नेपाल संवत् ११४५ प्रारम्भमा शुभकामना र्‍याली (तस्बिरहरू)

नेपाल सम्वत ११४५ को अवसरमा शनिबार बेनीमा नेपाल भाषा मङ्का खःल म्याग्दीले आयोजना गरेको झाँकी सहितको र्‍यालीमा मौलिक पोषाकमा सजिएका नेवार समुदाय । काठमाडौं । नेपाल संवत् ११४५ प्रारम्भ भएको खुसियालीमा आज राजधानीसहित देशभरका मुख्य सहरमा शुभकामना र्‍याली निकालिएको छ । विविध सांस्कृतिक झाँकीसहित विभिन्न कार्यक्रमका साथ ‘न्हुँदया भिन्तुना’ भन्दै कतै मोटरसाइकल, कतै साइकल तथा कतै पैदलयात्रामा र्‍याली निकालिएको हो । राजधानीका विभिन्न स्थानमा अहिले निकालिएको ¥यालीले सहर परिक्रमा गरिरहेको छ । र्‍यालीमा बालकदेखि वृद्धसम्म सांस्कृतिक वेषभुषामा खुसी साट्दै हिँडेको देखिन्छ । नेपाल सम्वत् ११४५ को अवसरमा शनिबार बेँसीसहर बजारमा नेवाः खल लमजुङद्वारा आयोजित र्‍यालीमा नेवार संस्कृतिसँग आधारित टाकटुके नाच्दै ।  नेपाल संवत्लाई हाल विशेष रुपमा नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुआत गराउनुभएको थियो । नेपाल संवत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा त्रिरत्न मानन्धरले जानकारी दिए । ‘लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवत्का रुपमा चलेको थियो, लिच्छविकालअघि शक संवत् प्रचलनमा थियो, नेपाल देशका नामबाट राखिएकाले यो मौलिक संवत् हो,’ उनले भने । नेपाल संवत् ११४५ समारोह समिति वीरगञ्जले शनिबार वीरगञ्जमा न्हुँ दयाँ भिन्तुनाको अवसरमा निकालेको पदयात्रा कार्यक्रम ।  विसं २००७ मा प्रजातन्त्रको स्थापना भएदेखि नै नेपाल संवतलाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ । नेपाल संवत्लाई नयाँ वर्षका रुपमा काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वर, चौतारालगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेष रुपमा मनाउने गरिन्छ । गरिब जनताको ऋणमोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमुना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत्समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै विसं २०५६ को नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेका थिए । नेपाल संवत् ११४५ नव वर्षको अवसरमा नेवाः देय दबु संखुवासभाले खांदबारीमा शनिबार बिहान आयोजना गरेको शान्ति पदयात्रामा धिमेबाजा बजाउँदै स्थानीय युवाक युवती । विसं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवत्ले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए । कार्तिक कृष्ण औँसीका दिन बही खाता बन्दगरी नयाँ वर्ष अर्थात् कार्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुआत गर्ने परम्परासमेत काठमाडौंमा अझै छ । यही परम्पराअनुसार शुक्रबार बही खाता बन्द गरेका काठमाडौं उपत्यकाका नेवार समुदायले आजदेखि नयाँ बही खाता खेल्दैछन् । यसरी नेवार समुदायले नेपाल संवत्को नयाँ वर्ष मनाउँदैछन् । गत वर्षदेखि नै नेपाल संवत्लाई सरकारी कागजातमा अनिवार्य रुपमा उल्लेख गर्न थालिएको छ । नेपाल संवत् ११४५ नव वर्षको अवसरमा नेवाः देय दबु संखुवासभाले सदरमुकाम खांदबारीमा शनिबार बिहान आयोजना गरेको शुभकामना पदयात्रामा सहभागी ।  