पर्वतको कुश्माबजारमा खानेपानीको अभाव, लोडसेडिङ सुरु

पर्वत । लामो समयदेखिको खडेरीका कारण मुहान सुकेपछि पर्वत सदरमुकाम कुश्माबजारमा खानेपानीको अभाव भएको छ । नियमित आउने स्रोतमा पानीको मात्रा घट्दै गएपछि मगंलबारदेखि खानेपानीको ‘लोडसेडिङ’ सुरु भएको छ । बजार क्षेत्रमा खानेपानीको व्यवस्थापन गर्दै आएको शिवालय खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले मगंलबारदेखि लागू हुनेगरी अनिश्चितकालका लागि लोडसेडिङ सुरु गरेको हो । प्रत्येक दिन बिहान र बेलुका दुई समय धारामा खानेपानी आउने गरेकोमा लोडसेडिङ गरी बिहान वा बेलुका मात्र पानी उपलब्ध गराउन थालिएको छ । बजारको आधा भागमा बिहान र आधा भागमा बेलुका पानी दिनेगरी समय व्यवस्थापन गरिएको संस्थाले जनाएको छ । बढ्दो खडेरीका कारण अहिले खानेपानीको मुख्य ट्याङ्कीमा प्रतिसेकेन्ड ३३ लिटरका दरले पानी खसिरहेको छ । बजारको मागअनुसार पानीको आपूर्ति दिनका लागि प्रतिसेकेन्ड ६० लिटरका दरले पानी खस्नुपर्ने भए पनि आधाभन्दा कम पानी आएका कारण लोडसेडिङ गर्नुको विकल्प नभएको शिवालय खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष रविकुमार श्रेष्ठले जानकारी दिए । खडेरीका कारण २४ घण्टामा जम्मा २८ लाख ५१ हजार दुई सय लिटर पानीको आपूर्ति भइरहेको उनले बताए । बजारको मागअनुसार पानी वितरण गर्नका लागि प्रत्येक २४ घण्टामा ५१ लाख ८४ हजार लिटर पानी आवश्यकपर्ने श्रेष्ठले बताए । खडेरीका कारण बजारवासीले तरकारीखेतीका लागि पनि पानी प्रयोग गर्ने गरेकाले अन्य समयभन्दा बढी माग हुने गरेको उनले बताए । कतिपय ग्राहकले धाराबाटै मोटर लगाएर पानी तानिदिँदा सबैले समानरुपमा उपभोग गर्न नपाएको संस्थाको गुनासो रहेको छ । अहिले कुश्माबजारमा मोदी गाउँपालिकाको पाती खोलाबाट १६ लिटर, कुश्मा नगरपालिकास्थित खुर्कोटको केवादी खोलाबाट सात लिटर, फाप्रे खोला लिफ्टिङबाट पाँच लिटर र डिप बोरिङबाट पाँच लिटर गरी प्रतिसेकेन्ड ३३ लिटरका दरमा पानी आइरहेको छ । अब बर्खा लागेपछि प्रतिसेकेन्ड ३५ लिटरसम्म पानी आउने केवादी खोला अहिले सात लिटरमा पुगेको छ । पानीको आपूर्तिमा नै समस्या भएपछि मगंलबारदेखि लागू हुने गरेर संस्थाले बजारका विभिन्न क्षेत्रमा पालोअनुसार पानीको वितरण गर्न पानीको ‘लोडसेडिङ’ सुरू गरेको हो । कुश्मा बजारका विभिन्न भागहरूलाई छ भागमा बाँडेर तीमध्येका तीन वटामा बिहानको समय र तीन वटामा बेलुकाको समयमा मात्रै आपूर्ति व्यवस्था मिलाइएको अध्यक्ष श्रेष्ठले बताए । गर्मी तथा खडेरीकै बेलामा पानीको आपूर्ति माग बढी हुने भए पनि यही बेलामा पानीको समस्या झेल्नुपर्दा बजारवासी समस्यामा परेका छन् । रासस

ललितपुरको आनन्दवनमा डढेलो निभाउने क्रममा घाइते भएका दुई जनामध्ये एकको मृत्यु

काठमाडौं । ललितपुरको लेलेस्थित आनन्द हस्पिटल क्षेत्रमा मंगलबार दिउँसो लागेको डढेलो निभाउने क्रममा घाइते भएका दुई जनामध्ये एक जनाको मृत्यु भएको छ । गोदावरी नगरपालिका-४ तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा घाउते भएका स्थानीय शंकर पहरीको मृत्यु भएको ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए । कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो । डढेलो निभाउने क्रममा अर्का स्थानीय रमेश पहरी घाइते भएका थिए । गम्भीर घाइते रमेशको उपचार भइरहेको बताइएको छ। डढेलो निभाउने क्रममा अरू १५ जना फसेका थिए । उनीहरूको भने सकुशल उद्धार गरिएको जनाइएको छ । डढेलो फैलिएपछि त्यहाँस्थित कुष्ठरोग अस्पतालका ९३ जना बिरामी अन्यत्र सारिएको छ। हस्पिटल क्षेत्रमा लागेको डढेलो नियन्त्रणमा आएको छ । हस्पिटल क्षेत्रको आगो नियन्त्रणमा आए पनि वनमा लागेको आगो भने नियन्त्रणमा आएको छैन ।

रातो मच्छिन्द्रनाथको रथ धमाधम निर्माण हुँदै  (तस्बिरहरू)

काठमाडौं । नेपालको सबैभन्दा लामो जात्रा भनेर मानिने रातो मच्छिन्द्रनाथ जात्रा बैशाख २९ गते सुरु हुँदैछ । बैशाख २७ गते मच्छिन्द्रनाथको रथारोहणका लागि ललितपुरको पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथ जात्राका लागि निर्माण काम धमाधम भइरहेको छ । रथ निर्माणमा पाटनका बाराही गुठीका २३ जना र ञवा गुठीका १२ जना गुठीयार सहभागी छन् ।