कमाउने थलो बने मेला-महोत्सव, स्थानीय उत्पादकलाई भ्याईनभ्याई
कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–९ रामघाटकी सुशीला चौधरी दुनाटपरी बनाउने काम गर्छिन् । गाउँकै अन्य नौ जना महिलालाई जुटाएर उनले दुनाटपरी बनाउने उद्योग नै सञ्चालन गरेकी छन् । गत मङ्सिरयता दुनाटपरी बनाउन थालेका उनीहरूलाई आजभोलि दुनाटपरी बेच्न भ्याइनभ्याइ छ । कञ्चनपुरको महेन्द्रनगरमा उद्योग वाणिञ्ज सङ्घले आयोजना गरेको मेलामा उनीहरूको दैनिकी व्यस्त बनाएको छ । ‘मेला प्रदर्शनी कक्ष थापेका छौँ । गाउँमै उत्पादित दुनाटपरी बेच्छौँ,’ उनले भनिन्, ‘दुनाटपरी निकै रुचाइएको छ । यसले बजारीकरणमा टेवा पुर्याएको छ ।’ विभिन्न आकारको दुनाटपरी उत्पादन गरेर बिक्रीका लागि राखिएको छ । गाउँ नजिकैको रामघाट सामुदायिक वनबाट पात संकलन गरेर दुनाटपरी तयार गर्ने गरिन्छ । ‘दुनाटपरी बनाउनेमा कार्यमा दश महिला संलग्न छन् । बिहानै जङ्गल गएर सालको पात टिपिन्छ,’ उनले भनिन्, ‘पात सुकाएर पछि सिन्काले जोडिन्छ । त्यसपछि मेसिन राखेर दुनाटपरीको आकार दिइन्छ ।’ बैतडीको दोगडाकेदार गाउँपालिका–७ का टेकबहादुर कार्कीले पनि महेन्द्रनगरको महोत्सवमा डोको, सुप्पो, दलहन, अचार, घ्यू, महलगायत स्थानीय उत्पादनको प्रदर्शनी कक्ष राखेका छन् । उनले बैतडीमा निगालोबाट तयार पारिका डोको, सुप्पा बिक्रीका लागि महेन्द्रनगर ल्यााएका छन् । ‘कैलाली कञ्चनपुरका मेला महोत्सवमा बिक्री गरिन्छ । बैतडीमा उद्यु उद्यममा उत्पादन गरिएका वस्तु बिक्री गरिन्छ,’ उनले भने, ‘कतिपय वस्तु स्थानीयबाट संकलन गरेर ल्याउँछौँ । प्रचारप्रसार राम्रो भएको छ । बिक्री पनि राम्रै छ ।’ सङ्घको आयोजनामा यही फागुन २१ गतेदेखि महेन्द्रनगरमा ‘सुदूरपश्चिम प्रदेशस्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव’ जारी छ । मेलाले स्थानीयस्तरमा उत्पादित कृषि, खाद्यसहितका वस्तु तथा सेवाको प्रचारप्रसार, प्रवर्द्धन र बजारीकरणमा टेवा पुर्याएको सङ्घका अध्यक्ष पिताम्बर जोशीले विश्वास व्यक्त गरे । ‘स्थानीयस्तरमा उत्पादित खाद्यान्न, कृषि उत्पादन तथा लघु उद्यमलाई प्राथमिकतामा राखिएको छ,’ उनले भने, ‘दिनहुँ सयौँले अवलोकन गरिरहनुभएको छ । यसले यहाँ उत्पादनको प्रचारप्रसार भइरहेको छ ।’ पहिलो पटक मेलामा थारु समुदायको मौलिक परिकारसहितको थारु गाउँ पनि राखिएको छ । त्यहाँ थारु मौलिक पहिचान झल्किने सङ्ग्रहालय तथा परिकार ढिक्री, घुँगी, माछा, सुँगुरको मासुलगायत छन् । ‘मेला महोत्सवमा थारु परिकार बेच्न लागेको आठ वर्ष भयो । एक याममा तीन÷चार लाख आम्दानी हुन्छ,’ कैलालीको जोशीपुर गाउँपालिका–६ सिमरीका अञ्जुराज डगौँरा भन्नुहुन्छ, ‘मेला महोत्सव हाम्रो लागि कमाउने थलोजस्तै बनेको छ ।’
