फेसने सहर धरानमा ‘सांस्कृतिक तिहार’

काठमाडौं । फेसने सहरका रूपमा चिनिने धरान सांस्कृतिक पर्व तिहारमा धपक्क बलेको छ । तिहार सुरु भएसँगै चारैतिर झिलीमिली देखिएको छ । किनमेल गर्न सर्वसाधरणको घुइँचो लागेको छ । झिलीमिली बत्ती, मीठाइ मसला र फूलहरूले पूरै बजार ढाकेको छ । दसैँपछि नेपालीहरूको दोस्रो ठूलो पर्व भनेर चिनिने तिहारलाई साङ्गीतिक चाडका रूपमा फूलमाला, रङ र उज्यालो पर्वका रूपमा लिइन्छ । तिहारमा दियो, बत्ती बालेर घरलाई झिलीमिली पारिन्छ । फूलको मालाले घर सिङ्गरिने चलन पनि उत्तिकै बढ्दो छ । पछिल्लो समय परम्परागत दियो बाल्ने चलन हिजोआज लोप हुँदै गएकाले आधुनिक झिलीमिली बत्तीले निकै ठाउँ पाएको व्यापारी नारद यादवले बताए । तिहारमा विभिन्न किसिमका झिलीमिली बत्तीको व्यापार फस्टाएको यादवको भनाइ छ । ‘अहिले यस्ता बत्तीको मागसँगै बिक्री बढेको छ । बजारमा अहिले इलेक्ट्रिक पसलदेखि विभिन्न खुद्रा पसलमा पनि सिजनल व्यापारका रूपमा धेरै व्यापारीले बेचिरहेका छन् । व्यापार राम्रो भएको छ,’ उनले भने । झिलीमिली बत्ती अन्य चाडपर्व र विवाहको सिजनमा थोरैथोरै बिक्री भए पनि तिहारको समयमा अत्यधिक बिक्री हुने गरेको उनले बताए ।धरानको मुख्य बजार भानुचोक सब्जी मन्दिरलगायत ठाउँमा यतिबेला बत्ती, फूलमालालगायत सामान किन्ने र बेच्नेको भ्याइनभ्याई छ । तिहारका लागि आवश्यक विभिन्न सामग्री खरिद र बिक्री गर्ने सर्वसाधरणको घुइँचो यतिबेला हरेक बजारमा देखिन्छ । भानुचोकमा झिलीमिली बत्ती बेच्दै गर्दा भेटिनुभएका प्रविन श्रेष्ठ तिहारमा छुट्टै खाल्को रौनक छाएको बताए ।‘यतिबेला बजारमा विद्युतीय सामानको खरिद बिक्री निकै बढेको छ,’ उनले भने । श्रेष्ठका अनुसार तिहारको समयमा झिलीमिली बत्तीको बिक्री राम्रो भएकाले व्यापार राम्रो हुने गरेको छ । दिनमा ४० रुपैयाँदेखि ५० हजार रुपैयाँसम्मको विद्युतीय बत्तीलगायत सामान बिक्री हुने गरेको उनले बताए । व्यापारी श्रेष्ठले भने, ‘तिहारलाई लक्षित गरी व्यापारीले दसैँ आउन १÷२ महिना बाँकी हुँदादेखि नै झिलीमिली बत्ती बिक्री गर्न सामान ल्याइसकेका हुन्छन् ।’ केही दिनयता भने दैनिक रूपमा ठूलो परिमाणमा झिलीमिली बत्ती बिक्री हुने गरेको उनले बताए । झिलीमिली बत्तीसँगै यो समयमा साधारण खालका बल्बको पनि बिक्री तीन गुणा बढीले हुने गरेको श्रेष्ठको भनाइ छ । अहिले घरका सबै ठाउँ उज्यालो राख्नुपर्ने र घरै पूरै झिलीमिली बनाउने मान्यता रहिआएका कारण घरका सबै होल्डरमा बत्ती जोड्ने गरिएकाले त्यस्ता बल्बको पनि बिक्री बढेको उनले बताए । अहिले बजारमा फरक–फरक खालका झिलिमिली बत्ती फरक–फरक मूल्यमा बिक्रीका लागि उपलब्ध छन् । न्यूनतम प्रतिगोटा २० रुपैयाँदेखि १० रुपैयाँहजारदेखि २० हजार रुपैयाँसम्म पर्ने बत्ती बजारमा बिक्रीका लागि राखिएका छन् । पछिल्लो समय लोडसेडिङको समस्या कम भएकाले पनि प्रत्येक वर्ष तिहारमा यस्ता बत्तीको माग दोब्बर नै बढ्ने गरेको व्यवसायीको भनाइ छ ।

