरामीको चाप अत्याधिक बढेको छ । अस्पतालले विगत तीनवर्षदेखि सो सेवा सञ्चालन गर्दै आएको छ । बिरामीको चाप वढेसँगै सेवा विस्तारका लागि स्रोत साधनको अभाव देखिएको छ । अस्पतालमा हाल १० डायलाइसिस उपकरण मार्फत सेवा दिइँदै आएको छ । अस्पताल प्रमुख डा सुनिलप्रसाद कुशवाहाका अनुसार दैनिक १० जना बिरामीले सेवा लिइरहेका भए तापनि अन्य कम्तीमा २० जना बिरामी दिनहुँ पालो पर्खिरहेका हुन्छन् । 'मिर्गौला प्रत्यारोपण सम्भव नभएको अवस्थामा डायलाइसिस नै एकमात्र अस्थायी समाधान हो । तर बिरामीको चापले गर्दा उपचारका क्रममा कोही बिरामीको मृत्यु भएपछि मात्र नयाँ बिरामीलाई पालो मिल्ने अवस्था छ', उनले भने । यस अस्पतालमा निःशुल्क डायलाइसिस सेवा दिइँदै आएको छ । निजी क्षेत्र वा अस्पताल बाहिर एक सत्रको डायलाइसिस सेवा रु सात हजारसम्म पर्न सक्ने हुँदा आर्थिक रूपमा कमजोर बिरामीका लागि सिरहा अस्पताल भरोसाको केन्द्र बनेको छ । यद्यपि सेवा प्रभावकारी भए पनि अस्पतालले ९८ प्रकारका आवश्यक औषधिको अभाव, रगत अभाव र उपकरण अभाव झेलिरहेको छ । डा कुशवाहाका अनुसार मधेस प्रदेश सरकारले करोडौँ मूल्यका उपकरण उपलब्ध गराए पनि अझै पनि डायलाइसिस सेवा सुदृढ बनाउन करोडौँ मूल्यका उपकरणको अभाव छ । हालको उपकरणको सङ्ख्या बिरामीको सङ्ख्या तुलनामा अपुग भएको र बिरामीलाई सेवा दिन थप उपकरण, जनशक्ति र औषधि आपूर्ति आवश्यक भएको अस्पताल प्रशासनले बताएको छ । रासस