सांग्रिला विकास बैंकले भारतीय महिला बाइक राइडरलाई गर्यो स्वागत

काठमाडौं । सांग्रिला विकास बैंकले भारतीय महिला बाइक राइडरहरुको स्वागत गरेको छ । बैंकले असोज २३ गतेदेखि ‘स्टप सेक्सुअल भायोलेन्स’ भन्ने नारालाई आत्मसाथ गर्दै अक्टोबर १ मा भारतबाट मोटरसाइकलमा नेपाल आएका दुई महिला राइडरलाई केन्द्रीय कार्यालय बालुवाटार काठमाडौंमा स्वागत गरेको हो । सो स्वागत कार्यक्रममा बैंकका अध्यक्ष उज्जल सत्याल, प्रमुख कार्याकारी अधिकृत सुयोग श्रेष्ठ र बैंकका संस्थापक शेयरधनी हेमन्त कुमार प्रसादहरुद्वारा भारतबाट नेपाल आएका बाइक राइडरद्वय स्वाती आर र अनिता एमको एक कार्यक्रमका बीच स्वागत गर्दै आफ्नो मन्तव्य व्यक्त गरेका हुन् । यस प्रकारको स्वागत कार्यक्रमले स्टप सेक्सुअल भायोलेन्स भन्ने नारा बोकेर हिडेका उक्त बाइक राइडरलाई प्रेरणा मिल्ने र सो सन्देशले नेपालमा समेत जनचेतना फैलाउने विश्वास बैंकले लिएको छ ।

को हुन् दुर्गा प्रसाईंलाई कालोमोसो दल्ने युवा ?

काठमाडौं । केही महिनाअघि बैंकरलाई कालोमोसो दल्ने अभियान सुरु गरेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं सोमबार आफु नै कालोमोसोको सिकार बने । केही युवाहरुले उनलाई कालोमोसो दल्दै उनीविरुद्दको नारा लगाए । सोमबार काठमाडौंको एलोप्यागोडा होटलमा केही युटुबरलाई निमन्त्रणा पठाएर उनले कार्यक्रम आयोजना गरेका थिए । कार्यक्रममा उनले उद्योगी व्यवसायी तथा राजनीतिक दलका नेतृत्वको आलोचना गरे । उनले कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्माको समेत आलोचना गर्न भ्याए । पछिल्ल्लो समय विभिन्न व्यक्ति तथा समुदायमाथि अराजक अभिव्यक्ति दिँदै आएका प्रसाईंले सोमबार पनि सोही किसिमको अभिव्यक्ति दिएपछि कार्यक्रममा उपस्थित केही युवाहरु आक्रामक बने र उनीमिाथि कालोमोसो दले । हालसम्म उनीहरु को हुन् भन्ने पहिचान हुन नसकेपनि उनीहरूले लगाएको नाराले उनीहरु एमाले निकट विद्यार्थी नेताहरु भएको बुझ्न सकिन्छ । कालोमोसो दल्न होटल परिसरमा पुगेका युवाहरुले एमाले निकट ‘युवा संघ जिन्दावाद’ भन्दै नारा लगाएका थिए । उनीहरुले केपी ओली जिन्दावाद, नेकपा एमाले जिन्दावाद, महेश बस्नेत जिन्तावाद, दुर्गा प्रसाईं मुर्दावादको नारा लगाएपछि उनीहरु एमाले निकट विद्यार्थीहरु भएको बुझ्न सकिन्छ । दुर्गा प्रसाईंविरुद्दको विरोध कार्यक्रममा सहभागी एक युवाले प्रसाईंले सर्वसाधारणको सेन्टिमेन्ट लिनका लागि राजनीतिक प्रपञ्च गरिरहेको आरोप लगाए । ‘प्रसाईं बैंकको कालोसूचीमा छन्, बैंकको अर्बाैं रुपैयाँ ऋण तिर्न बाँकी छ, अहिले सर्वसाधारणको सेन्मिेन्ट लिन तथानाम गाली गर्दैछन्,’ ती युवाले भने ।

कालो अक्षर, रातो अक्षर : वर्तमान शिक्षा प्रणालीको ऐना

काठमाडौं । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले ‘कालो अक्षर, रातो अक्षर’ नामक नाटक प्रदर्शन गरिरहेको छ । अनेरास्ववियुले असोज १७ देखि २७ सम्म काठमाडौंको बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा नाटक प्रदर्शन गरिरहेको हो । नाटकमा शिक्षामा भइरहेको निजीकरण र शैक्षिक माफियाहरूको चलखेलको विषय समेटिएको छ । वर्तमान शिक्षा प्रणालीका समस्या, त्यसमा विद्यार्थी नेताहरुले गरिरहेको आन्दोलन र त्यो आन्दोलनलाई असफल पार्न शिक्षा माफिया र राजनीतिक दलका उच्च पदस्थ नेताहरुको साँटगाँठका विषय प्रष्ट गर्न खोजिएको छ । आन्दोलनबाट कुनै पार नलागेपछि कामको खोजीमा भौतारिँदै विदेशिने विद्यार्थीको मार्मिक कथावस्तु पनि नाटकमा देखाइएको छ । नाटकका लेखक आरके रोमसले देशको वर्तमान शिक्षा प्रणालीमा भइरहेको बेथिती, त्यसमा विद्यार्थीहरुले उठाएको आवाज र विद्यार्थीको आवाजलाई दबाउन खोज्ने पात्र र प्रवृतिको विषय नाटकमा देखाउन खोजिएको बताए । उनले विद्यार्थीहरुले देशमा जति नै क्रान्ती तथा आन्दोलन गरेपनि त्यो आन्दोलन तुहाउन अनेकौं प्रयासहरु हुने र अन्नतः विद्यार्थी निराश हुँदै आफ्नो भविश्य खोज्दै विदेशिन बाध्य हुने वर्तमान परिपाटीलाई जस्ताको त्यस्तै नाटकमा देखाउने प्रयास गरिएको धारणा राखे । कुनै र कसैमाथि कुनै पूर्वाग्रह नराखेर नाटक मञ्चन भएको उनको भनाइ छ । नाटकमा केही विद्यार्थीहरु शिक्षा माफियाकै साँटगाँठमा लागेर बिचमै क्रान्ति छोडेको विषयवस्तु पनि देखाइएको छ । तर, केही विद्यार्थीहरु भने आफ्नो कर्ममा नियमित लागेको देख्न सकिन्छ । अधिकांश राजनीतिक दलका नेताहरुले पनि नाटक हेरिरहेका छन् । उनीहरुले पनि ‘कालो अक्षर, रातो अक्षर’ नाटक वर्तमान शिक्षा प्रणालीको ऐना रहेको प्रतिक्रिया दिने गरेका छन् । नाटकमा लेखन आर के रोमस , परिकल्पना समिक बडाल र निर्देश दिलीप खड्का र सह–निर्देशक खिलकुमार राईको रहेको छ । नाटकमा अनुप न्यौपाने, दिपेश काफ्ले, बालकृष्ण रिजाल, मिलन कार्की, योगिन राई, रेनु नाथ योगी, रमिला मोक्तान, संगिता थापा, सञ्जिब राई, सुजैन सिलवाल, सुदिप खड्का र शान्ता मोक्तानलाई कलाकारको भूमिकामा देख्न सकिन्छ ।