नदी कटान नियन्त्रण गर्न बजेट अभाव

कैलाली । कैलाली र कञ्चनपुरमा नदी कटान रोकथाम तथा नियन्त्रण गर्न बजेट अभाव भएको छ । सुदूरपश्चिम प्रदेश सरकारले पर्याप्त बजेट विनियोजन गर्न नसक्दा नदी कटान नियन्त्रण गर्न तटबन्धको काम प्रभावकारी बन्न नसकेको भू–तथा जलाधार व्यवस्थापन कार्यालय धनगढीले जनाएको छ । कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ का लागि कैलाली र कञ्चनपुरमा गरी ४० योजना कार्यान्वनको चरणमा छन् । कैलालीमा ३२ र कञ्चनपुरमा आठ गरी ४० नदी कटानका योजना कार्यान्वयनको चरणमा रहेको कार्यालयका सूचना अधिकारी गणेश त्रिपाठीले बताए । प्रदेश सरकारले रातो किताबमा ४० योजनाका लागि मात्र बजेट विनियोजन गरी पठाएको उनले बताए । सुदूरपश्चिमका दुई तराईका जिल्लामा नदी कटान निणन्त्रणका लागि विनियोजन गरेको बजेट पर्याप्त नभएको उनको भनाइ छ । कैलाली र कञ्चनपुरमा ४० वटा नदी कटान नियन्त्रणका लागि चालु आवमा कुल बजेट रु चार करोड रहेको भू–तथा जलाधार व्यवस्थापन कार्यालयले जनाएको छ । प्रत्येक योजनामा रु १० लाख बजेट रहेको सूचना अधिकारी त्रिपाठीले जानकारी दिए । कैलाली र कञ्चनपुर गरी दुई जिल्लामा कार्यक्षेत्र रहेको सो कार्यालयले उपभोक्ता समिति मार्फत तटबन्धको काम गर्दै आएको जनाएको छ । ४० योजनामध्ये अधिकांश तटबन्धका योजना सम्झौता भई सञ्चालनमा रहेका छन् भने कतिपय योजनाको सम्झौता भइरहेको जनाइएको छ । कार्यालयले दिएको जानकारीअनुसार कैलालीको मोहन्याल गाउँपालिकाका वडा नं ३, ५, ६, गोदावरी नगरपालिका–४ हाटखोली, वडा नं ७ को बगरटोल, भजनी नगरपालिका वडा नं ४, ५, ६ कान्द्रा नदीमा तटबन्धको काम भइरहेको छ । धनगढी उपमहानगरपालिका वडा नं ५ सुकुटीखोला, वडा नं ३, १९, १२ स्थित मोहना नदी, वडा नं १७, १६ तथा घोडाघोडी नगरपालिका–५ र ९ स्थित कान्द्रा नदीमा तटबन्धको काम भइरहेको जनाइएको छ । यस्तै कञ्चनपुरको भीमदत्त, बेदकोट, शुक्लाफाँटा र कृष्णपुर नगरपालिका नदी तथा खोलामा तटबन्धको काम भइरहेको सूचना अधिकारी त्रिपाठीले जानकारी दिए । भू–तथा जलाधार व्यवस्थापन कार्यालयलले नदी खोला कटान संरक्षण, क्षतिग्रस्त पुनर्उत्थान, पोखरी निर्माण, सिँचाइ कुलो, मुहान संरक्षण, सिमसार क्षेत्र संरक्षणलगायतका क्षेत्रमा काम गर्दै आएको जनाइएको छ । कैलाली र कञ्चनपुरमा चुरे पहाड भएर बग्दै आएका नदीनाला र खहरे खोलाले बर्सेनि हजारौँ खेतीयोग्य जमिन कटान गर्दै आएको छ । नदी कटान रोकथाम तथा नियन्त्रणका लागि तटबन्ध निर्माण गर्न हरेक आर्थिक वर्षमा जनस्तरबाट माग बढ्दै आए पनि सम्बोधन हुन नसकेको जनाइएको छ । सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला