सुन्दरीजल क्षेत्रमा हिउँदमा खानेपानी अभाव, वर्षामा धमिलो पानी
काठमाडौं । बागमती नदीबाट काठमाडौं उपत्यकामा खानेपानी वितरण गरिने सुन्दरीजल क्षेत्र हिउँदमा खानेपानी अभाव र वर्षाका बेला धमिलो पानी पिउनुपर्ने बाध्यताबाट गुज्रन परेको छ । मुहान क्षेत्रमै पानी नआउने र पानी परेका बेला धमिलो पानीमात्र आउन थालेपछि स्थानीय आक्रोशित बनेका छन् । यहाँका स्थानीयवासी खानेपानीका लागि ढुङ्गेधारा, कुवा खोज्दै हिँड्न बाध्य भएका छन् । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको कार्यालय पुगेर स्थानीयवासीले यस विषयमा जानकारी गराए पनि समस्या समाधान हुन नसकेको स्थानीय रञ्जन श्रेष्ठले गुनासो गरे । वर्षाका बेला आउने धमिलो पानी खाँदा घाँटी दुख्ने, नुहाउँदा जीउ चिलाउनेलगायत समस्या हुने गरेको उनले सुनाए । वर्षाका बेला लिमिटेडले सुन्दरीजल क्षेत्रमा पठाउने पानी धमिलो हुने गरेको स्थानीय रविना तामाङको भनाइ छ । सुन्दरीजलबाट काठमाडौं उपत्यकामा वाग्मतीको मात्र नभइ मेलम्चीको पानी पनि वितरण गरिन्छ । बागमतीबाट वर्षामा दैनिक १३ करोड र हिउँद याममा दैनिक नौ करोड लिटर पानी राजधानीको मुख्य सहरमा वितरण गरिन्छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको अम्बाथानबाट २६ दशमलव पाँच किमी सुरुङ मार्ग हुँदै आउने १७ करोड ५० लाख लिटर पानी सुन्दरीजल महांकालस्थित पानी प्रशोधन केन्द्रमा प्रशोधन भएर काठमाडौं उपत्यकामा वितरण हुने गरेको छ । हिउँदमा आउने मेलम्चीको पानी वर्षा लागेपछि बन्द हुन्छ । जसले गर्दा राजधानीवासीले खानेपानीको समस्याबाट उन्मुक्ति पाउन सकेका छैनन् । गत सातामात्र मेलम्चीको पानी राजधानीमा वितरण बन्द गरिएको थियो । सुन्दरीजलवासीको खानेपानी समस्या समाधानमा स्थानीय सरकारले लामो समयदेखि मौन बस्दै आएको छ । गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता नारायणबहादुर सुवेदीले नगर क्षेत्रको खानेपानी समस्या समाधानका लागि काम गरिरहेको बताए । केही क्षेत्रको खानेपानी समस्या समाधान भए पनि मुहान क्षेत्र सुन्दरीजलमै समस्या भोग्नुपरेको गुनासो आइरहेको उनले स्वीकार गरे । लिमिटेडले समयमै काम नगर्दा सुन्दरीजल क्षेत्रमा हिउँदमा पानी नआउने, वर्षामा आउँदा धमिलो आउने गरेको नगरपालिकाले जनाएको छ ।
बैतडीमा घरको छतमा ट्रयाक्टर खस्यो, दुई बालिका घाइते
बैतडी । बैतडीमा घरको छतमा ट्रयाक्टर खस्दा दुई बालिका घाइते भएका छन् । मेलौली नगरपालिका–३ तल्खेतमा सु प प्र ०१ ००२ त ४३७० नम्बरको ट्रयाक्टर दुर्घटना भएर छतमा खसेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए । घाइते हुनेमा स्थानीय सात वर्षीया निकिता चन्द र सात वर्षीया पूर्णीमा चन्द रहेका छन् । घाइते दुवैको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । ढुंगा बोक्दै गरेको ट्रयाक्टर एक्कासी सडकबाट एक सय मिटर तल रहेको घरको छतमा खसेको प्रहरीले जनाएको छ । ट्रयाक्टरले छतमा खस्दा घरमा समेत क्षति पुगेको छ । प्रहरीले ट्रयाक्टर चालक धनीराम डगौरालाई नियन्त्रणमा लिएको छ। दुर्घटनामा उनी सामान्य घाइते भएका छन् ।
आईसीसी टी-२० विश्वकपको उपाधि भारतलाई
काठमाडौं । दक्षिण अफ्रिकालाई सात रनले हराउँदै भारत आइसिसी टि–२० क्रिकेट विश्वकप २०२४ को च्याम्पियन बनेको छ । भारतले १७ वर्षपछि विश्वपकको ट्रफी उचालेको हो । यसअघि भारतले सन् २००७ मा पहिलेपटक टि–२० विश्वकपको उपाधि जितेको थियो । वेष्टइन्डिजको बार्बाडोसस्थित कोन्सिङ्टन ओभलमा भारतले दक्षिण अफ्रिकालाई एक सय ७७ रनको लक्ष्य दिएको थियो । प्रत्युत्तरमा दक्षिण अफ्रिका निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदा मात्र एक सय ६९ रनमा समेटियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार दक्षिण अफ्रिकाका लागि हेनरिक क्लासेनले सर्वाधिक ५२ रनको योगदान दिए । उनले २७ बलमा दुई चौका र पाँच छक्काको सहयोगमा ५२ रन बनाएका हुन् । त्यस्तै क्विन्टर डि ककले ३९ र क्रिस्टन स्टब्सले ३१ रन बनाए । भारतका हार्दिक पांड्याले सर्वाधिक तीन विकेट लिए भने अरसदीप सिहं र जसप्रित बुमराहले समान दुई–दुई विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १ सय ७६ रनको योगफल बनाएको थियो । भारतका लागि विराट कोहलीले ५९ बलमा छ चौका र दुई छक्काको मद्दतले सर्वाधिक ७६ रन बनाए । यसैगरी अक्षर पटेलले ४७ र शिवम दुबेले २७ रन जोडे । दक्षिण अफ्रिकाका लागि केशव महाराज र एनरिच नोर्ट्जेले समान दुई–दुई विकेट लिए भने मार्को यानसन र कागिसो रबाडाले समान एक–एक विकेट लिए ।