स्नेहाज केयरको आयोजनामा भेज फेस्ट सम्पन्न

ललितपुर । पशु कल्याणको क्षेत्रमा विगत एक दशकदेखि सक्रिय स्नेहाज केयरले आयोजना गरेको ‘काठमाडौं भेज फेस्ट’ भव्य रूपमा सम्पन्न भएको छ । उक्त फेस्टको उद्घाटन ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले गरेका थिए । कार्यक्रम काठमाडौंको बौद्धस्थित उत्पला रेस्टुरेन्टमा सम्पन्न भएको हो । स्नेहाज केयरले आयोजना गरेको यो पाँचौं भेज फेस्ट हो । उद्घाटन सत्रमा बोल्दै प्रमुख महर्जनले छैटौं भेज फेस्ट ललितपुरमै गर्ने घोषणा गरे । वनस्पतिमा आधारित जीवनशैलीको प्रवर्द्धन गर्न फेस्ट आयोजना गरिएको हो । उनले स्नेहाज केयरले समुदायमा रहेका कुकुरलगायत जनावरलाई आश्रय, उपचार र हेरचाह गरेर असाधारण कार्य गर्दै आएको भन्दै ललितपुर महानगरको तर्फबाट विभिन्न क्षेत्रमा सहयोग गरिएको बताए । पशु सेवा विभागका महानिर्देशक डा। रामनन्द तिवारीले पृथ्वीमा वनस्पति र प्राणी दुवैको भूमिका महत्वपूर्ण भएको उल्लेख गर्दै पशु अधिकार र कल्याणका लागि सम्बन्धित निकायबीच सहकार्य अपरिहार्य भएको बताए । स्नेहाज केयरकी प्रमुख स्नेहा श्रेष्ठले वनस्पतिमा आधारित परिकार र जीवनशैलीको प्रचारप्रसार गर्न फेस्ट आयोजना गरिएको जानकारी दिइन् । उनले भनिन्, 'स्वादका लागि हामीले अवोध प्राणीको हत्या गर्छौँ, त्यो किन गर्नुपर्ने ?' उनले मासुबाट मात्र पोषण प्राप्त हुन्छ भन्ने धारणा गलत भएको स्पष्ट पारिन् । भिगन जीवनशैलीले प्राणीको जीवन जोगाउने भएकाले सबैलाई यो शैली अपनाउन आग्रह गरिन् । साथै, पशु कल्याण ऐन तत्काल ल्याउनुपर्ने आवश्यकता पनि औँल्याइन् । उत्पला रेस्टुरेन्टका सञ्चालक दीपक बोहराले भिगन जीवनशैलीले प्राणीको बाँच्न पाउने अधिकारको संरक्षण गरेको बताए । उनले भने, 'पोषणका लागि प्राणीको हत्या आवश्यक छैन ।' स्नेहाज केयरले संचालन गरेको पशु अधिकार अभियानमा आबद्ध पाँच वटा विद्यालयलाई प्रमाणपत्र र मायाको चिनो प्रदान गरिएको थियो । यस्तै, पशु अधिकारसम्बन्धी उत्कृष्ट कविता लेख्ने विद्यार्थीहरूलाई पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको थियो । श्रेष्ठ एनिमल लभर श्याम महर्जनलाई पनि सम्मान गरिएको थियो । महोत्सवमा वनस्पतिमा आधारित खानाका परिकार, दिगो विकास र वातावरणमैत्री सामग्रीको प्रदर्शनी तथा विक्री, भिगन रेस्टुरेन्टहरू, भिगन सामग्रीका स्टलहरू राखिएका थिए । आयोजकका अनुसार महोत्सवमा १३ भन्दा बढी भिगन रेस्टुरेन्ट, भिगन परिकार उत्पादक, आकर्षक गरगहना, अर्गानिक कृषि उपज, हस्तकला सामग्री, पशु कल्याण संस्थाहरू, योग तथा दर्शनसम्बन्धी स्टल गरी ९० भन्दा बढी स्टलहरू राखिएका थिए । स्नेहाज केयरले सन् २०१७ देखि विरुवामा आधारित आहारको प्रवर्द्धन गर्ने कार्यक्रमहरू गर्दै आएको छ । स्वस्थकर खानपान शैलीको विकास, पशुप्रतिको क्रूरता अन्त्य गर्न फेस्ट महत्वपूर्ण हुने संस्थाले जनाएको छ । संगठनले विद्यालयहरूमा विरुवामा आधारित आहार, पशु कल्याण तथा मानवता सम्बन्धी कक्षा सञ्चालन गर्ने, विद्यालय क्यान्टिनका कुकलाई भिगन परिकार तालिम दिने, समुदाय स्तरमा महिलालाई गोष्ठी तथा तालिम दिने, रैथाने भेज खानाको प्रवर्द्धनका लागि फुड ब्लग र सामाजिक सञ्जालमार्फत प्रचार गर्ने र वार्षिक फेस्ट आयोजना गर्दै आएको छ । विसं २०७२ मा ललितपुर महानगरपालिका–२१ मा स्थापना भएको स्नेहाज केयरले विगत १० वर्षदेखि पशु कल्याणका क्षेत्रमा विविध कार्य गर्दै आएको छ । संस्थाले पशुपंक्षीहरूको उद्धार, उपचार र पुनःस्थापना, सामुदायिक कुकुरहरूको बन्ध्याकरण, रेविजविरुद्धको खोप अभियान, बेवारिसे गाई–बाच्छाको उद्धार, अव्यवस्थित पशु ढुवानी रोक्न कार्यक्रम तथा हिमाली क्षेत्रका भारवाहक जनावरको कल्याणका कार्यक्रम समेत सञ्चालन गर्दै आएको छ ।

