दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मङ्सिरभित्र सम्पन्न गर्नेगरी चुस्त र प्रभावकारी तयारी गर्न युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्को नेतृत्वलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको छलफल प्रधानमन्त्री ओलीले आगामी सन् २०२६ मा जापानमा हुने एसियन गेमको पूर्वसन्धयामा आयोजना हुन लागेको राष्ट्रिय खेलकुदको तयारी थाल्न निर्देशन दिएका हुन् । उनले प्रतियोगिताको मिति र स्थान राम्रो अध्ययन गरेर निर्णय गर्न र निर्णय गरेपछि परिवर्तन नगर्न पनि आग्रह गरे । परिषद्का संरक्षकसमेत रहनुभएका प्रधानमन्त्री ओलीले मन्त्रालय र परिषद्को नेतृत्वबीच उचित समन्वय हुनुपर्नेमा पनि जोड दिएका थिए । छलफलमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, मन्त्रालयका सचिव डा हरिप्रसाद लम्साल, परिषद्का उपाध्यक्ष  ध्रुव आचार्य, सदस्यसचिव टङ्कलाल घिसिङलगायत सहभागी थिए ।  

सामाजिक सुरक्षा कोषको आवद्धता धनी बन्न होइन : महान्यायाधिवक्ता बडाल

काठमाडौं । महान्याधिवक्ता रमेश बडालले सामाजिक सुरक्षा कोषमा आवद्धता धनी बन्नका लागि नभएको स्पष्ट पारेका छन् । सामाजिक सुरक्षा कोषले आयोजना गरेको ‘सामाजिक सुरक्षा कोषमा वृहत आवद्धता अभियानको लागि सामाजिक सुरक्षा कोष र नेपाल बार एसोसिएसनबीच सम्झौतामा हस्ताक्षर कार्यक्रम’ मा महान्यायाधिवक्ता बडालले यस्तो बताएका हुन् ।  उनले सामाजिक सुरक्षा कोषमा गरेको योगदान बैंकमा जम्मा गरेको रकम वा सेयरमा गरेको लगानी जस्तो नभएको बताए । यसबाट रकम निकालेर कहिँ घरजग्गा वा अन्य व्यवसायमा लगानी गर्न नपाइने उनको भनाई थियो । सामाजिक सुरक्षा कोषमा गरेको लगानीले कसैलाई धनी पनि नबनाउने र रोग र भोकले मर्न पनि नदिने उनको स्पष्टोक्ति थियो ।  उनले भने, ‘कतिपय सन्भर्दमा साथीहरूको प्रश्न उठ्छ ल, यो त सेभिङ फण्ड हो कि त । मैले राखेको पैसा मैले रिटर्न पाउनुपर्छ  भन्ने छ । ‘सोसियल सेक्युरिटी फण्ड’ ले कसैलाई धनी बनाउन खोज्दैन । र यसले कसैलाई पनि भोक र रोगको कारणले मर्न दिँदैन । बैंकमा राखेको पैसा निकाले म घरजग्गा किन्छु भनेजस्तो सोसियल सेक्युरिटीमा गरेको कन्ट्रिब्युसन निकालेर म घरजग्गा किन्छु र स्वाट्टै यसको भाउ बढ्ला ।’ महान्यायाधिवक्ता बडालले सामाजिक सुरक्षा कोषलाई सामाजिक सुरक्षाकै रुपमा हेर्न र बचत वा लगानीको रुपमा नहेर्न पनि कानून व्यवसायीहरूसँग आग्रह गरे । नेपाल बार एशोसिएशन र सामाजिक सुरक्षा कोषबीच सम्झौता भएसँगै बारमा आवद्ध कानून व्यवसायीहरू सामाजिक सुरक्षा कोषमा आवद्ध भएका छन् । उनले बच्चा जन्मेदेखि हुने जोखिम र दुर्घटना वा अशक्तताको अवस्थामा सामाजिक सुरक्षा कोषले मद्दत गर्ने पनि स्पष्ट पारे । 

स्ववियु आरआर क्याम्पसले भलिबल प्रतियोगिता आयोजना गर्ने, विजेतालाई ३ लाख पुरस्कार

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) रत्न राज्य लक्ष्मी (आरआर) क्याम्पसले राष्ट्रियस्तरको अन्तरक्याम्पस पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । ‘सम्पूर्ण विद्यार्थीहरु एकजुट होऔं’ भन्ने नाराका साथ ‘आरआर स्ववियु कप-२०८२’ आयोजना गर्न लागिएको हो ।  आगामी भदौ २२ गतेदेखि सुरु हुने प्रतियोगिता ६ दिनसम्म चल्नेछ। भदौ २७ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिता आरआर क्याम्पसकै प्राङ्गणमा आयोजना गरिने स्ववियु अध्यक्ष लोकेश कुमार खड्काले जानकारी दिए । अध्यक्ष खड्काले भलिबलको माध्यमबाट विद्यार्थीहरूबीच आपसी सहकार्य, अनुशासन र एकता प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए । उनले भने, ‘यो प्रतियोगितामा देशभरका विभिन्न क्याम्पसका टोलीहरूले सहभागिता जनाउने अपेक्षा गरेका छौं ।  यसले विद्यार्थीमा नेतृत्व विकास र राष्ट्रिय एकताको सन्देश फैलाउन पनि महत्त्वपूर्ण भूमिका खेल्नेछ ।’ प्रतियोगिताको विजेता टोलीले ३ लाख रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै, दोस्रो हुने टोलीले २ लाख रुपैयाँसहित ट्रफी र प्रमाणपत्र तथा तेस्रो स्थान हासिल गर्ने टोलीले १ लाख रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागी हुन चाहने टोलीका लागि २० हजार रुपैयाँ दर्ता शुल्क तोकिएको छ । इच्छुक टोलीहरूले थप जानकारीका लागि आयोजकलाई ९८६५८६३२३५, ९८६०१३६६४२ वा ९८६८९०६६६८ नम्बरमा सम्पर्क गर्न सक्नेछन् ।  अध्यक्ष खड्काले विद्यार्थीहरूलाई पढाइसँगै खेलकुदमा पनि अग्रसर गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउँदै यसलाई सफल बनाउन सम्पूर्ण विद्यार्थी, शिक्षक, कर्मचारी तथा शुभेच्छुकहरूलाई सहयोग गर्न अपिल गरेका छन् ।