तिहारमा झिनियाँसँगै तयारी रोटीको माग उच्च, खरिद गर्नेको घुइँचो

गलकोट । बागलुङ जिल्लामा तिहारको समयमा पछिल्लो समय झिनियाँ रोटीसँगै अन्य तयारी रोटीको खरिद बिक्री हुन थालेको छ । तिहारमा बढी प्रयोगमा आउने परिकारका रूपमा मानिएको झिनियाँ र चिनी रोटीसहित विभिन्न रोटीका परिकारको माग उच्च रहेको छ । झिनियाँसहित विभिन्न तयारी रोटी उत्पादन हुन थालेपछि यसअघि घरमा बनाउने रोटीका परिकारसमेत स्थानीयले खरिद गरेर लैजान थालेका छन् । अहिले तिहार सुरु भएसँगै बागलुङ बजारका विभिन्न महिला उद्यमीले उत्पादन गरेका रोटीका परिकार खरिद गर्नेको घुइँचो लाग्ने गरेको हो । बागलुङ नगरपालिका–२ स्थित मरेपिपलमा झिनियाँसहित सात प्रकारका परिकार बनाउँदै आकी मीरा श्रेष्ठले तिहार सुरु भएसँगै झिनियाँ, चिनी, फिनी, भेलीलगायत परिकारको माग उच्च भएको बताइन् । एघार वर्षदेखि व्यावसायिक रुपमा रोटीका परिकार बनाएर बिक्री गर्दै आएकी उनले अन्य समयमाभन्दा तिहारमा बढी बिक्री हुने उल्लेख गरिन् । हिन्दू धर्मावलम्बीको दोस्रो ठूलो पर्व तिहारका अवसरमा बढी प्रयोग हुने झिनियाँ बनाउन यहाँका महिला उद्यमीलाई भ्याइनभ्याइ छ । ‘पहिला झिनियाँको मात्रै व्यापार हुन्थ्यो, पछिल्लो समय झिनियाँमा रङ्ग मिसाउन छोडेपछि सेतो झिनियाँ मात्रै बिक्री गर्छौं । चिनी तथा फिनी, तयारी सेल रोटीको माग उच्च छ । तयारी रोटी बनाउन झन्झटिलो हुने भएकाले बजारबाट खरिद गरेर लैजाने प्रचलन बढेको पाइएको छ,’ श्रेष्ठले भनिन्, ‘यस पटक चिनी, फिनी र सेल रोटीको माग बढी छ ।’ तिहारको समयमा झिनियाँको माग बढ्न थालेपछि श्रेष्ठसहित यहाँका अन्य घरेलु उद्यमी महिलालाई झिनियाँ बनाउन भ्याइनभ्याइ भएको छ । महिला उद्यमी श्रेष्ठले यस पटक सेतो झिनियाँ बजारमा ल्याएको बताउँदै रङ्ग मिसाएका परिकार बिक्री गर्न पालिकाले रोक लगाएपछि रङ्ग मिसाउन बन्द गरिएको उनले उल्लेख गरिन् । श्रेष्ठले दशैंतिहारको समयमा मात्रै तयारी रोटी बिक्री गरेर रु चारदेखि रु छ लाख आम्दानी हुने जानकारी दिइन् । तिहारको भाइटीकामा सप्तरङ्गी झिनियाँ कोसेलीका  रूपमा दाजुभाइलाई खुवाउने परम्परा रहे पनि अन्य पूजाआजा र चाडपर्वमा पनि माग हुने गरेको उनले बताइन् ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औँ जन्मजयन्ती मनाइँदै

काठमाडौं । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कात्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौंको डिल्लीबजारमा भएको थियो । १० वर्षको उमेरमा कविता लेख्न सुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् । उनले नेपाली साहित्यलाई सयभन्दा बढी कृति दिए । यी कृतिका माध्यमबाट देवकोटाले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा समेत चिनाए । नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका उनको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित