भोली विराटनगरमा एनसेल कन्सर्ट हुँदै

काठमाडाैं । एनसेल आजियाटाले विराटनगरको हाटखोला मैदानमा भाेली (जेठ १३ गतेऽ शनिबार) कन्सर्ट गर्ने भएको छ । कार्यक्रममा चर्चित कलाकार तथा सांगीतिक समूहका प्रस्तुतिहरू रहनेछन् । विशेषगरी विदेशमा रहेका दाजुभाइ तथा दिदीबहिनीहरूका नेपालमा रहेका परिवारका सदस्य, आफन्तजन तथा साथीभाइसँग सांगीतिक कार्यक्रममार्फत खुसी साटासाट गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गर्न लागेको एनसेलले जनाएको छ । कार्यक्रम दिउँसो २ बजे सुरु भई बेलुका ८:३० बजेसम्म चल्नेछ । कार्यक्रममा चर्चित गायकगायिकाहरू दीपक बज्राचार्य र रिदम ब्यान्ड, आशिष राना (लाउरे), शिव परियार, द एलिमेन्ट्स, अस्मिता अधिकारी, सुनील पण्डित, कलाकार केकी अधिकारीले आफ्नो विशेष प्रस्तुतिहरू राख्दै दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछन्। साथै यो कन्सर्ट एनसेलको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण हुनेछ । कन्सर्टमा सहभागी हुन इच्छुक दर्शकले नजिकैको एनसेल सेन्टर वा आधिकारिक बिक्रेताको एनसेल पसल एपबाट अन्तर्राष्ट्रिय कलिङ प्याक, सहयात्री सिम खरिद वा ब्यालेन्स रिचार्ज गरी कन्सर्टको टिकट निःशुल्क पाउन सक्नेछन् । वैदेशिक रोजगारीमा जाने योजनामा रहेका नेपाली र उनीहरूका परिवारका सदस्यहरूलाई ध्यानमा राखी एनसेलले आकर्षक बन्डल सेवा, बोनस सुविधा र रोमिङका साथ ‘सहयात्री सिम’ स्टार्टर प्याक उपलब्ध गराउँदै आएको छ । यसैगरी कम्पनीले विदेशमा रहेका आफ्ना परिवारसँग सुलभ दरमा सम्पर्कमा रहिरहन विभिन्न भ्वाइस प्याकहरू पनि उपलब्ध गराउँदै आएको छ । कार्यक्रममा सहभागी हुन अन्तर्राष्ट्रिय कलिङ प्याक, सहयात्री सिम खरिद वा ब्यालेन्स रिचार्ज गरी निःशुल्क टिकट लिन एनसेलले ग्राहकहरूलाई आह्वान गरेको छ ।    

हिमालय रोडिज सिजन-५ को अडिसन सुरु

काठमाडौं । हिमालय रोडिज सिजन ५ को ‘फिजिकल अडिसन’ सुरु भएको छ । मुलुकका आठ सहरमा हिमालय रोडिज सिजन ५ को ‘फिजिकल अडिसन’ सुरु भएको हो । हिमालय टिभीले अडिसन हुने सहर, मिति र समयको घोषणा गरेको छ । जेठ १२ गतेदेखि सुरु भएकाे ‘फिजिकल अडिसन’ २१ गतेसम्म चल्नेछ । अडिसन पहिलो दिन बर्दिवासमा, १३ गते इटहरी, १४ गते हेटौंडा, १५ गते भरतपुर, १६ गते बुटवल, १७ गते नेपालगञ्ज, १९ गते पोखरा र २१ गते काठमाडौंमा अडिसन सञ्चालन हुने जनाइएको छ ।

