प्रकाश सपुत : गायक र अभिनेतादेखि चलचित्र निर्देशनसम्म

गण्डकी । गायन तथा अभिनयमा रमाइरहेका कलाकार प्रकाश सपुत पछिल्लो समय चलचित्र निर्माण र निर्देशनमा होमिएका छन् । निर्देशकका रुपमा सपुतले आइतबार आफ्नो पहिलो चलचित्र ‘वसन्त’ निर्माणको घोषणा गरे । काठमाडौंमा आयोजित एक समारोहबीच चलचित्रको शीर्षक भिडियो सार्वजनिक गरियो । सपुत नारायण रायमाझीद्वारा निर्देशित चलचित्र ‘परेदशी २’ बाट अभिनेताका रुपमा उदाएका थिए । ‘वसन्त’मा पनि उनी आफै मुख्य पात्रका रुपमा देखिँदै छन् । ‘परदेशी २’को अनुभव र दर्शकबाट पाएको विश्वासले चलचित्र निर्माण र निर्देशनमा आँट दिलाएको सपुतले बताए । चलचित्र निर्देशनलाई उनले आफ्नो अर्को सपना भएको रुपमा अथ्र्याए । गायनमा प्रवेश गर्दाताका नै सपुतले चलचित्रमा अभिनेता बन्ने सपना रहेको सुनाए । गायनसँगै म्यूजिक भिडियोको अभिनय र नृत्यमा पनि सपुतलाई दर्शकले रुचाएका थिए । ‘अभिनेताका रुपमा ‘परदेशी २’लाई मैले परीक्षाका रुपमा लिएको थिएँ, निर्देशकीय हिसाबले ‘वसन्त’ अर्को परीक्षा हो’, सपुतले भने, ‘पहिलेदेखि सँगालेको सपना पूरा गर्न पाउँदा उत्तिकै उत्साहित पनि छु ।’ चलचित्र ‘वसन्त’ आफ्नो पुस्ताले बाँचेको समयको कथामा आधारित रहेको उनले सुनाए । ‘चलचित्रमा दर्शकले आफ्नै गाउँठाउँको कथा पाउनेहुनेछ, यसमा नेपालीपन छ, लवज छ, मौलिक सङ्गीत छ’, सपुतले भने, ‘चलचित्रले हाम्रै समयको कथा भन्छ, सामाजिक विषयवस्तु यसमा मुखरित छ ।’ चलचित्रमा आफ्नै जन्मथलो बागलुङको धम्जा गाउँको परिवश र कथावस्तु चित्रित हुने उनको भनाइ छ । सपुतले आफ्नो भोगाइ र अनुभवलाई चलचित्रको कथामा ढालेको बताए । विश्वकर्मा समुदायको युवकले लेखक बन्ने सपना पूरा गर्न गरेको सङ्घर्ष र उसको प्रेमकथालाई चलचित्रमा देखाउन खोजिएको सपुतले सुनाए । ‘मैले गायकका रुपमा जुन परिचय बनाएको छु, त्यसको सफलताको भारी कहीँ न कहीँ मेरो चलचित्र निर्माण, निर्देशन र अभिनयमा पनि जोडिन्छ’, उनले भने, ‘यो मेरा लागि अवसर र चुनौती दुवै हो, बाँकी त दर्शकको हातमा छ ।’ कथा, सङ्गीत, निर्देशन, पात्र र चरित्र निर्वाहका दृष्टिले चलचित्रमा नेपालीपन दिन खोजिएको उनको भनाइ छ । चलचित्रमा ‘वसन्त’ पात्रका रुपमा सपुत स्वयंको मुख्य भूमिका रहेको छ । अर्को मुख्य पात्र ‘शान्ति’का रुपमा अभिनेत्री स्वस्तिमा खड्का छिन् । चलचित्रमा अनुप बराल, प्रकाश घिमिरे, कमलमणि नेपाललगायतको अभिनय रहनेछ । गलबन्दी प्रोडक्सनको ब्यानरमा बन्ने उक्त चलचित्र आउँदो वसन्त याममा प्रदर्शनमा आउने सपुतले जानकारी दिए । ‘आउँदो चतै दसैँ र नयाँ वर्षको छेको पारेर चलचित्र प्रदर्शन ल्याउने तयारीमा छौँ’, उनले भने । चलचित्रको कथा र सङ्गीत पनि सपुत आफैले तयार पारेका हुन् । चलचित्रको सह–निर्देशन सुनिल विकले गर्ने जनाइएको छ । चलचित्रको कार्यकारी निर्मातामा मोहन विश्वकर्मा, अनुरोध भट्टराई र नेन्सी शेरचन रहेका छन् । बागलुङको काठेखोला गाउँपालिका–३ धम्जामा जन्मिएका सपुतका ‘गलबन्दी’, ‘बोलमाया’, ‘पिर’, ‘सकम्बरी’, ‘दमाइ महाराज’, ‘बदला बरिलै’, ‘कुरा बुझ्नुपर्छ’लगायत गीत चर्चित छन् । सामाजिक मुद्दालाई सिर्जनामा मुखरित गर्न पारङ्गत उहाँ गीतमा कथानकको प्रयोग गर्न सक्ने स्रष्टाका हिसाबले पनि चिनिन्छन् । सपुतका कतिपय रचनालाई लिएर सार्वजनिक विवाद र बहससमेत हुने गरेको छ । विसं २०६९ मा ‘मुसुमुस नहाँस मायाले’ बोलको लोकदोहोरी गीतबाट साङ्गीतिक यात्रा तय गरेका सपुत अहिलेका सर्वाधिक सफल कलाकारका रुपमा चिनिन्छन् । मौलिक गीत ‘गलबन्दी’बाट चर्चाको उचाइमा पुगेका उनका गीतका म्यूजिक भिडियोले युट्युबमा करोडौँ ‘भ्यूज’ पाएका छन् । साङ्गीतिक यात्राका क्रममा देशविदेशका कार्यक्रममा पुग्न भ्याइनभ्याइ नहुने सपुतलाई चलचित्र लेखन, निर्माण तथा निर्देशन कत्तिको फाप्ने हो त्यसका लागि भने आउँदो वसन्तु ऋतु कुर्नैपर्छ । रासस