हालसम्म सबैभन्दा बढी बिक्री भएको पुस्तक हो । नेपाली साहित्यमा स्वच्छन्दतावादी–प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता झल्कन्छ । उनका सृजनामा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन पाइन्छ । भारतका महापण्डित राहुल साङ्कृत्यायनले देवकोटा एक्लैलाई भारतका महाकवि सुमित्रानन्दन पन्त, जयशङ्करप्रसाद र सूर्यकान्त निरालाको संयुक्त रूपसँग तुलना गरिएको भनेर चर्चा हुने गरेको छ । नाट्यसम्राट बालकृष्ण समले देवकोटा ‘मुनामदन’, ‘शाकुन्तल’ महाकाव्य र ‘पागल’ कवितासँगै तीनपटक जन्मेको बताएका थिए । विदेशी भाषामा नेपाली कृतिको अनुवाद र विदेशमा भएका विभिन्न सम्मेलनमा नेपालको प्रतिनिधित्व गरी नेपाली साहित्यको विश्वव्यापी प्रचारप्रसारमा समेत उनले महत्वपूर्ण योगदान दिएका थिए । महाकवि देवकोटाले अंग्रेजी साहित्यका फ्रान्सिस बेकन, चाल्र्स ल्यासजस्ता १५ जना गद्य लेखकका निबन्धको चयन गरी विसं १९९७ मा ‘प्रसिद्ध प्रबन्ध सङ्ग्रह’ प्रकाशित गरे । विसं २०१६ मा उहाँ शिक्षा तथा स्वायत्त शासनमन्त्री हुँदा नेपालभर नेपाली भाषालाई अनिवार्य विषयका रूपमा लागू गर्नु–गराएका थिए । हाल त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको जग्गा पनि उनकै शिक्षामन्त्रीत्वकालमा व्यवस्था गरिएको हो । जसले विश्वविद्यालयको पूर्वाधारका लागि काम गरेको छ । वर्तमान नेपाल प्रज्ञा–प्रतिष्ठानको स्थापनामा सक्रिय योगदान दिएका थिए । तीन महिनामा ‘शाकुन्तल’ महाकाव्य, दशदिनमै ‘सुलोचना’ महाकाव्य र एकै दिनमा ‘कुञ्जिनी’ खण्डकाव्य लेखेका देवकोटामा तुरुन्त कविता लेख्नसक्ने आँसु कविको क्षमता थियो भन्ने गरिएको छ । देवकोटाको कवि–प्रतिभा, कविताको गुणात्मक मूल्य र सङ्ख्यात्मक योगदान आज पनि अद्वितीय छ । चरम आर्थिक अभाव र पारिवारिक वियोगसँगै राजनीतिक रूपमा पनि देवकोटा सक्रिय भएका थिए । यसका बाबजुद पनि उच्चस्तरका साहित्य नेपाल र नेपालीलाई प्रदान गर्नु उहाँको साहित्यिक विशेषता हो । विसं २००२ मा किनेर २००४ सालमा सर्नुभएको मैतीदेवीस्थित देवकोटाको घरलाई विसं २०७९ असोजदेखि महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालयका रूपमा स्थापित गरिएको छ । महाकवि देवकोटाले ‘पागल’ कवितालाई आफैँले अङ्ग्रेजीमा अनुवाद गरेका थियो । उनले पाश्चात्य ग्रीसेली स्रोतबाट अनेकौँ गाथाको नेपालीकरण गर्नुभएको छ । विसं २०२४ मा प्रकाशित भएको ‘मायावीनी’ ‘सुन्दरी प्रोजर्पिना’जस्ता खण्डकाव्य र ‘प्रमिथस’ महाकाव्य यसका उदाहरण हुन् । देवकोटाको एकमात्र उपन्यास ‘चम्पा’ हो । नेपाली साहित्यमा महत्वपूर्ण योगदान दिएका देवकोटाको निधन २०१६ साल भदौ २९ गते भएको थियो । महाकवि देवकोटा जयन्तीका अवसरमा गत हप्तादेखि नै साताव्यापी कार्यक्रम भइरहेको छ । यस अवसरमा आज पनि विभिन्न कार्यक्रम गरी देशभर देवकोटा जयन्ती मनाइने जनाइएको छ ।