नेपाल संवत् ११४५ का अवसरमा काठमाडौँको जयवागश्वरी क्षेत्रमा आयोजित भिन्तुना पदयात्राको समुद्धाटन गर्दै नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापा ।  नेपाल संवत् ११४५ को अवसरमा शनिबार सुर्खेतको वीरेन्द्रनगरमा नेवाः देय् दबु सुर्खेत आयोजना गरेको भिन्तुना पदयात्रामा धिमे बाजा बजाउँदै नेवार समुदाय।   नेपाल संवत् न्हुद राष्ट्रिय समारोह समितिद्वारा शनिबार वसन्तपुरमा आयोजित न्हुँ द ११४५ या सलताया भिन्तुना सभाका सहभागी नेवारी समुदाय।  नेपाल संवत् न्हुद राष्ट्रिय समारोह समितिद्वारा शनिबार वसन्तपुरमा आयोजित न्हुँ द ११४५ या सलताया भिन्तुना सभाका सहभागी नेवारी समुदाय।  नेपाल संवत ११४५को अवसरमा नेवाः देय दबु गुठी समन्वय समिति व्यास नगरले शनिबार तनहुँ सदरमुकाम दमौलीमा निकालेको पदयात्रामा लाखे नाच प्रस्तुत गरिँदै ।  नेपाल संवत ११४५ को अवसरमा नेवाः देय दवु गुठी समन्वय समिति व्यास नगरले शनिबार तनहुँ सदरमुकाम दमौलीमा निकालेको पदयात्रामा सहभागी नेवार समुदाय । पाल संवत् ११४५ को अवसरमा शनिबार सुर्खेतको वीरेन्द्रनगरमा नेवाः देय् दबु सुर्खेत आयोजना गरेको पदयात्रामा मौलिक पोसाकमा सजिएका नेवार समुदाय ।  नेपाल संवत् ११४५ को अवसरमा बेँसीसहर नेवाः खल लमजुङद्वारा बेँसीसहर नगरपालिका–७ स्थित लमजुङ उद्योग वाणिज्य सङ्घको सभाहलमा शनिबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा मन्तव्य राख्दै बेँसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्याल । 

बैंकरका छोरा विजय बराल बैंकर नै बन्न चाहन्थे, कलाकार बने

काठमाडौं । झण्डै ६ महिनाअघि अभिनेता विजय बरालको फोनमा चलचित्रको प्रस्ताव बोकेको फोन आयो । एउटा कलाकारलाई अभिनय प्रस्तावको फोन आउनु सामान्य कुरा हो तर त्यो दिन आएको फोन सामान्य भन्दा केही फरक थियो । चलचित्रका सहायक भूमिकाहरूमा भ्याइनभ्याइ गरी व्यस्त भइरहेका विजयका लागि त्यो फोनमा आएको प्रस्ताव फरक थियो । उनलाई कुनै सहायक भूमिका लागि नभई शीर्षक भूमिकाको प्रस्ताव गरिएको थियो । चलचित्रको नाम थियो ‘पूर्ण बहादुरको सारङ्गी’ । सो प्रस्तावले विजय सुरुमा त अन्योलमा परे । केही दोधारको अवस्था भयो उनलाई । झण्डै दुई सातासम्म उनले प्रस्तावमाथि कुनै ठोस निर्णय गरेनन् । आफैँलाई मन्थने । आफूभित्रको अभिनेतालाई प्रश्न गरे । ‘चलचित्रको प्रस्ताव आएको दिन म ठ्याक्कै अन्योलमा परेँ । किनकी साइड रोलकै लागि मात्र रोजाइमा पर्ने मलाई यस्तो प्रस्ताव बिरलै हुने गर्छ । दुई सातासम्म कुनै निर्णय गरिन,’ उनले भने, ‘यो प्रस्तावले एक किसिमको ऊर्जा पनि दियो । एउटा समय पनि भयो, अनुभव पनि भयो । अब अनुभवले पनि यस्ता भूमिका गर्नसक्छु भन्ने आँट जुटाएँ । त्यो बेलाको अवस्था एकदम शून्य थियो के गर्ने भनेर । खुशीसहितको शुन्यता ।’ यति भन्दैगर्दा उनी आफ्नो कलाकार बन्ने सपना बुनिएका स्कूले जीवन र सोही सपना पछ्याउँदै काठमाडौं आएको समयस्मृतिमा पुगे । विजयका अनुसार काठमाडौं छिर्दा उनीसँग अभिनयका बारेमा केही भ्रममिश्रित सपनाहरू थिए । काठमाडौं आउँदा उनलाई लाग्थ्यो त्यो बेलाका चर्चित हास्य कलाकारभन्दा उम्दा बनेर निस्किनु हुनेछ, कडा बन्नु हुनेछ । सर्लाहीको लालबन्दीका विजय आफ्नो स्कूले जीवनमा त्यो बेलाका चर्चित नेताहरूको आवाजको नक्कलहरू गर्थे । कक्षा ८ मा उनले पहिलोपटक आफ्नो क्षमता सार्वजनिकरुपमा पस्केका थिए । त्यतिबेला उनले आवाजहरूको नक्कलसँगै आफ्नै गाउँठाउँका चर्चित हाँस्य कलाकार नारद खतिवडाको हास्यरस मिश्रित ‘ढोका खोल न पोस्टेकी आमा ढोका खोल न हो’ बोलको गीतमा हास्यप्रधान नृत्य समेत गरेका थिए । चर्चित नेताको आवाजको नक्कल र साथमा हास्यप्रधान नृत्य हेरेपछि शिक्षक र साथीभाइहरूले उनको धेरै प्रशंसा गरे । ‘मेरो नाच (आवाज)को नक्कल देखेर साथीहरूले ओहो ! राम्रो गरिस् भनेर हौस्याए । त्यही चिजलाई मैले अभिनय ठानें किनकी गाउँतिर यसैलाई अभिनय मानिन्थ्यो । साथीहरूको तारिफले मलाई अभिनयतर्फ थप आकर्षित बनाइदियो । मलाई ती तारिफहरूले मैले गर्न सक्नेरहेछु भन्ने आत्मविश्वास बढायो,’ उनले पूराना दिनहरू ताजा गर्दै सुनाए । जब उनी रङ्गमञ्चतर्फ मोडिए तब उनले आफ्नो पहिलोको सोचलाई निक्कै कमजोर भएको पाए। उनलाई अभिनय एउटा पोखरी होइन महासागर रहेछ भन्ने लाग्यो । ‘जब क्यारीकेचर गर्न छोडेर रङ्गमञ्चमा गएँ, अभिनयको चिन्तन र प्रक्रिया नै फरक देखें । त्यसपछि मैले राम्रो कलाकार बन्ने सोचेँ,’ केही गम्भीर हुँदै उनले भने । उनी आफ्नो चेत खुलेको कुरालाई यसरी व्याख्या गर्छन्, ‘पहिले म हरेक चिजलाई सामान्य सोच्थेँ, मैले जत्तिको कसले गर्न सक्छ र ठान्थेँ । तर जब अभिनयको आयतनमा छिरेँ तब अभिनय अर्कै चिन्तनको विषय रहेछ, आध्यात्मिक रहेछ भन्ने थाहा पाएँ । सोच र गहिराइमा पुगेर गर्दा फरक चिज निस्कने विषय भएको बुझेंँ ।’ भारतमा ४५ दिनको अभिनय कार्यशाला पुगेपछि आफ्नो कला चेत खुलेको उनी बताउँछन् । त्यो कार्यशाला उनका लागि जीवनको कोशेढुङ्गा हुनपुग्यो । त्यहाँ भारतको राम्रा नाटक निर्देशकमा पर्ने एमके रैनाबाट उनी प्रशिक्षित भए । ‘ओहो म त अभिनयलाई सामान्य हिसाबले लिइराखेको थिएँ । यहाँ त हरेक दिन यो कुरा नि पढाइरहेको छ, सबै दृष्टिकोणबाट अभिनयलाई देखाइरहिएको छ पढाइरहिएको छ । समाजको दृष्टिकोणबाट पनि हेरिरहिएको छ । सबै प्रकारबाट दृष्टिगोचर गर्दा त अर्कै चिज रहेछ अभिनय । त्यहाँबाट बल्ल मेरो चेत खुल्यो,’ उनले भने । बीचमा उनको कलाकार हुने सपना हल्लिएजस्तो पनि भयो । उनका बुबा बैंकको जागिरे । कुनै दिन बैंकमा जागिर खानुपर्छ भनेर विजयले व्यवस्थापन पढेका थिए । यद्यपि बुबाले भने उनलाई यही बन्नुपर्छ भनेका थिएनन् । बुबाले केही नभनेका भए पनि हजुरबुबाले भने सहज जीवनयापनका लागि घरको जेठो नातिले बाबुले झैं बैंकको जागिर खानुपर्छ भनेर हौस्याइरहेका थिए । हजुरबुबा विजयलाई भन्थे, ‘जागिर गर है जागिर गर, पछि गाहे हुन्छ । बाले यसरी पालेका छन् । तैले पनि पाल्नुपर्छ, जे भए पनि घरको जेठो नाति होस् ।’ उनले व्यवस्थापन सङ्कायको पढाइलाई निरन्तरता दिदैं आफ्नो अभिनयलाई रङ्गमञ्चमा सक्रिय भएर निरन्तरता दिइराखे । यो समयमा कयौं नाटक गरिसक्दा पनि विजयका बाबुले छोरा कलाकार बनेको थाहा पाएका थिएनन् । उनले पहिलो चलचित्रका रुपमा ‘छड्के’ गरे पनि बुबाले थाहा पाएनन् । तर, ‘कबड्डी’ चलचित्र गरेपछि भने थाहा पाए । उनी छोराको कामबाट खुशी बने । अभिनयमा लागेपछि विजयले घरबाट आफ्नो खर्च मगाउनु परेको छैन । ‘‘बुबालाई लामो समयसँग म कलाकारितामा लागेको छु भन्ने थाहै थिएन । नाटक गरिरहँदा खास उनले थाहा पाउनुभएन । पहिलो चलचित्र छड्केमा अभिनय गर्दा पनि उनलाई म कलाकार बनेको पत्तो भएन । उनले कबड्डी गरेपछि मात्र म कलाकार बनेको थाहा पाउनुभयो,’ बरालले भने । ‘कबड्डी’ पछि उनी त्यसका तीन श्रृङ्खलासहित दर्जनौं चलचित्रमा अभिनेता बनिसकेका छन् हालसम्म उनी नेपाली सिने जगतको चिरपरिचित अनुहार बनिसकेका छन् । उनले अधिकांश सहायक भूमिका नै गरे । सबैभन्दा बढी चर्चा उनले ‘कबड्डी’ चलचित्रको श्रृङ्खलाबाट बटुलेका छन् । उनी सो चलचित्रको ‘बिके’ पात्रबाट नेपाली दर्शकमाझ परिचित छन् । ‘कबड्डी’ शृङ्खलाको जबरजस्त सफलताका कारण हास्यप्रधान भूमिकामा व्यस्त भइराखेका विजयलाई ‘पूर्ण बहादुरको सारंगी’ चलचित्रले गम्भीर भूमिकामा पनि उत्तिकै दक्ष अभिनेताको परिचय पाउने अवसर दिएको बताउँछन् । यो चलचित्रमा उनी एकल बाबुको पात्र भूमिकामा देखिदै छन् । उनी पुनः ‘पूर्ण बहादुरको सारङ्गी’कै प्रसङ्गमा फर्किए । सहायक भूमिका उनलाई सजिलो लाग्छ । तर यो चलचित्रको भूमिका फरक र गम्भिर छ । शीर्षक भूमिका नै भएकाले चलचित्रको सम्पूर्ण भार उनीमाथि नै छ । यसका लागि धेरै मिहेनत परेको सुनाउँछन् । चलचित्रको ‘पूर्ण बहादुर गन्धर्व’ पात्र बन्न झण्डै १० दिन तयारी गरे । यो १० दिनमा उनले गन्धर्वको हाउभाउ, अनुहारको भाव र बोल्ने शैली अध्ययन गरे । उनले सारङ्गी बजाउन, हातको हर्कत र सारङ्गी बजाउने शैली पनि सिके । पर्दामा ‘पूर्ण बहादुर गन्धर्व’ नै हो भन्ना लागि आफूले यस्तो गरेको उनको भनाइ छ । ‘‘हामीजस्ता दोस्रो रोजाइका कलाकारकाका लागि यो आयतनको भूमिका बिरलै प्राप्त हुन्छ । यसलाई म जतिसक्दो उत्कृष्ट बनाउन चाहन्थे । त्यसैले मैले यसका लागि पर्दामा जत्तिसक्दो आफूलाई गन्धर्वका रुपमा स्वीकार्य गराउने गरी मिहेनत गरेको छु । पोस्टर, ट्रेलरबाट मैले राम्रो प्रतिक्रिया पाएको छु,’ उनले भने । आज उनी स्वयं आफू कसैको छोरा त हुन् नै त्योसँगै आफू पनि एक सन्तानको बाबु बनिसकेका छन् । यसको अनुभवलाई पनि उनले पर्दामा प्रयोग गरेका छन् । अनुभव पनि अभिनयका लागि एकदमै महत्वपूर्ण हुने उनी बताउँछन् । ‘‘यसले पात्रको मनोदशा, अवस्था बुझ्न धेरै सजिलो पर्छ,’ उनले भने । उनी आफू बाबु हुनु वा छोरा हुनुको वर्तमान अनुभवलाई यसरी व्यक्त गर्छन्, ‘अहिले म बुबाको भाव बुझ्छु । एक समय मेरो बुबा मेरा लागि हिरो हुनुहुन्थ्यो । अहिले पनि हिरो नै हो । कहिले कहिले कुनै परिस्थितिमा केही भन्दा तनाव दिनुभयो कि जस्तो नि लाग्थ्यो । अहिले मेरो छोरो भयो । उसले मेरो छात्तीमा ढुक्ढुकाउँदै बाबा–बाबा भन्छ र आफ्नी आमालाई देखाउँछ । उसका लागि म आज हिरो जस्तै भएको छु । म पुग्ने बित्तिकै मेरो बाबा आयो भनेर पुलकित हुने गर्छ । मेरो बुबाको सवालमा पनि त्यही नै थियो ।’ आज बुबाको सबै भावना उनलाई महशुस हुन्छ, ‘बाबु बाबु नै हुनेरहेछन्, जसले आफ्ना भावनाहरू व्यक्त गर्दैन तर उसको भित्र केही न केही हुन्छ-हुन्छ । बरालका अनुसार छोराको लागि बाबुले सपना देखेको हुन्छन् र छोराले पनि बाबुका लागि सपना देख्नुपर्छ,’ उनले भने । उनी बुबा घुमघाममा रुचि राख्छन् । त्यसैले विजय धेरै कुरा पूरा गर्न नसके पनि घुम्ने कुरालाई आफैँ बुझ्दै पूरा गर्ने प्रयास गर्न लागिरहेका छन् । बुबालाई आजकल गहिरिएर बुझ्न थालेदेखि विजयले बाबुहरूले सन्तानसँग आफ्ना व्यक्तिगत रहरहरू मुख खोलेर भनिनहाल्ने गरेको थाहा पाएका छन् । ‘मैले केही समय उहाँका रहरहरू सोध्दा उहाँले यस्तो जवाफ दिनुभयो, तँलाई हामीले बच्चामा सोद्थ्यौं र ?।’ विजयले आफ्ना बाबुले भनेका कुरा सम्झिए । ‘उहाँको जवाफले बाबुहरू चाहीँ आफ्नो सन्तानले नसोधी केही दिओस् भन्ने चाहाना राख्नुहुँदो रहेछ, भलै उहाँहरू त्यसका लागि आफैँ सक्षम हुनुहोस् । बाबुहरूले कहिले पनि म दुःखी छु भन्नु हुँदैन तर अपेक्षा चाहीँ भइराख्ने रहेछ,’ विजयले भने, ‘यो कुरा हामीले बुझ्ने हो भने बडा गज्जब हुने रहेछ । नबुझ्दा दुःख मान्नुहुँदो रहेछ । तर दुःख लागेको कुरा पनि व्यक्त नगर्ने बानी हुँदोरहेछ । अब चाहीँ बुबाका इच्छालाई सोचेर सम्झेर पूरा गर्ने बाटोमा लागेको छु । बाबुको भावनाहरू कस्तो हुन्छ मैले बुझ्न थालिसकेको छु ।’ आफ्नो चलचित्रले छोराहरूमा यही भावना जागृत गराउन उनको विश्वास छ । ‘बाबुहरू आफ्नो पूरानो सम्झनामा पुग्नुहुनेछ भने छोराहरूले भने एकचोटी बाबुसँग कुरा गर्नुपर्छ भनेर सोच्नुहुनेछ । बाबु बितिसकेकाहरूका लागि यो चलचित्र हेरेपछि दुःख पनि लाग्नेछ,’ उनले भने, ‘बाबुहरूलाई पाँच मिनेट भने पनि समय दिनुपर्नेछ भन्ने लाग्नेछ । बाबुसँग सम्बन्ध खुलेर जान्छ । हामीले थाहा पाएर पनि रोकेको भावनालाई प्रस्फुटन गराउनेछ ।’ चलचित्रलाई सरोज पौडेलले निर्देशन गरेका हुन् भने चलचित्र कात्तिक १५ गते लक्ष्मीपूजाको दिनदेखि सार्वजनिक प्रदर्शनमा आएको छ । यो चलचित्रप्रति विजय एउटा कलाकारका रुपमा निक्कै आशावादी छन् । ‘पूर्ण बहादुरको सारङ्गी’बाट गम्भीर अभिनेताको नयाँ परिचय स्थापित हुने उनको आशा छ ।

आज तिहारको चौँथो दिन गाईको पूजा

काठमाडौं । कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ । गाईको पूजा गरी आजका दिन मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ । नेपालका कतिपय भाग र केही समुदायमा कात्तिक कृष्ण औँसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहे पनि औँसीको अन्त्य र प्रतिपदाको सुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए । वैदिक सनातन हिन्दू धर्मावलम्बीले गर्ने प्रत्येक कर्ममा गाईदान गर्ने विधि छ । पछिल्लो समय गाईको अभावमा पैसा राखेर सङ्कल्प पढिन्छ । गाईलाई सम्मानका साथ राष्ट्रिय जनावरका रुपमा राखिएको छ । आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वाससमेत रहेको छ ।