संस्कृति जगेर्ना र पहिचान खोज्दै जनजाति
महोत्तरी । बर्दिबासमा आदिवासी जनजातिको चौथो महोत्सव जारी छ । गत बिहीबारदेखि सुरु भएको १२ दिने महोत्सवमा आफ्नो जातीय पहिचान र संस्कृतिको जगेर्ना नै मुख्य रुपमा यहाँका जनजातिले उठाएका छन् । आगामी चैत ५ गतेसम्म रहने नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्को आयोजनामा भएको महोत्सवमा यहाँका नौ जनजाति समुदाय सरिक छन् । त्यसमा मधेसका रैथाने दनुवार, थारू, धानुक तथा पर्वते मूलका भए पनि यहाँ पुस्तौँदेखि बसोबास गर्दै आएका मगर, तामाङ, घर्ती, नेवार, राई किरात र माझी सम्मिलित छन् । पाका उमेरका दनुवारको अहिले पनि कम्मरमा ‘डेली’ (माछा समातेर राखिने बाँसको चोयाले बनेको ढुङ्ग्रो) भिरेर छिपछिपे पानी देख्नासाथ ‘खौकी’ (माछा मार्ने सानो जाल) डुबाउनु दैनिकी छ । मधेसका आदिवासी दनुवारको विवाहमा अहिले पनि दुलहा (बेहुला) ले काँधमा तरबार भिरेर विधि सम्पन्न गर्ने चलन छ । दनुवार महाभारतकालका कौरव, पाण्डवका सशस्त्र शिक्षाका गुरु द्रोणाचार्यसँग पुख्र्यौली साइनो जोडछन् । द्रोणसँगको साइनोले ‘द्रोणवार’ भनिँदै पछि आफ्नो जाति ‘दनुवार’ भनिन लागेको बताउने यिनीहरु आफ्नो जातीय संस्कृति झल्काउने पहिरन र सामग्रीका साथ महोत्सवमा सरिक छन् । कृषि मुख्य पेसाका दनुवार, थारूले परम्परागत हलोजुवा, कोदालोसहितका कृषि ज्यावलको प्रदर्शनी र फरकफरक चाडपर्वको झलक दिने परिकार महोत्सवमा पस्कँदै छन् । महोत्सवमा जाडोयाममा खाइने चामलको पीठो बफ्याँएर पकाइने बगिया, तिलासक्रायतलाई र छठ पर्वका ठकुवाभुसुवा तथा दीपावली पर्वका विशिष्ट परिकार घुरियालो (सेलजस्तै) सहितका मिष्टान्न परिकार छन् । वेशभूषा, बोलीचाली, चाडबाड र परम्परागत व्यवसाय उस्तैउस्तै रहेका थारू, दनुवार जनजातिमात्र नभएर यहाँका मूल रैथाने आदिवासी मानिन्छन् । महोत्सवको मुख्य पक्ष नै जातीय परम्परा, संस्कृति परम्परा र रीतिथिति देखाउनु, बुझाउनु र सम्झाउनु रहेको दनुवार जागरण समाज महोत्तरीका सदस्य गौशाला–९ बिसरपुरका बासिन्दा पविसिंह दनुवार बताउँछन् । महोत्सवमा थारूले ‘घुँगी’ (शङ्खे कीराजस्तै सानो आकारको जीव) का परिकार, सिद्रा र कोदोका रोटीको स्वाद अवलोकनकर्तालाई चखाएका छन् । यसैगरी, हातमा माछा मार्ने खौकी (जालजस्तै) र कम्मरमा ‘डेली’ (खौकीमा परेका माछा राख्ने