कान्तिपुर टेलिभिजनद्वारा सन्दीप क्षेत्रीको ‘ह्वाट द फ्लप’ कार्यक्रम बन्द
काठमाडौं । कान्तिपुर टेलिभिजनमा सन्दीप क्षेत्रीले प्रस्तुत गर्दै आएको ‘ह्वाट द फ्लप’ कार्यक्रम रोकिएको छ । महिलाको स्वाभिमान र समाजको चेतनालाई सम्मान गर्दै कार्यक्रमको उत्पादन र प्रसारण रोकिएको टेलिभिजनले बिहीबार सूचना जारी गर्दै बताएको छ । गत असार २३ गते शनिबार प्रसारित उक्त कार्यक्रमको एपिसोडमा अभिनेता पल शाहसँग होस्ट सन्दीप क्षेत्रीले लिएको अन्तर्वार्ता विवादास्पद बनेको थियो । उक्त अन्तर्वार्ताको विषयलाई लिएर सामाजिक सञ्जालमार्फत् व्यापक आलोचना भएको थियो । त्यसपछि टेलिभिजनले उक्त कार्यक्रमलाई युट्युवबाट पनि हटाएको थियो ।
वास्तविक तस्करलाई जोगाउन नियोजितरुपमा मेरो नाम जोडियो : दीपक मल्होत्रा
काठमाडौं । व्यवसायी दीपक मल्होत्राले वास्तविक सुन तस्करीलाई जोगाउन नियोजितरूपमा आफ्नो नाम जोडिएको दावी गरेका छन् । मंगलबार दिउँसो विमानस्थलको भन्सार कार्यालयबाट बाहिरिएको करीब एक क्वीन्टल सुन तस्करीमा आफ्नो कुनै संलग्नता नरहेको उनले बताए । बिहीबार दिउँसो पत्रकार सम्मेलन गरेर मल्होत्राले सुन काण्डमा आफ्नो संलग्नता रहेको प्रमाणित भए जुनसुकै कारबाही भोग्न तयार रहेको बताए । ‘त्यत्रो सुन तस्करीमा संलग्न भएको भए भागिसक्थे होला, पत्रकार सम्मेलन गरेर बस्थे होला र ?’, मल्होत्राले भने । आफूले कुनै गलत काम नगरेकाले गलत प्रचार हुँदैमा नडराएको पनि उनले बताए । मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट मिलेमतोमा बाहिरिएको करीब एक क्वीन्टल सुन आन्तरिक राजश्व कार्यालयले बरामद गरेको थियो । उक्त सुन काण्डमा आफ्नो नाम जोडिएको भन्दै मल्होत्राले आश्चर्य व्यक्त गरेका छन् । ‘भन्सारमा गएको २५ वर्ष भयो होला । भन्सारका कुनै कर्मचारीलाई चिन्दिन । सुन जसले ल्याएको हो त्यसलाई जोगाउन नियोजितरुपमा मेरो नाम सार्वजनिक भएको हुनसक्छ’, उनले भने । बिहीबार दिउँसोसम्म आन्तरिक राजश्व र प्रहरीले उक्त सुन काण्डबारे बुझ्न आफूलाई कुनै सम्पर्कसमेत नगरेको अवस्थामा मिडियामा एकतर्फीरुपमा आफ्नो नाम जोडिएको उनले बताए । विगतमा वैधानिक च्यानलबाटै सुन ल्याएर बिक्री गर्ने भएका कारणले पनि कतिपय बेला सुन तस्करीमा आफ्नो नाम जोड्ने गरिएको तर, सुन ओसार पसारमा आफ्नो कुनै संलग्नता नरहेको उनले बताए ।
विसं २०८१ को पात्रो प्रकाशन गर्नेले साउनभित्र विवरण पेस गर्नुपर्ने
काठमाडौं । विसं २०८१ को पञ्चाङ्ग (पात्रो) प्रकाशन गर्न चाहनेलाई साउन मसान्तभित्र त्यससम्बन्धी विवरण पेस गर्न नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आह्वान गरेको छ । पञ्चाङ्गकारले सूर्यसिद्धान्तको मूल सूत्रबाट ग्रहस्पष्टीकरण, ग्रहको उदय-अस्त, चाडपर्व, विवाह, व्रतबन्धका मुहूर्त र ग्रहणआदि विषय समावेश भएको पञ्चाङ्ग गणना गरी पेस गर्न समितिले सार्वजनिक सूचनामार्फत् अनुरोध गरेको हो । आवश्यक दस्तुर पनि साउन मसान्तभित्र समितिको कार्यालय नारायणहिटीमा बुझाउनुपर्ने गरी सूचित गरिएको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए । मन्त्रिपरिषद्ले विसं २०७७ पुस २० गते गरेको समितिको गठन आदेशको स्वीकृति बमोजिम यो सूचना प्रकाशन गरिएको हो । गठन आदेश बमोजिम समितिको स्वीकृति बिना पात्रो (पञ्चाङ्ग) र भित्तेपात्रो (क्यालेण्डर) प्रकाशन गर्न पाइँदैन । स्वीकृति बिना प्रकाशन गरिएका पात्रोलाई नियमबमोजिम आवश्यक कारबाही गरिने पनि उनले बताए । नयाँ पञ्चाङ्गकारको हकमा आफैँले गणना गरेको कम्तीमा तीन वर्षको पञ्चाङ्ग गणनाको गणित र विसं २०८१ को गणनाको सबै आधार एवं गणित पनि पेस गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ । म्याद नाघी आएका र अङ्ग नपुगेका पञ्चाङ्गलाई स्वीकृति प्रदान नगरिने समितिले जनाएको छ । भित्तेपात्रो प्रकाशन गर्न चाहने व्यक्ति वा संस्थाले पनि समितिको स्वीकृति लिनुपर्ने सूचनामा उल्लेख गरिएको छ । यससम्बन्धी जानकारी समितिको वेबसाइटबाट पनि लिनसकिने जनाइएको छ । रासस