मन्त्रालयको आर्थिक सर्वेक्षण २०७९/८० को तथ्याङ्कानुसार भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतका कार्यालयहरूले प्रदेशका नौवटै जिल्लामा एक सय ५७ किलोमिटर तटबन्ध गरेको छ । कैलालीमा खुटिया, मोहना, कान्द्रा, कर्णाली नदी र कञ्चनपुरमा दोदा, स्याली, महाकालीलगायतका नदीले सबैभन्दा बढी खेतीयोग्य जमिन कटान गर्दै आएको छ । ती नदी तथा खोलामा सङ्घीय सरकारअन्तर्गतका कार्यालयले तटबन्ध गर्दै आएका छन् ।

अनुदानमा ट्र्याक्टर मिलाइदिने भन्दै ९६ लाख ठगेर कार्यालय सहयोगी फरार

सिरहा । कृषि ज्ञान केन्द्र सिरहामा करार सेवामा कार्यरत कर्मचारी अजयकुमार कर्णले किसानलाई अनुदानमा ट्र्याक्टर मिलाइदिने आश्वासन दिँदै लाखौँ रकम असुल गरी फरार भएका छन् । अहिले पीडित किसान आफूहरूले अनुदानको ट्र्याक्टर पनि नपाएको र रकम फिर्ता नपाएको जनाउँदै चिन्तित भएका छन् । पीडितले आफूहरूको रकम फिर्ता हुनुपर्ने माग राखेपछि कर्णले ट्र्याक्टर नपाउने सबैको रकम फिर्ता गरिदिने जनाउँदै विभिन्न मितिका नबिल र ग्लोबल आइएमई बैंकको चेक सहीछाप गरी पीडितलाई दिएका थिए । पीडितले पटक–पटक बैंक जाँदा पनि उक्त खातामा रकम नभएको जानकारीपछि चेक अनादारमा बैंकिङ कसुरसम्बन्धी जिल्ला प्रहरी प्रशासन कार्यालयमा बैंकको अनादार चेक रिपोर्टसहित निवेदन दिएका बताइएको छ । प्रहरी कार्यालय सिरहाका अनुसार कर्ण फरार रहेको र खोजी जारी रहेको छ । सिरहा प्रहरी प्रवक्ता रवीन्द्रराज पाण्डेले फरार कर्णको ‘केवाइसी’ अध्ययन भइरहेको र प्राप्त भएका निवेदनको आधारमा बैंकिङ कसुरसम्बन्धी मुद्दा दर्ता गरी कारबाही अगाडि बढाइने बताए । आफूहरूलाई प्रलोभनमा पारी रकम असुली गरिएको औरही गाउँपालिका–२ स्थित तुलसीपुरकी पुनिता महतोले बताइन् । उनले भनिन्, ‘ठगी गर्ने कर्ण चिनजानकै व्यक्ति हुन् । कृषि ज्ञान केन्द्रका कर्मचारी पनि भएकाले विश्वास गरी ट्र्याक्टर पाउने आशले अग्रिम अनुदानको आधा रकम बुझाइयो । तर अहिले न ट्र्याक्टर पाइयो, न रकम फिर्ता नै ।’ उनका अनुसार कर्णले गत कात्तिक १९ र २० गते नबिल र ग्लोबल आइएमई बैंकको चेक दिएका थिए । तर उक्त खातामा पर्याप्त रकम नभएको बैंकले बताएको थियो । महतोजस्तै सुखीपुर नगरपालिका–५ का राजकिशोर यादव पनि ठगी गरी कर्ण फरार भएपछि आफू मानसिक तनाबमा परेको बताए । यादवमार्फत सिरहाको औरही, अर्नामा, कल्यानपुर, मिर्चैया, वरियारपट्टी, लक्ष्मीपुर पतारीलगायतका स्थानबाट ११ स्थानीयले जम्मा रू ९६ लाख कर्णलाई ट्र्याक्टर पाउने आश्वासनमा बुझाएको जानकारी दिए । उनका अनुसार प्रत्येक पीडित व्यक्तिबाट रु