नेपालले भोलि भारतसँग खेल्दै, यस कारण जित्न सक्छ नेपाल
काठमाडौं । एसियाली खेलकुदको पुरुष क्रिकेटमा नेपालले क्वार्टरफाइनलमा भारतसँग खेल्ने भएको छ । चीनमा जारी १९ औँ एसियाली खेलकुदको क्वाटरफाइलमा नेपालले भारतसँग खेल्ने भएको हो । सोमबार भएको लक्की ड्रबाट नेपाल क्वाटरफाइनलमा भारतसँग भिड्ने पक्का भएको हो । नेपाल र भारतबीचको क्वाटरफाइनल खेल मंगलबार बिहान हुनेछ । नेपालले एसियन गेम्समा भारतसँग पहिलो पटक टी-२० आई खेल्ने भएको हो । पछिल्लो समय नेपाली टिमको आत्मविश्वास उच्च छ । केही दिनअघि मात्र नेपालले भारतको सिनियर टिमविरुद्ध ब्याटिङमा राम्रो प्रदर्शन गरेको थियो । यस्तै, नेपालले जारी एसियन गेम्सको समूह चरणमा पनि उत्कृष्ट प्रदर्शन ग¥यो । समूह चरणमा नेपालले मंगोलियालाई २७३ तथा माल्दिभ्सलाई १ सय ३८ रनले हराएको थियो । भारत, पाकिस्तान, श्रीलंका, अफगानिस्तान र बंगलादेश विश्वकप क्रिकेटको तयारीमा छन् । त्यसैले उनीहरुले एसियाली खेलकुदमा दोस्रो श्रेणीको टिमलाई पठाएका छन् । त्यसैले पनि नेपालले खेल आफ्नो पक्षमा पार्न सक्ने ठूलो सम्भावना छ ।
धमाधम जागिर छोडेर विदेश जाँदै प्रहरी पनि, ५ वर्षमा ७ हजारले छाडे काम
काठमाडौं । पछिल्लो समय विभिन्न पेशा व्यवसाय छोडेर विदेश जाने अभ्यास बढिरहेको बेला त्यो अभ्यास नेपाल प्रहरीमा पनि देखिएको छ ।नेपाल प्रहरीमा जागिर खान भर्ती भएर अवधि पूरा नगरी वार्षिक रुपमा सयौं प्रहरीले जागिर छाड्ने गरेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो पाँच वर्षमा ६ हजार ९ सय ८३ जना प्रहरीले सेवा अवधिको बीचमा नै राजीनामा दिएर जागिर छाडेका छन् । यसरी जागिर छाड्नेहरुमा कतिपयको पेन्सन अवधि पुगेको छ भने कतिपयले पेन्सन अवधि पुगेको छैन । नेपाल प्रहरीले केन्द्रीय कार्यालयले विकासन्युजलाई उपलब्ध गराएको सूचना अनुसार आर्थिक वर्ष २०७५/७६ र ०७६/७७ मा मात्रै ५ हजार एक सय ५० जना प्रहरीले जागिर छाडेका छन् । सो अवधिमा एकजना प्रहरी नायव महानिरिक्षक, ४ जना प्रहरी उपरिक्षक, ९ जना प्रहरी नायब उपरिक्षक र २६ जना प्रहरी निरिक्षकले जागिर छाडेका छन् । सो अवधिमा प्रहरी नायब निरिक्षक २ सय २८ जना, प्रहरी सहायक निरिक्षक ६ सय ८० जना र सबैभन्दा धेरै प्रहरी हवल्दार ३ हजार ४ सय ९ जनाले जागिर छाडेकाे तथ्रयांकमा उल्लेख छ । ६ सय ६३ जना प्रहरी जवानले सो अवधिमा प्रहरीको जागिर छाडेको विकासन्युजलाई प्राप्त सूचनामा उल्लेख छ । आर्थिक वर्ष २०७५/७६ र ०७६/७७ को तुलनामा त्यसपछिका आर्थिक वर्षमा भने प्रहरीले जागिर छाड्ने क्रममा केही कमि आएको देखिन्छ । आर्थिक वर्ष ०७७/७८ मा सबै पदमा कार्यरत ७ सय तीन जना, ०७८/७९ मा ४ सय ९८ जना र आर्थिक वर्ष ०७९/८० मा ६ सय ३२ जनाले जागिर छाडेको सूचनामा उल्लेख छ । जागरि छोड्नेमा हवल्दार बढी प्रहरी कार्यालयबाट प्राप्त सूचनाअनुसार नेपाल प्रहरीमा सेवा प्रवेश गरेर बीच अवधिमा सबैभन्दा धेरै जागिर हवल्दारहरुले छाड्ने गरेको देखिन्छ । पछिल्लो पाँच वर्षमा ६ हजार ९ सय ८३ जनाले जागिर छाड्दा प्रहरी हवल्दार मात्रै ३ हजार ९ सय ८६ जनाले जागिर छाडेका छन् । त्यसपछि धेरै जागिर छाड्नेमा प्रहरी सहायक निरिक्षक १ हजार ९९ र प्रहरी जवान ९ सय ८० जना रहेका छन् । झण्डै बाँकी १४ वर्ष सेवा अवधि कायम नै रहँदा ती प्रहरी हवल्दारहरुले जागिर छाडेका हुन् । तथ्यांक स्रोत : नेपाल प्रहरी केन्द्रीय कार्यालय किन छाड्छन् प्रहरीले जागिर ? प्रहरी प्रधान कार्यालयका अनुसार प्रहरीहरुले थप राम्रो अवसर र वैदेशिक रोजगारीमा जानका लागि जागिर छाड्ने गरेका छन् । नेपाल प्रहरीका प्रवक्ता कुबेर कडायतले प्रहरीको जागिरमा भन्दा राम्रो अवसर देखेर सेवा अवधि नपुग्दै जागिर छाड्ने गरेको बताउँछन् । उनले वैदेशिक रोजगारी र घरायसी कारण देखाउँदै प्रहरीले जागिर छाड्ने गरेको प्रतिक्रिया दिए । ‘सबैभन्दा बढी जागिर छाड्नेहरु वैदेशिक रोजगारमा जान्छन्, थप अवसरकाे कारणले पनि काम छाड्छन्, पारिवारिक कारण पनि देखाउँछन्’, उनले भने, ‘पहिले पेन्सन १६ वर्षको थियो, पछि परिवर्तन भएर २० वर्ष भयो, १६ वर्षमा नै पेन्सन पाकेकाहरु किन अब २० वर्ष कुर्नु भनेर राजीनामा दिएका हुन् ।’ प्रवक्ता कडायतका अनुसार हवल्दार भन्दा तलको पदीय जिम्मेवारीमा रहेकाले भने सेवा अवधि नपुगिकन पेन्सन नपाउने हुँदा राम्रो अवसर पाएको हुँदा त्यसै छाडेको बताए । निजामती कर्मचारी, शिक्षक लगायतका पेसामा आबद्ध हुनेहरुको उमेर हदको अन्तिम सम्म जागिरमा नै मोह हुने गरेकोमा प्रहरीमा भने बीचमा नै जागिर छाड्नेहरुको संख्या ठूलो देखिएको छ । जुन श्रम र समय अनुसारको सेवा सुविधा नभएको कारणले हुने गरेको धेरैको तर्क छ ।
कुशलकी आमा भन्छिन् – आक्रामक खेल्ने भएकाले छिट्टै आउट हुने हो कि भन्ने चिन्ता लाग्छ तर, अस्तिको खेल पूरै हेरेँ
काठमाडौं । चीनको हान्झाउ सहरमा १९औँ एसियाली खेलकुदअन्तर्गतको मङ्गोलियाविरुद्धको पहिलो टी–२० क्रिकेट प्रतियोगिता चलिरहँदा काठमाडौँमा रहेकी क्रिकेटर कुशल मल्लकी आमा शर्मिलाले उक्त खेल सुरुदेखि अन्तसम्म पूरै हेरिन् । प्रतियोगितामा सहभागी हुन चीन जाँदा बिदाइ गरेकी शर्मिलाले बुधबार भएको खेल घरमा बसेर साग केलाउँदै पूरै हेरिरहँदा नेपाली क्रिकेट टोलीले मङ्गोलियालाई २७३ रनको भारी अन्तरले पराजित गरेपछि उनमा कुनै खुसीको कुनै सीमा रहेन । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा कुशलले हरेक खेल खेल्दा आमा शर्मिलाले प्रायः छोराको खेल नहेर्ने भए पनि यसपटक भने पूरै खेल हेरिन् । उनले छोरा कुशलको हरेक खेलमा आक्रामक प्रस्तुति हुने भएकाले कतै छिट्टै नै खेलबाट बाहिरिनुपर्ने हो कि भन्ने चिन्ताले टिममा अन्य खेलाडीको प्रस्तुति हेरे पनि कुशलको खेल प्रायः नहेर्ने गरेको बताउँछिन् । तर यसपटकको खेल भने सुरुदेखि नै हेरेको र कुशलले निकै उत्कृष्ट खेलेको देख्दा खुसी लागेको सुनाइन् । बुटवल उपमहानगरपालिका–११ देवीनगरका स्थायी निवासी कुशलको परिवार हाल काठमाडौँ चन्द्रागिरि नगरपालिका मातातीर्थमा बसोबास गर्दै आएको छ । “म छोराको खेल कहिलेकाहीँ मात्र हेर्छु, ऊ सधैँ आक्रामक खेल्छ त्यसैले छिट्टै आउट हुने हो कि भन्ने चिन्ता लाग्छ”, उनले भनिन्, “अस्तिको खेल त घरमा साग केलाउँदै सुरुदेखि नै पूरै हेरेँ निकै उत्कृष्ट प्रस्तुति पो देखायो त, अनि खुसीको कुनै सीमा नै रहेन ।” कुशलका पिता रोमन्त वैदेशिक रोजगारीमा छन् । मल्ल परिवारका एकमात्र सन्तान कुशल खेलकुदको क्षेत्रबाट देशकै नाम उँचो राख्ने गरी १९औँ एसियाली खेलकुदअन्तर्गतको टी–२० क्रिकेट प्रतियोगितामा उत्कृष्ट नतिजा ल्याएकामा विदेशमा रहेका बाबु रोमन्त झनै खुसी छन् । उनी खुसी हुनुको कारण पनि आफैँ खेलाडी भएकाले पनि हो । कुशलका पिता रोमन्त पनि तेक्वान्दोका ब्याकबेल्ट प्राप्त खेलाडी छन् । कुशलका क्रिकेट गुरु नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वखेलाडी तथा प्रशिक्षक शक्ति गौचन छन् । जुन बेल कुशल होराइजन स्कुलमा अध्ययन गर्न आए त्यसबेलादेखि नै उनले क्रिकेटको योग्य प्रशिक्षक गौचनको साथ पाए । कुशलको क्रिकेटको विकासमा गौचनको महत्त्वपूर्ण योगदान रहेको शर्मिला बताउँछन् । “गौचन सरले घरमै कैयनपटक आएर हामीलाई समेत बाबुको क्रिकेटमा राम्रो सम्भावना छ, अगाडि बढ्न सक्छ भन्नुहुन्थ्यो”, उनले भनिन्, “अहिलेको अवस्थामा पुर्याउनमा गौचन सरले नै धेरै गर्नुभएको हो ।” कुशललाई करिब १२ वर्षको उमेरदेखि नै प्रशिक्षित गर्दै आएका राष्ट्रिय प्रशिक्षक गौचनले सानै उमेरदेखि नै कुशलमा क्रिकेटप्रतिको लगाव र मेहनतले नै अहिले यो अवस्थामा आएको बताइन् । क्रिकेट सिक्दै जाँदा उनीमा देखिएको ‘पावर हिटिङ’ र ‘लेफ्टहेन्डेड’कै कारण उसले खेललाई थप क्षमता प्रदर्शन गर्न सकेको बताउँछन् । “क्रिकेट खेल हो कहिले उतारचढाव भइरहन्छ, उसको खेलप्रतिको लगाव र निरन्तरताको परिणाम