भूकम्पले क्षति पुर्‍याएको अर्लाङ्दी मन्दिर जीर्णोद्धार

गोरखा । भूकम्पले क्षति पुर्‍याएको गोरखाको शहीद लखन गाउँपालिका–४ स्थित ताक्लुङमा रहेको अर्लाङ्दी मन्दिरको जीर्णोद्धार सम्पन्न भएको छ । राष्ट्रिय पुरातत्व विभागले विनियोजन गरेको ३४ लाख ५९ हजार रुपैयाँको लागतमा उक्त मन्दिर जीर्णोद्धार गरिएको अर्लाङ्दी मन्दिर लेखा तथा सुपरीवेक्षण समितिका संयोजक ध्रुव खनालले जानकारी दिए । विसं २०७२ वैशाख १२ गते बारपाक केन्द्रविन्दु भएर गएको विनाशकारी गोरखा भूकम्पले पुरातात्विक तथा ऐतिहासिक महत्व बोकेको उक्त मन्दिर पूर्णरूपमा क्षति भएको थियो । विभागले आर्थिक वर्ष २०७९/८० मा विनियोजन गरेको बजेटबाट मन्दिर जीर्णोद्धार गरिएको हो । मन्दिर जीर्णोद्धार गर्न पुरातत्व विभागले भक्तपुरको ‘एमबी एण्ड सन्स कन्स्ट्रक्सन’ सँग ठेक्का सम्झौता गरेको थियो । ‘पुरातत्व विभागले विनियोजन गरेको बजेटबाट मूल मन्दिरको साविकको स्वरूप नै कायम रहने गरी जीर्णोद्धारको काम सकिएको छ, त्यसबाहेक मन्दिर वरपरको व्यवस्थापनलगायतका काम भने मन्दिर संरक्षण समितिले आफँ गरिरहेको छ’, संयोजक खनालले भने । अर्लाङ्दी मन्दिर त्यस क्षेत्रको प्रमुख धार्मिक आस्थाको केन्द्र हो । प्रसिद्ध मनकामना मन्दिरको दिदीबहिनी रहेको विश्वास गरिने अर्लाङ्दी मन्दिर सयौँ वर्ष पुरानो रहेको मानिन्छ । ‘पुरातत्व विभागले गर्ने काम सबै सकिएको छ, मन्दिर बाहिर पहिरोले क्षति पु¥याएको थियो, अहिले पहिरो उकास्नेलगायतका काम धमाधम संरक्षण समितिले गर्दैछ’, उनले भने । संरक्षण समितिले चन्दा संकलन गरी मन्दिरको संरक्षणका साथै बाटो र धारा निर्माणको काम गरिरहेको छ । मन्दिर जीर्णोद्धार सम्पन्न भएसँगै ताक्लुङमा धार्मिक पर्यटकलाई जोड्न सकिने वडाध्यक्ष यामबहादुर थापाले विश्वास व्यक्त गरे ।

