लमजुङमा पहिरोले तीन घर पुरिँदा ४ जना बेपत्ता
लमजुङ । लमजुङको क्व्होलासोथार गाउँपालिका–३ बगुम गाउँमा गए राति पहिरोले तीन घर पुरिँदा चार जना बेपत्ता भएका छन् । पहिरोमा परी एकजना घाइते भएका छन् । लगातारको वषासँगै घर माथिबाट आएको पहिरोले स्थानीय चित्र घले, रुद्रमान गुरुङ र पञ्चकुमारी गुरुङको घर पुरिएको हो । पहिरोमा परी रुद्रमान गुरुङ, पञ्चकुमारी गुरुङ र उनकी पाँच वर्षीया छोरी नम्रता तथा सात वर्षीया इच्छा गुरुङ बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक थानेश्वर चपाइँले जानकारी दिए । अहिले प्रहरी टोली घट्नास्थलमा उद्धारका लागि जाँदै छ ।
ट्रेड सेन्टरका व्यापारिक सटर मिलाइदिने भन्दै १३ करोड ठगी, ६ जना पक्राउ
काठमाडौं । नेपाल प्रहरीले कलंकी ट्रेड सेन्टरका व्यापारिक सटर हस्तान्तरण गर्ने भनी विभिन्न व्यक्तिबाट १३ करोड रुपैयाँभन्दा बढी ठगी गर्ने सो सेन्टरका ६ जना सञ्चालकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले कलंकीस्थित ट्रेड सेन्टरका व्यापारिक सटर हस्तान्तरण गर्ने भनी १३ करोड ७३ लाख ५२ हजार २५६ रुपैयाँ ठगी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा स्याङ्जाका ६१ वर्षीय शान्तिरमण पंगेनी, काठमाडौंका ६८ वर्षीय नरेन्द्र बज्राचार्य, ५१ वर्षीय राजु महर्जन, ललितपुरका ६२ वर्षीय राजेशकृष्ण श्रेष्ठ, पाल्पाका ५३ वर्षीय निरन्जनकुमार श्रेष्ठ र कास्कीका ५९ वर्षीय चिरञ्जीवी पौडेल रहेको प्रहरीको भनाइ छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीले कलंकी डेभलपर्स र मिला ल्याण्ड डेभलपमेन्ट प्रालिमार्फत कलंकी ट्रेड सेन्टर निर्माण गरी व्यापारिक सटर हस्तान्तरण गर्ने भनी ठगी गरेकाले उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेका ६ जनालाई जिल्ला अदालत काठमाडौंबाट तीन दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता अधिकारीले बताए ।
यम बराल साँझबाट उठेको रकम क्यान्सर पीडित गायिका थापालाई हस्तान्तरण
काठमाडौं । लायन्स क्लब अफ सिद्धार्थ एभरग्रिनले ‘यम बराल साँझ’बाट उठेको रकम क्यान्सर पीडित गायिका जमुना थापालाई हस्तान्तरण गरेको छ । गायन क्षेत्रमा लागेकी थापा अहिले क्यान्सरले थलिएकी कारण उपचारमा ‘लायन्स क्लब अफ सिद्धार्थ एभरग्रिन’ले सहयोग गरेको हो । अहिले केही रकम क्यान्सर पीडित गायिका थापालाई प्रदान गरिएको अध्यक्ष कल्पना बस्नेतले बताइन् । ‘लायन्स क्लब अफ सिद्धार्थ एभरग्रिन’ले १८ कात्तिकमा नेपाल प्रज्ञा प्रतिष्ठानको भवन कमलादीमा गरेको यम बराल एकल साँझबाट उठेको रकममध्ये केही सहयोग गरेको हो । सामाजिक र सांस्कृतिक परिवर्तन लागि शिक्षा’ भन्ने अभिप्रायबाट सहयोग स्वरूप यम बराल साँझ गरिएको थियो ।