अहिले देखिन थालेको मान्न सकिन्छ”, उनले भनिन्, “खेलमा थप मेहनत, लगानी गर्दै जाने हो भने अझै राम्रो परिणाम आउन सक्छ, उसको क्रिकेटको भविष्य राम्रो छ ।” प्रतियोगितामा कुशलले जम्मा ३४ बलमा शतक पूरा गर्दै टी–२० अन्तर्राष्ट्रियमा क्रिकेटमा सबैभन्दा छिटो शतक बनाउने खेलाडीको कीर्तिमान कायम गरेका हुन् । उमेरले भर्खर १९ वर्ष पुगेका उनी नेपाली क्रिकेटमा बायाँहाते आक्रामक ब्याटर हुन् । उनको ब्याटिङ गर्दा छक्का वा चौका हुने सम्भावना प्रशस्त बन्ने गर्छ । कुशल क्रिकेट खेलप्रति सानैदेखि रुचि राख्ने गर्दथे । सुरुमा प्रारम्भिक शिक्षा बुटवलको तत्कालीन वडा नं ५ स्थित इडन बोर्डिङ स्कुलबाट सुरु भएको हो । पछि माध्यमिक शिक्षासँगै उच्च माविसम्मको अध्ययन बुटवलकै न्यू होराइजन स्कुलमा भएको हो । “सानैमा खेलौनाको ब्याट र टिटीबल बोकेर खाली चौरमा साथीहरूसँग क्रिकेट भन्दै दौडन्थ्यो, पछि ठूलो भएपछि क्रिकेट बलमै चौरमा साथीहरूसँग खेल्दा छिमेकीका घरका झ्यालमा लागेर सिसा फुटेर कयौँपटक गाली खाएको अहिले पनि सम्झना आउँछ”, शर्मिलाले भनिन्, “हामी परिवारबाट भने कहिल्यै खेल्न रोक लगाएनौँ बरु क्रिकेटसँगै पढाइ पनि सँगसँगै अगाडि बढाए हुन्थ्यो भन्ने लाग्थ्यो ।” कुशलको कीर्तिमानी शतक एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक कम उमेरमा अर्धशतक बनाउने खेलाडी बनेका कुशलले अहिले फेरि नयाँ कीर्तिमान बनाएका छन् । उनले सन् २०२० मा आइसिसी विश्वकप लिग–२ मा अमेरिकाविरुद्ध डेब्यु खेलमा अर्धशतक बनाउँदै विश्व कीर्तिमान बनाएका थिए । मल्लले १५ वर्ष तीन सय ४० दिनमा अर्धशतक बनाउँदै विश्व कीर्तिमान बनाएको रेकर्ड दर्ज भएको छ । यसअघि नेपालका रोहितकुमार पौडेलले १६ वर्ष एक सय ४६ दिनमा युएइविरुद्ध अर्धशतकको कीर्तिमानलाई कुशलले पुनः रोहितको कीर्तिमान आफ्नो नाममा लेखाउन सफल भएका थिए । अहिले जारी एसियाली खेलकुदमा मल्लले ५० बलमा आठ चौका र १२ छक्कासहित एक सय ३७ रन अविजित बनाएर कीर्तिमान कायम गरे । उनले मात्र ३४ बलमा शतक प्रहार गरेका थिए । नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा विरलै प्राप्त गर्ने सफलतासहितको कीर्तिमान बनाएपछि विश्वभर यसको चर्चा चलिरहेको छ । क्रिकेट खेलको २७ वर्षे इतिहासमा नेपालले बनाएका विश्व कीर्तिमानको अहिले खुबै चर्चा भएको छ । १९औँ एसियाली खेलकुदमा पुरुष क्रिकेटमा समूह ‘ए’मा रहेको नेपालले मङ्गोलियाविरुद्ध कीर्तिमानी प्रदर्शन गरेको थियो भने आइतबार अर्को मुलुक माल्दिभ्ससँग खेल्दैछ । समूह ‘बी’मा कम्बोडिया, जापान र हङ्कङ रहेका छन् ।रासस