भूकम्प प्रभावित क्षेत्रमा क्षति आँकलन र स्थायी आवास लाभग्राही पहिचान गरिने

काठमाडौं । सरकारले भूकम्प प्रभावित क्षेत्रमा क्षति आँकलन र स्थायी आवास लाभग्राही पहिचानको प्रक्रिया अघि बढाएको छ । जाजरकोट, बझाङ र डोटी केन्द्रविन्दु भई गएको भूकम्पका कारण क्षति भएका निजी आवास, सार्वजनिक भवन र अन्य भौतिक संरचनाको प्रबलीकरण, पुनर्निर्माण र पुनःस्थापनाका लागि क्षति आँकलनको प्रक्रिया अघि बढाएको हो । विस्तृत क्षति आँकलनको अवधारण स्वीकृत गरी अर्थ मन्त्रालयमा बजेटका लागि सहमति माग्ने निर्णय भएको समितिका सदस्यसचिव एवं विपद् प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोख्रेलले जानकारी दिए । उक्त निर्णयसँगै भूकम्प प्रभावित क्षेत्रमा क्षति आँकलन तथा स्थायी आवास लाभग्राही पहिचानको काम सुरु गर्न औपचारिकरुपमा प्रक्रिया अघि बढेको हो । यसअघि गृहमन्त्री अध्यक्ष रहेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले ‘विपद् प्रभावितको निजी आवास प्रबलीकरण, पुनर्निर्माण तथा पुनःस्थापना अनुदान कार्यविधि– २०८१’ स्वीकृत गरिसकेको छ । प्राधिकरणका सहसचिव एवं नीति योजना तथा अनुगमन महाशाखा प्रमुख भरतमणि पाण्डेले अर्थको सहमति आउनेबित्तिकै स्थलगतरुपमा टोली खटाइने बताए । यसपटक लाभग्राही कायम गरी ‘क’, ‘ख’ र ‘ग’ तीन वटा वर्गमा वर्गीकरण गरी आवास पुनःनिर्माणको काम अघि बढाइने उनले बताए । कार्यविधिमा स्थानीय तहलाई बढी जिम्मेवार बनाइएको छ । क्षतिको प्रारम्भिक लेखाजोखा स्थानीय तहले गर्नेछ । क्षति आँकलन पनि पहिलो प्राथमिकतामा स्थानीय तहलाई दिइएको छ । स्थानीय तहले काम गर्न नसकेमा प्रदेश र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले समन्वय गर्नेछ । स्थानीय तहबाट आएको विवरणका आधारमा विश्लेषण गरी स्थानीय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले लाभग्राही पहिचान र कायम गर्नेछ । त्यसपछि लाभग्राही र वडाध्यक्षबीच सम्झौता हुनेछ । सम्झौताको दुई वर्षभित्रमा पुनःनिर्माण सक्ने कार्यविधिमा उल्लेख छ । पुनःनिर्माणको अनुदान तीन किस्तामा सक्ने र तीन समूहमा विभाजन गर्ने कार्यविधि तयार पारिएको छ । समूह ‘क’ का लागि पाँच लाख, समूह ‘ख’ मा परेका लाभग्राहीका लागि चार लाख र समूह ‘ग’ मा परेका लाभग्राहीलाई तीन लाख अनुदान दिइनेछ । पुनःस्थापनको हकमा घडेरी खरिद गर्न बढीमा तीन लाख दिइनेछ । घर निर्माणका लागि सरकारी बिक्री मूल्यको ९० प्रतिशत छुटमा ४० क्यूफिट काठ उपलब्ध गराइने जनाइएको छ । मनसुनजन्य विपदमा परेकाको हकमा २०७७ जेठ ३० गतेपछि, आगलागी भएकाको हकमा २०७७ मङ्सिर १ गतेपछि, भूकम्पबाट क्षति भएकाको हकमा २०७८ जेठ १ गते पछि तथा हावाहुरी, चट्याङ डुबान, बाढी, पहिरोको हकमा कार्यविधि स्वीकृत भएको मितिदेखि निजी आवास प्रबलीकरण, पुनःनिर्माण वा पुनःस्थापन लागु हुने जनाइएको छ । यसअघि २०७२ सालको भूकम्प पुनःनिर्माणका लागि पनि कार्यविधि बनाई भूकम्पको पुनःनिर्माण गरिएको थियो ।