अचेल गाउँघरमा ढिँकीजाँतो देखिँदैनन्

लमजुङ । यहाँ युवापुस्ताको बेवास्ता र आधुनिक प्रविधिले सहज बनाएसँगै परम्परागत ढिँकीजाँतो लोप हुन थालेको छ । केहीवर्ष अघिसम्म गाउँगाउँमा घरैपिच्छे ढिँकीजाँतो हुने लमजुङमा यसको संरक्षण गर्न नसक्दा लोप हुन थालेको हो । ढिँकीजाँतोमा कुटानीपिसानी गर्दा धेरै दुःख र समय लाग्ने, गाउँगाउँमा आएको मिलले छिटोछरितो र सहज हुने भएपछि ढिँकीजाँतो लोप हुने अवस्थामा पुगेको स्थानीयको भनाइ छ । दोर्दी गाउँपालिका–३ श्रीमञ्जाङका ९४ वर्षीय चिजकुमारी श्रेष्ठले आफ्नो जीवनको धेरैवर्ष ढिँकी कुटेर र जाँतो पिनेरै जीवन बिताए पनि पछिल्लो समय लोपहुने अवस्था आएको बताउँछिन् । ढिँकीमा कुटेको धानको चामल, काउनो, साबा साथै जाँतोमा पिनिएको मकैको भात, कोदोको ढिँडो, फाँपरको रोटी तथा ढिँडोले परिवारलाई खुवाएर जीवन धान्दै आएको कुरा अब स्मरणमा सीमित भएको उनले सुनाइन् । ‘विगतमा ढिँकीजाँतोमा सङ्घर्ष गरिएका ती दिन र समय अहिले कथा जस्तै भएका छन् । पहिले गाउँमा ढिँकीजाँतो नभएको कुनै घर नै हुँदैन थियो तर अचेल ढिँकीजाँतो देखिन छाडे । अहिले सम्झदा पनि कथा जस्तै लाग्छ’, उनले भनिन् । दूधपोखरी गाउँपालिकाकी ८६ वर्षीय यमकुमारी गुरुङले पछिल्लो पुस्ताले चासो नदिँदा परम्परागत ढिँकीजाँतो लोप हुने अवस्थामा पुगेको बताइन् । ‘हाम्रा पालामा सबैले घरमा ढिँकी राख्थे, मकैको बेग्लै, कोदोको बेग्लै जाँतो राख्थे, गाउँमा विकास आयो, धान कुट्ने र पिन्ने मिसिन आयो, अहिले केलाई चाइयोरु ढिँकीजाँतो’, उनले भनिन्, ‘ढिँकीजाँतोमा कुटानीपिसानी गरिएका उतिबेलाका खानाको स्वाद सम्झदा पनि जिब्रो रसाउँछ । त्यो शौभाग्य अहिलेका चेलीबुहारीले त देख्न पाएनन् ।’ त्यस्तै, दोर्दी गाउँपालिका–३ श्रीमञ्जाङका ९४ वर्षीय चिजकुमारी श्रेष्ठले आफ्नो जीवनको धेरैवर्ष ढिँकी कुटेर र जाँतो पिनेरै बिताए ती परम्परागत सामान देख्न नपाएको धेरै भइसकेको सुनाइन् । ‘हाम्रो धेरै समय त्यसैमा बित्यो तर पछिल्लो समय त्यसबाट कुटेका पिसेका खाने कुरा त कल्पनामा सीमित भएका छन् । समय परिवर्तन भएजस्तै हाम्रा मौलिकता पनि हराउन थाले । निकै दुःख लाग्छ’, उनले गुनासो गरिन् । ढिँकीजाँतो प्रसस्त हुने यस वडास्थित नेवारगाउँ, गैरीगाउँ, लामागाउँ, डाँडागाउँ, दासडाँडा, बाहुनगाउँ लगायतका गाउँमा अहिले देख्नै मुस्किल पर्दै गएको छ । एक हजारभन्दा बढी घरधुरी रहेका ती गाउँमा पाँच/१० वटाभन्दा धेरै ढिँकीजाँतो छैनन् । ढिँकीजाँतो भएका घरमा पनि कमै प्रयोग गर्ने गरेका छन् । त्यस्तै, मस्र्याङ्दी गाउँपालिका–५ घेर्मुका ३५ घरमध्ये अहिले एकाध घरमा मात्र ढिँकी रहेको स्थानीय काम सार्की गुरुङले बताए । करिब १०/१२ वर्ष गाउँमा बिजुलीबाट चल्ने मिल आएसँगै ढिँकीजाँतो लोप भएको उनको भनाइ छ । यसरी परम्परागत ढिँकीजाँतो लोप भए पनि यसको संरक्षण गर्न नसकिएकोमा उनले दुःखमनाउ गरे । सोही गाउँपालिका–३ ढगैँका स्थानीय पूर्णबहादुर गुरुङले १० वर्षअघिसम्म गाउँका प्रायः सबै घरमा ढिँकीजाँतो प्रयोग गर्दै आए पनि अहिले एक दुई जनाको घरमा मात्र रहेको बताए । बेँसीसहर नगरपालिका–२ नरुवाल गाउँमा करिब १४ वर्ष अघिसम्म प्रत्येक घरमा ढिँकीजाँतो थियो । विद्युतीय मेसिन आएसँगै विस्तारै घट्दै गएर छ वर्ष अघिबाट गाउँमा दुई जनाको घरमा मात्रै ढिँकीजाँतो रहेको स्थानीय सावित्री रानामगरले बताउँछन् । ‘गाउँमा धान कुट्ने मेसिन आयो, सबै खुसी बन्न थाले । ढिँकीजाँतोमा धान, मकै कुट्न तथा पिन्नेलाई समय लाग्ने साथै दुःखसमेत धेरै गर्नुपर्ने भएकाले गाउँलेले यस्ता परम्परागत सामग्रीको प्रयोग गर्न छाडे तर हामीलाई त धेरै माया लाग्छ ।’ विद्युतीय मेलमा एकमुरी धान कुट्नलाई करिब आधा घण्टा लाग्छ तर ढिँकीमा बिहानभरीमा पनि धान कुटी नसकिने भएकाले यहाँका स्थानीयले बाध्य भएर ती परम्परागत सामान प्रयोग गर्न छोडेको धेरैको बुझाइ छ । रासस