पाँचदेखि नौ लाखसम्म लिइएको थियो । केही बैंकमार्फत त केही नगदमा उक्त रकमको कारोबार गरिएको यादवले जानकारी दिए । पीडितहरूको यकिन तथ्या्क नभए पनि सयौँको सङ्ख्यामा हुनसक्ने स्थानीय मनोज यादव बताउछन् । उनका अनुसार नागरिकको कम्तीमा पनि रु १० करोडबराबरको रकम हिनामिना गरी कर्ण फरार भएका छन् । फरार कर्णको सिरहा नगरपालिका–१० स्थायी घर हो । अहिले दैनिक दर्जनौँ पीडित व्यक्ति घर पुग्ने गरेको कर्णको बुवा कृष्णदेवलाल कर्णले जानकारी दिए । छोराको बदमासीका कारण यतिबेला आफू तनाबमा परेको जनाउँदै प्रहरीमा शान्ति सुरक्षाको निवेदन दिएको उनले बताए । कृषि ज्ञान केन्द्र सिरहाले भने फरार रहेका कर्ण कार्यालय सहयोगीमात्र भएको जानकारी दिएको छ । पीडितका अनुसार कर्णले नायबसुब्बाको परिचयपत्र झुण्ड्याएको बताए पनि ज्ञान केन्द्रका प्रमुख नरेन्द्रकुमार महासेठले भने कर्ण कार्यालय सहयोगीमात्र भएको र विगत दुई महिनादेखि तलब पनि नलिएको जानकारी दिए । कर्णले सर्वसाधारणको रकम हिनामिना गरेको सम्बन्धमा आफू जानकार नभएको प्रमुख महासेठले बताए । रासस

मेटिएको इतिहास खोजी गर्दै कुहूँ

म्याग्दी । सिरानमा घना जङ्गल । जङ्गलको पुछारमा मालिकादेवीलाई शिरमा राखेर लोप भएको खाम भाषा र मेटिएको इतिहासको झझल्को दिँदै छ म्याग्दीको कुहूँ गाउँले । जिल्लाको मङ्गला गाउँपालिका–१ मा पर्ने यो गाउँ चिटिक्क परेको छ । प्राकृतिक सौन्दर्य र यहाँको ऐतिहासिक महत्वले मगर बाहुल्यगाउँमा १७ औँ शताब्दीको सुरुङमार्ग र तत्कालीन पर्वत राज्यसँग सम्बन्धित किंवदन्ती रहेका छन् । तर यहाँका मगरसमुदायले खाम भाषा र लिपिको संरक्षण गर्न नसक्दा इतिहास मेटिएको छ । तत्कालीन पर्वत राज्यका राजाले प्रयोग गर्ने गरेको सुरुङमार्ग भेटिएको छ । जिल्लाकै सबैभन्दा पुरानो सुरुङमार्ग भए पनि प्रचारप्रसार र पूर्वाधारको अभावमा सो सुरुङमार्ग ओझेलमा परेको छ । बाइसेचौबिसे राज्यअन्तर्गत तत्कालीन समयमा शक्तिशाली मानिएका राजा डिम्ब मल्लले शत्रुसँग सुरक्षित रहन प्रयोग गर्ने गरेको सो सुरुङमार्गको प्रचारप्रसार गरी आवश्यक पूर्वाधारको निर्माण गर्ने हो भने इतिहासका अध्येता र पर्यटकका लागि आकर्षक गन्तव्यस्थल बन्नसक्ने प्रशस्तै सम्भावना रहेको स्थानीय बुद्धिजीवी एवं दीपशिखा मावि कुहूँका भूतपूर्व प्रधानाध्यापक भद्रबहादुर जिसीले बताए । उनका अनुसार म्याग्दीको प्रसिद्ध पर्यटकीय एवं धार्मिकस्थल मालिकाको धुरी जाने बाटोमा पर्ने सो सुरुङमार्गको लम्बाइ करिब ५० मिटर रहेको छ । पूर्व–पश्चिम फैलिएको सो सुरुङमार्गको पूर्वतिरबाट प्रवेश गरेर पश्चिमतर्फ ५० मिटरको दूरीमा रहेको मालिका मन्दिरमा निस्कन सकिन्छ । गुफाको पूर्वतर्फ करिब ७० मिटरको दूरीमा तत्कालीन कुहूँले राजाको राजधानी रहेको थुमाको अवशेष मात्र बाँकी रहेको छ । गाउँको शिरानमा उच्च स्थानको समथर मैदानमा राजधानी थुमामा काजिला (सानो दरबार) बनाएर तत्कालीन पर्वते राजा बस्ने गर्दथे भन्ने किंवदन्ती रहेको छ । १६।