काठमाडौंमा पानीको हाहाकार

काठमाडौं । विगत चार वर्षदेखि काठमाडौंमा कोठा भाडा लिएर बस्दै आएका भोजपुरका रमेश खड्काले विगत एक सातादेखि पानीको समस्या भोग्नु परेको छ । काठमाडौंको घट्टेकुलो क्षेत्रमा बस्ने खड्कालाई घरधनीले आधा महिनासम्म पानी नआउने जानकारी गराएपछि उनी एक सातादेखि समस्यामा छन् । उनी अहिले नुहाउन, लुगा धुन, भाडा माझ्न र खाना पकाउन लगायतका काम गर्न जारको पानी प्रयोग गर्छन् । यति धेरै काम गर्नको लागि उनले दैनिक पानीकै लागि दैनिक तीन/चार सय रुपैयाँ खर्च गर्नु परेको गुनासो गरे । ‘एक साता भइसक्यो पानी आएको छैन, घरवेटीलाई सोध्दा पानी नै आएको छैन भन्ने जवाफ सुनिन्छ,’ उनले गुनासो गर्दै भने, ‘अब त जारको पानी पनि किन्न सकिँदैन ।’ उनका अनुसार उनले दैनिक प्रतिजारको ५० रुपैयाँमा खरिद गर्छन् । उनले दिनमा तीन/चार सय रुपैयाँ खर्च गर्नुभन्दा होटलमा खाना खान सजिलो भएको भन्दै केही दिनदेखि होटलमा खाना खाने गरेको सुनाउँछन् । काठमाडौंको मैतीदेवीमा बस्दै आएका चित्रराज भण्डारी पनि पानीको समस्या भएको बताउँछन् । उनले पानीको अभावले शौचालयमा जान पनि समस्या भएको सुनाउँछन् । उनले समस्या के भएको भन्ने विषय जानकारी नभएको बताए । उनले पानी नभएकै कारण लुगा ड्राइक्लिनरमा दिनु पर्ने बाध्यता रहेको सुनाए । यसै गरी धादिङका कपिल श्रेष्ठ पनि अहिले पानीको समस्यामा नै छन् । उनी बस्ने घरमा पनि पानी नआएको एक साता भइसकेको छ । पानी नहुँदा ठूलो समस्या भोग्नु परेको उनको गुनासो छ । यी त केही उदाहरण मात्रै हुन् । अहिले काठमाडौंमा बस्ने सबैलाई पानीको समस्या छ । मेलम्ची खानेपानी आयोजनाले काठमाडौंका धारामा जेठ १ गतेदेखि दुई हप्तासम्म मेलम्चीको पानी रोकेका कारण काठमाडौंवासीलाई पानीको समस्या भएको हो । मेलम्ची खानेपानीको मुहान र टनेल मर्मत/सम्भारको काम गर्नु पर्ने भएकोले पानी रोकेको बुझिएको छ । सोही कारणले काठमाडौंमा पानीको समस्या भएको हो । सुरुङको रेक्टिफिकेसन र २०७८ को बाढीले क्षतिग्रस्त हेडवक्र्सको मर्मतका लागि पानी वितरण रोकिएको हो । उक्त मर्मतपछि सामान्य बाढीको समयमा समेत पानी पठाउने सकिने बताइएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का प्रवक्ता प्रकाशकुमार राईले मेलम्चीको पानी बन्द भएपछि काठमाडौंमा पानीको समस्या भएको स्वीकार गरे । ‘मेलम्चीको पानी दिनमा १६ करोड लिटर आउँथ्यो, जेठ ५ गतेदेखि पानी वितरण रोकिएको छ, हामीलाई १० देखि १५ दिन भित्र त्यहाँको मर्मत सम्भार भएर पानी आउँछ भन्ने सूचना छ,’ उनले भने । केयूकेएलले भएको पानी आम नागरिकलाई उपलब्ध गराइ राखेको पनि उनले बताए । उनका अनुसार अहिले केयूकेएलले ९/१० करोड लिटर पानी दैनिक वितरण भइरहेको जानकारी दिए । मेलम्चीको पानी आउन छाडेपछि केयूकेएलले पानी वितरणको तालिका पनि बनाएको छ । सोही तालिका अनुसार नै पानी वितरण भइरहेको उनको भनाइ छ । उक्त तालिका शाखा तथा केन्द्रीय कार्यालयको सामाजिक सञ्चालनमा पनि राखिएको छ । मेलम्ची खानेपानी आयोजनाका सूचना अधिकारी राजेन्द्र प्रसाद पन्तले मेलम्ची हेडबक्समा आवश्यक मर्मतको काम भइरहेकोले पानी वितरण रोकेको बताए । उनका अनुसार वैकल्पिक प्रणालीको गेट नम्बर एकमा सुधारको काम भइरहेको छ । बर्खाको समय नजिकिँदै गरेको कारण बर्खा लाग्नु पूर्व नै सुरक्षाको काम गरिएको हो, हेडबक्सको स्थायी समाधान नहुञ्जेलसम्म यो समस्या समाधान हुँदैन, उक्त समस्या समाधान गर्न केही समय लाग्छ, त्यसैले पानी रोकेका हौं, अहिले वैकल्पिक रुपमा पानी वितरण भइरहेको छ,’ उनले भने । उनका अनुसार एक साता भित्र मर्मत तथा सुधारको काम सकिनेछ ।