कलिलो उमेरमा ठगी, करोड कमाउने लोभमा हतकडी

काठमाडौं । नेपाल प्रहरीले विदेश पठाउने नाममा ठगी गर्ने गिरोहलाई पक्राउ गरेको छ । सामाजिक सञ्जाल फेसबुकको फेक आइडी बनाएर विभिन्न व्यक्तिलाई मेसेमार्फत् विदेश पठाउने भन्दै ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूले रोजगारीका लागि कम्बोडिया, न्युजिल्यान्ड, फ्रान्सलगायत सुविधा सम्पन्न देशमा पठाइदिने भन्दै ३०० जनाभन्दा बढीलाई ठगी गरेको आरोपमा पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ । पक्राउ पर्नेमा चितवनका राजकुमार भट्ट, कास्कीका नवीन विक र पवन पन्त रहेको प्रहरीले जानकारी दिएको छ । उनीहरूले विदेशमा आकर्षक तलब भत्ता पाइने भन्दै फेसबुकमार्फत् पैसा पठाउन लगाउने र पैसा पठाएपछि ब्लक गरेर सम्पर्क विहीन हुने गरेको पाइएको प्रहरीको अनुसन्धानले देखाएको छ । उनीहरूले फेसबुकमार्फत् ती विभिन्न देश पठाउने भन्दै विज्ञापन पनि गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । उनीहरू नक्कली कागजात बनाएर भिसा, वर्क परमिट तथा प्रहरी रिपोर्ट बनाएर ग्राहकलाई पठाउने र ग्राहकले खातामा पैसा पठाइसकेपछि ब्लक गरेर सम्पर्कविहीन हुने गरेको अनुसन्धानबाट खुलेको हो । ठगिएकाहरूले उनीहरुको बैंक खातामा ५ देखि १० लाख रुपैयाँसम्म पठाएको प्रहरीसँग बताएका छन् । उनीहरूले ३ सयभन्दा बढीबाट १५ करोड रुपैयाँ बढी रकम ठगी गरेको आशंका प्रहरीको छ ।

नेपाल र श्रीलंकाको खेलअघि डिशहोम फाइबरनेटको अफर, २४ महिने रिचार्जमा ६ महिना निःशुल्क

काठमाडौं । नेपाल र श्रीलंकाको खेलअघि डिशहोम फाइबरनेटले २४ घण्टे नयाँ अफर ल्याएको छ । जारी आईसीसी पुरुष टि-२० विश्वकपमा नेपालले ग्रुप स्टेज अन्तर्गत भोली बुधबार बिहान ५:१५ बजे श्रीलंकासँग आफ्नो दोस्रो खेल खेल्दै छ । यी दुई टिमबीचको खेलको खुसीयालीमा डिशहोम फाइबरनेटले २४ महिनाको रिचार्ज गर्दा अतिरिक्त ६ महिनाको सब्सक्रिप्सन निःशुल्क पाउने अफर ल्याएको छ । डिशहोमले आज दिउसो १ बजे ‘आयो गोर्खाली मैदानमा’ शीर्षकमा २४ महिनाको रिचार्ज गर्दा अर्को ६-महिनाको सब्सक्रिप्सन निःशुल्क गर्ने जनाएको हो । यो अफर आज दिउसो १ बजे (जेठ २९ गते) देखी भोली दिउसो १ बजे (जेठ ३०) सम्मका लागि मात्र लागु रहेको डिशहोम फाइबरनेटले जनाएको छ । यो अफर कुनै पनि डिशहोम फाइबरनेटको प्याकेज २४-महिनाको लागि रिचार्ज गर्ने ग्राहकले थप ६ महिनाको सेवा निःशुल्क प्राप्त गर्नेछन् र कुल ३० महिनाको सिमलेस कनेक्टिभिटी प्रदान गर्नेछन् । रिचार्ज गर्नको लागि आफु नजिकै रहेको डिशहोमको डिलर दाई कहाँ गई बिना कुनै झन्झट सजिलै रिचार्ज गरी यस् गज्जबको अफरको फाईदा उठाउन सक्नेछन् । साथै अनलाइन पेमेन्ट वालेटहरु मार्फत पनि रिचार्ज गर्न सकिने कम्पनीले जनाएको छ । यो विशेष २४-घण्टा अफरले नेपालको क्रिकेट टोलीलाई साथ र समर्थन गर्ने र विस्तारित उच्च-स्पीड इन्टरनेटको साथ आफ्ना ग्राहकहरूलाई पुरस्कृत गर्ने उद्देश्य राखेको कम्पनीले जनाएको छ ।