२ वर्ग किमी क्षेत्रफलमा फैलिएको यो गाउँमा दुई हजार, नौ सय, ४२ जनसङ्ख्या रहेको छ । मगरको बाक्लो बस्ती रहेको कुहूँ गाउँ प्राकृतिक, ऐतिहासिक, जैविक र सांस्कृतिक सम्पदाले महत्वपूर्ण भए पनि भाषाको अभावमा कैयौँ सम्पदा पहिचान गर्न नसक्दा यो गाउँको इतिहास उजागर हुन नसकेको मङ्गला गाउँपालिका– १ का वडाध्यक्ष एकजित रोकाले बताए । ‘पछिल्लो समय कुहूँ पुख्र्यौंली समाजले आफ्नो भाषा र यसको इतिहासको खोजी गरिरहेको छ, मगर खाम भाषाको लिपिको पनि खोजी हुँदैछ’, वडाअध्यक्ष रोकाले भने । मगर जातिका मगर ढुट, काइसे र खाम गरी तीन वटा भाषा प्रचलनमा रहेका रहेका छन् । म्याग्दीको कुहूँका मगरले खाम भाषा बोल्ने गरेका र अहिले त्यहाँ खाम भाषा लोप भइसकेकाले त्यस क्षेत्रको इतिहासका बारेमा धेरै कुरा बाहिर आउन नसकेको उनको भनाइ छ । चिटिक्क परेको बाक्लो बस्ती, खेतीका लागि उर्वर जमिन, प्राकृतिक सुन्दरताले ऐतिहासिक महत्वको ठाउँ भएर पनि कुहूँ गाउँ बत्तिमुनिको अध्याँरो नियतिलाई भोग्न बाध्य भएको छ । यहाँ रहेको १७औं शताब्दीको सुरुङ, मालिका देवीको किंवदन्ती, गाउँको शिरानमा रहेको जङ्गलमा रहेका जैविक सम्पदा, ऐतिहासिक पर्वत राज्यमा कुहूँले गरेको योगदान आदि विषय खाम भाषा र लिपिको अभावका कारण इतिहासको गर्भमा नै रहेका स्थानीय टेक रोकाले बताए । उनका अनुसार सुरुङ रहेको स्थानको पूर्वतर्फबाट तामाको सिक्का खसाल्ने हो भने त्यो सिक्का बजेको आवाज तीन मिनेटसम्म सुन्न सकिन्छ । सुरुङ रहेको पहराको शिरानबाट म्याग्दीका अधिकांश गाउँ, हिमशृङ्खला र वनजङ्गलको मनमोहक दृश्य देखिन्छ । स्थानीय ज्येष्ठ नागरिकका अनुसार सो सुरुङको प्रवेश भाग मालिका मन्दिरको छेउबाट कुखुराको भाले भित्र छिराउने हो भने हालको बेनी नगरपालिका-४, सिङ्गा तातोपानीमा रहेको प्राकृतिक चिकित्सालय तातोपानी कुण्डको छेउमा रहेको ओढारबाट निस्कने गरेको किंवदन्ती रहेको छ । सो सुरुङको भित्रितर्फको मध्यभाग दुईतिर फैलिएको छ । पूर्व–पश्चिम सिधा मार्ग रहेको छ भने सुरुङभित्र तलतिर जाने ओढार पनि रहेको बताइन्छ । सुरुङको प्रचारप्रसार गरी त्यसको ऐतिहासिक महत्वका बारेमा बुझाउन र देखाउन सक्ने हो भने सो स्थान म्याग्दीको आकर्षक ऐतिहासिक विरासत बोकेको पर्यटकीय स्थान हुनसक्ने स्थानीय बुद्धिजीवीको भनाइ छ ।