बाँसको चोयाले बनेको एक प्रकारको भाँडो) भिरेर थारू र दनुवार युवाले महोत्सवमा सांस्कृतिक कार्यक्रम पस्कँदैछन् । यसैगरी, जातीय पहिरनमा सजिएका तामाङ, मगर, राई किरात, घर्ती, नेवार र माझी युवायुवती सबैको आँखामा पर्ने गरेका महोत्सव अवलोकनकर्ताको प्रतिक्रिया हुने गरेको छ । महोत्सवमा नेवारले १३ परिकार रहने नेवारी खाजा पस्कँदै छन् । महोत्सवले पर्यटन र कृषि प्रवर्द्धनमा जोड दिएको छ । ‘हाम्रो समृद्धिको आधार नै पर्यटन प्रवद्र्धन र आधुनिक कृषि प्रणालीको विकास हो,’ आयोजक संस्थामा आबद्ध दनुवार जागरण समाजका सुखासिंह दनुवार भन्छन्, ‘यो महोत्सवलाई यसै कुरामा केन्द्रित गर्दैछौँ ।’ महोत्सवमा विभिन्न जातीय परम्परा र संस्कृति झल्काउने कार्यक्रमसँगै स्थानीय कृषि उत्पादन तथा लघुउद्यममा निर्मित सामग्री प्रदर्शनीमा राखिएका छन् । महोत्सवले स्थानीय उद्यम र कृषिबारे चासो बढाउने तथा राज्यका निकायलाई यिनको प्रवर्द्धनमा झकझक्याउने अपेक्षा राखिएको महासङ्घले जनाएको छ । महोत्सवमा स्थानीय कृषि उत्पादन, स्थानीय सीपबाट उत्पादित सामग्री र परम्परागत घरपरिवार प्रयोजनका सामग्रीको प्रदर्शनी तथा बेचबिखनका कक्षबारे दर्शकले चासोपूर्वक अवलोकन गरेका छन् । यी सामग्रीका एक सयभन्दा बढी प्रदर्शनी र बिक्री कक्ष सञ्चालन गरिएको छ । महोत्सवको १२ दिने अवधिमा पाँच लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । मुलुकमा विभिन्न समयका राजनीतिक अधिकारका आन्दोलनले सफलता पाउँदै गए पनि पहिचानको आन्दोलन भने अझै निर्णायक बन्न नसकेको आदिवासी जनजातिको बुझाइ छ । महोत्सवमार्फत पहिचानसँग जोडिएका मुद्दाबारे थप बहसको वातावरण तयार गर्दै पछिल्लो पुस्तालाई आ–आफ्ना संस्कृति, परम्परा पछ्याउन (अनुसरण गर्न) प्रेरित गर्नु मुख्य ध्येय भएको आयोजक संस्थाका अध्यक्ष धननारायण श्रेष्ठको भनाइ छ । रासस
बुढासुब्बा गोल्ड कप फुटबल प्रतियोगिता आइएमई पेबाट टिकट काटेर हेर्न मिल्ने
काठमाडौं । धरानमा भइरहेको प्रतिष्ठित अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्ड कप फुटबल प्रतियोगिता आइएमई पेबाट सजिलै टिकट काटेर हेर्न मिल्ने भएको छ । फागुन २६ शनिबार देखि सुरु हुने बुढासुब्बा गोल्ड कप फुटबल २४ औँ संस्करण हेर्न सहज बनाउने उद्देश्यले आइएमई पेबाट सजिलै टिकट काटेर हेर्ने व्यवस्था मिलाइएको हो । चैत ३ गतेसम्म आयोजना हुने प्रतियोगिता अवधि भर आइएमई पे बाट टिकट काट्न मिल्ने छ । यस पटकको बुढासुब्बा गोल्ड कप फुटबल प्रतियोगितामा ८ वटा क्लब सहभागी छन् ।