एनआरएनए बेलायतका अध्यक्षमा पुडासैनी चयन

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) बेलायतको अध्यक्ष पदमा राजेन्द्र पुडासैनी निर्वाचित भएका छन् । गएराति सम्पन्न मतगणना अनुसार उनले आफ्ना दुई प्रतिस्पर्धी गोविन्द खरेल र मनिष खत्रीलाई पराजित गरे । पुडासैनी १ हजार ४८२ मत प्राप्त गरेर अध्यक्ष पदमा विजयी भए । भने, अध्यक्ष पदका अर्का उम्मेदवार खरेलले ९७७ र खत्रीले ४९६ मत प्राप्त गरे । त्यस्तै उपाध्यक्षमा उज्ज्वल कार्की, डा रक्षा थापा र रामप्रसाद कँडेल, महासचिवमा दिवाकर पाण्डे, खुला सचिवमा डिएन खराल र कृष्ण देवकोटाले विजयी भएका छन् । सदस्यमा विष्णु खरेल र छविलाल अर्याल, इङ्ग्ल्याण्ड राज्य परिषद् अध्यक्षपदमा राममाया विष्ट थापा विजयी भएका छन् । नवनिर्वाचित अध्यक्ष पुडासैनीले संस्थालाई महसुस गर्न सकिने, खोज्दा भेटिने र देखिने बनाउनु आफ्नो मुख्य लक्ष्य रहेको जानकारी दिए । उनले भने, ‘तल्लो तहसम्म पुग्ने अभियान हामीले आजैदेखि सुरुआत गरेका छौँ । हामी जहाँ भएपनि नेपाली भएर बाँच्न परोस्, नेपालको राष्ट्रिय गीतले भनेझै सबै नेपाली एउटै सयौँ थुँगा फूलका एउटै माला बनेर एक हुन सक्नुपर्छ ।’ सबै बेलायतवासी नेपालीलाई एकताबद्ध गर्ने आफ्नो पहिलो कार्ययोजना भएको उनले जानकारी दिए ।

चन्द्रागिरीमा एउटै ढुङ्गामा १०८ शिवलिङ्ग र नागसहितको मूर्ति निर्माण

 काठमाडौं । चन्द्रागिरी नगरपालिका–५ भुजिङडोलमा एउटै ढुङ्गामा १०८ वटा शिवलिङ्ग १०८ वटै नागसहितको मूर्ति कुँदिएको छ । सोही ढुङ्गामा विश्राम गरिरहेका महादेव पनि निर्माण गरिएको छ । महादेवको शिरमा सातमुखे नागले सुरक्षा दिइरहेको आकृति निक्कै सुन्दर बनाइएको छ । छेवैमा साँढे र यज्ञ कुण्ड निर्माण गरिएको छ । यहाँ हालै विश्रामेश्वर महादेवको मूर्ति स्थापना गरिएको हो । 'गाउँमै धार्मिक आयाम थपिएको छ', विश्वविश्रामेश्वर १०९ शिवलिङ्ग विश्वधाम मन्दिर निर्माण तथा संरक्षण समितिका अध्यक्ष श्यामलाल श्रेष्ठले भने, 'कतिपयले यो सबै मूर्ति एउटै ढुङ्गामा होइन होला ?, जोडेको होला भनेर शङ्का गर्छन् तर होइन, म आफैँले धादिङको जुङ्गे खोलाबाट ल्याएको एउटै ढुङ्गामा मूर्तिकारले यो मूर्ति कुँदेका हुन् ।' सात तहमा बनाइएको शिवलिङ्गको हरेक तहमा १०८ वटा नाग बनाइएको छ । अध्यक्ष श्रेष्ठले बुबा धनलाल र आमा न्हुच्छेमायाको चाहनाबाट निजी प्रयासमा यो मूर्ति बनाएको र यहाँ मन्दिर निर्माण जारी रहेको बताए । मन्दिर निर्माणलगायतमा स्वेच्छिक सहयोग गर्न सकिने श्रेष्ठले बताए । यहाँ रु ३० हजार १०५ सहयोग गर्नेका नाममा एउटा शिवलिङ्ग र आजीवन सदस्य रहने तथा तीन पुस्ताको नाम शिलापत्रमा राखिने जनाइएको छ । हाल यहाँ शिवपुराण ज्ञान महायज्ञ सञ्चालन भइरहेको छ । महायज्ञका संयोजक ध्रुवकुमार घिमिरेले गोसाइँकुण्डमा विश्राम गरिरहेका महादेवलाई यहाँ स्थापना गरिएको बताए। घिमिरेले भने, 'गोसाइँ स्नान गर्ने बेलामा एक दृष्टिले हेर्दा महादेव सुतेको देखिन्छ, त्यसैको स्वरुप यहाँ बनाइएको हो ।' मुख्यगरी धार्मिक पर्यटन प्रवर्द्धन गर्न उद्देश्य रहेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । त्यसो त विश्रामेश्वर महादेव र मन्दिर निर्माण गर्नुमा विशेष कारण छ । श्यामलाल श्रेष्ठका बुबा धनलालले सपनामा यहाँ भगवान् शिवलाई सुतेको देखिरहन्थे । त्यसकारण उनले यहाँ मन्दिर बनाउन अनुरोध गरेका थिए । उनको निधनपछि आमा न्हुच्छेमायालाई पनि त्यही दृश्य झल्झली आइरह्यो । भर्खरै ८४ गरिएकी न्हुच्छेमायाले पनि मन्दिर बनाउन छोराहरुलाई अनुरोध गरिन् । उनीहरूकै चाहना पूरा गर्न आफूले मन्दिर निर्माण थालेको श्रेष्ठले बताए। सो ढुङ्गामा कलाकार काजी लामाले छ महिना लगाएर मूर्ति कुँदेका हुन्। त्यसका लागि श्यामलालले रु ३७ लाख कलाकारका लागि पारिश्रमिक दिएका छन् । करिब रु सात लाख ढुङ्गा यहाँसम्म ल्याउन खर्च लागेको उनको भनाइ छ । तरकारी ढुवानी व्यवसाय गर्ने श्रेष्ठले आमाको जिउनीबाट प्राप्त पैसा र त्यसमा थप लगानी गरेर मूर्तिसहितको मन्दिर निर्माण गरिरहेको र हालसम्म कतैबाट सहयोग प्राप्त नभएको बताए। महायज्ञ सुरु भएपछि यहाँ चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरीले सो मन्दिरको अवलोकन गरी नगरपालिकाले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । स्थानीय छिमेकी विष्णुप्रसाद लामिछानेले आफ्नो टोल छिमेकमा नयाँ मन्दिर निर्माण भएकाले यस क्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धन हुने विश्वास व्यक्त गरे। आफूले पनि मन्दिर निर्माणमा सहयोग गर्ने प्रतिबद्धता उनले जनाए । रासस