आम नागरिकमा हुनुपर्ने राजनीतिक चेतना छ : अभिनेत्री खड्का
काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्काले अभिनय गरेको चलचित्र ‘ऐँचो पैँचो’ राजनीतिक पृष्ठभूमिमा तयार गरिएको छ । उनले यस चलचित्रमा राजनीतिज्ञको भूमिका निर्वाह गरेकी छिन् । राजनीतिलाई पेसा बनाउनेप्रति व्यङ्ग्य गर्ने प्रवृत्ति रहेको भन्दै खड्काले चलचित्रले उठाएको विषयवस्तु समाजसँग जोडिएको बताइन् । उनले भनिन्, ‘एउटा आम नागरिकले राजनीतिबारे राख्नुपर्ने ज्ञान मसँग छ । कलेज जीवनमा नै यसलाई नजिकबाट नियालेकाले यससम्बन्धी केही ज्ञान छ ।’ उनले आफू कुनै पार्टीको विचारसँग नभई केही व्यक्तिसँग प्रभावित रहेको बताइन् । सामाजिक विषयको चलचित्रमा देखिँदै आएकी अभिनेत्री खड्काले आफू अभिनित चलचित्र ‘ऐँचो पैँचो’ पूर्णरूपमा व्यावसायिक रहेको बताइन् । आफूले अभिनय गरिरहेका चलचित्र एकै विधाका भएकाले यसपटक दर्शकले फरकरूपमा पाउने उनको भनाइ थियो । अभिनेत्री खड्काले भनिन्, ‘मैले कलाकात्मक चलचित्रमा केही समय अभिनय गरेँ । यो पूर्णरूपमा व्यावसायिक हो । त्यसैले यो मेरा लागि महत्वपूर्ण छ ।’ निर्देशक कृषा चौलागाईँले आफ्नो लगावका कारण चलचित्र निर्देशन यात्रा सुरु गरेको बताइन् । उनले भनिन्, ‘म यो क्षेत्रमा सानै उमेरदेखि निर्मात्रीका रूपमा जोडिए । त्यसपछि केही छोटा चलचित्र र विज्ञापनमा काम गरेको अनुभवका आधारमा निर्देशन गरेकी हुँ । यो म एक्लोभन्दा पनि सम्पूर्ण समूहकै प्रयासले सफल भएको हो ।’ केपी फिल्मस्को ब्यानरमा निर्माण भएको उक्त चलचित्रमा कोसिस क्षेत्री, सुशील सिटौला, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रवीन्द्र झा, सरिता गिरी, विशाल पहारीलगायत कलाकारले अभिनय गरेका छन् । यसमा अभिमन्यू निरवीले कथा, पुरुषोत्तम प्रधानले छायाँङ्कन, कविराज गहतराजले नृत्य निर्देशन, सुजिल कर्माचार्यले पाश्र्व सङ्गीत, रेनिश फागोले रङ्ग संयोजन, विपिन मल्ल र भूपेन्द्र अधिकारीले सम्पादन गरेका छन् । रासस
डिशहोम गो एपमा प्रेम गीत ३ र चिसो मान्छे अब निशुल्क हेर्न पाईने
काठमाडौं । डिशहोम गो एपमा प्रेम गीत ३ र चिसो मान्छे निशुल्क हेर्न पाईने भएको छ । नेपाल सहित विदेशमा समेत एकै साथ प्रदर्शन भएको सर्वाधिक सफल नेपाली चलचित्र ‘प्रेम गीत ३’ र सामाजिक कथामा आधारित चलचित्र ‘चिसो मान्छे’ अब डिशहोम गो एपमा उपलव्ध भएको छ । विभिन्न कारणवस हलसम्म गएर यी चलचित्र हेर्न छुटाएका दर्शकहरुले अब डिशहोम गो एपमा आफुले चाहेको समयमा निशुल्क हेर्न सकिने कम्पनीले जनाएको छ । गो एप प्ले स्टोर वा एप स्टोर वाट आफ्नो मोवाइलमा निशुल्क डाउनलोड गरेर चलाउन सकिन्छ । साथै, गोल्भ डट डिसहोम डट कम एनपीमा लगइन गरेर ल्यापटप तथा कमप्युटर मा समेत चलाउन सकिन्छ भने एनरोइड टिभिको एप स्टोरमा गएर गो एप डाउनलोड गरेर टिभिमा समेत गो एप चलाउन सकिन्छ । गो एपमा नेपाली चलचित्र, सिरियल, कोरियन सिरिज लगाएत अन्य विभिन्न एक्सकुल्सीप कन्टेन्टहरु पनि उपलव्ध रहेको छ ।
नवौं राष्ट्रिय खेलकुदको खर्च १० महिनापछि सार्वजनिक, साढे ५३ करोड खर्च
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नवौं राष्ट्रिय खेलकुद सकिएको करिब १० महिनापछि खर्च विवरण सार्वजनिक गरेको छ । राखेपले बुधबार त्रिपुरेश्वस्थित आफ्नै भवनमा पत्रकार सम्मेलन आयोजना गरी खर्च विवरण सार्वजनिक गरेको हो । नवौं राष्ट्रिय खेलकुदमा ५३ करोड ६९ लाख चार हजार दुई २९ रुपैयाँ खर्च भएको सदस्यसचिव टंकलाल घिसिङले बताए । नवौं राष्ट्रिय खेलकुद गत वर्षको असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म सञ्चालन भएको थियो । निर्वाचन र सरकारद्वारा विनियोजित रकम रोक्का हुनु लगायतका कारणले समयमा भुक्तानी गर्न नसक्दा खर्च विवरण सार्वजनिक गर्न ढिलो भएको बताएको । नवाैं राष्ट्रिय खेलकुदका लागि सरकारले ६० करोड १० लाख बजेट विनियोजन गरेको थियो । राखेपले आफ्नै स्रोतबाट ५१ लाख ५२ हजार सात सय रकम खेलकुदका लागि छुट्टयाएको थियो । नवौं राष्ट्रिय खेलकुदमा सबै रकम खर्च नभएको र बचत भएको ६ करोड ८२ लाख ४८ हजार चार सय ६० रुपैयाँ सरकारकै खातामा फिर्ता पठाएको घिसिङले बताए । राखेपले आगामी दशौँ राष्ट्रिय खेलकुद निर्धारित समयमा नै आयोजना गर्ने उनले बताए । खेल आयोजना हुनुभन्दा एक वर्ष अगाडि नै त्यसको मोडालिटी पनि तयारी पारिने उनले बताएका छन् । दशौं राष्ट्रिय खेलकुद कर्णाली प्रदेशमा २०८१ साल मंसिरमा आयोजना गर्ने राखेपको लक्ष्य छ ।