दक्षिण एसियाली योग खेलकुद प्रतियोगिता भोलिदेखि सुरु

काठमाडौं । नेपाल योग खेलकुद सङ्घको आयोजनामा तेस्रो दक्षिण एसियाली योग खेलकुद प्रतियोगिता र माउन्ट एभरेष्ट योग फेस्टिभल च्याम्पियनशिप हुने भएको छ । यही जेठ २५ देखि २७ गतेसम्म आयोजना हुने दक्षिण एसियाली योग खेलकुद प्रतियोगितामा नेपालसहित भारत, भूटान, बङ्गलादेश, अफगानिस्तान, श्रीलङ्का र माल्दिभ्स गरी सात राष्ट्रका खेलाडीले सहभागिता जनाउने आयोजक सङ्घका केन्द्रीय सचिव डा आनन्द गैरेले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । उनको अनुसार उक्त प्रतियोगिता नेपाल भारत मैत्री धर्मशाला तिलगङ्गामा हुनेछ । यस स्पर्धामा नेपालबाट महिला र पुरुष गरी ३६ खेलाडीको सहभागिता रहनेछ । प्रतियोगितामा विभिन्न उमेर समूहमा प्रतिस्पर्धा हुनेछ । जसअनुसार ८ देखि ११ वर्ष, १२ देखि १५ वर्ष, १६ देखि १८ वर्ष, १९ देखि २५ वर्ष, २६ देखि ३५ वर्ष र ३५ वर्षदेखि माथिका उमेर समूहमा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । यसैगरी, माउन्ट एभरेष्ट योग फेस्टिभल पनि यही जेठ २६ र २७ गते हुनेछ । यस प्रतियोगितामा सार्क राष्ट्रसहित इरान र साउदी अरेबियाका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । यस प्रतियोगितामा करिब तीन सय खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजकको भनाइ छ । नेपालबाट महिला र पुरुष गरी ४२ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । विसं २०७३ मा राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा दर्ता भएको उक्त सङ्घले २०७४ सालमा प्रथम दक्षिण एसियाली खेलकुद र २०७६ सालमा दोस्रो दक्षिण एसियाली योग खेलकुद प्रतियोगिता सञ्चालन गरेको थियो ।

ग्लोबल आइएमई बैंकले सातवटै प्रदेशमा गर्यो वृक्षारोपण

काठमाडौं । ग्लोबल आइएमई बैंकले सातवटै प्रदेशमा वृक्षारोपण गर्दै विश्व वातावरण दिवश मनाएको छ । बैंकले ‘एक कर्मचारी, एक विरुवा रोपण’ अभियानअन्तर्गत सातवटै प्रदेशमा विभिन्न प्रजातिक उन्नत बोट/बिरुवाहरु रोपेर विश्व वातावरण दिवस मनाएको हो । बैकले मोरङ्गको विराटनगर एयरपोर्ट रोड, सिराहाको मिर्चैया, काठमाडौंको टोखा स्थित लाखे डाँडा, कास्कीको पोखरा रङ्गशाला परिसर, रूपन्देहीको तिलोत्तमा सामुदायिक पार्क र सुर्खेतको विरेन्द्रनगर चौहान पार्कमा वृक्षारोपण कार्यक्रमको आयोजना गरेको हो । बैंकले आयोेजना गरेको यस वृहत वृक्षारोपण कार्यक्रममा बैंकका कर्मचारीहरु, स्थानीय नागरिक लगायत विभिन्न संघ-संस्थाका प्रतिनिधिहरूको प्रत्यक्ष सहभागिता रहेको थियो । बैंकले स्थापनाकाल देखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर यस किसिमका विभिन्न सामाजिक कार्यहरुलाई निरन्तरता दिंदै आएको छ ।

मलेसियाविरुद्ध ५ खेलको सिरिज नेपालले जित्यो

काठमाडौं । नेपालले मलेसियाविरुद्धको पाँच खेलको टीट्वान्टी महिला सिरिजको उपाधि जितेको छ । मलेसियाको वाइएसडी युकेएम ओभल क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले घरेलु टोली मलेसियालाई ३ विकेटले पराजित गर्दै उपाधि जितेको हो । नेपालले पाँच खेलको सिरिज ३–२ ले आफ्नो पक्षमा पा¥यो । मलेसियाले दिएको एक सय १० रनको लक्ष्य नेपालले १९ दशमलव २ ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍यो । नेपालका लागि सीता रानामगरले सर्वाधिक ३७ बलमा ६ चौकाको मद्दतमा ३४ रनको योगदान दिइन् । त्यसैगरी कप्तान रुविना क्षेत्रीले ३० बलमा ३ चौकाको सहयोगमा २३ रन बनाइन् । अप्सरी बेगम १५ रनमा अविजित रहँदा ज्योती पान्डेले ११ रन जोडिन् । मलेसियाका लागि हमिजा हसिमले २ विकेट लिइन् । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर एक सय ९ रन बनाएको थियो । मलेसियाका लागि वान जुलियाले ६० बलमा सर्वाधिक ४७ रन बनाइन् भने विनिफ्रेड दुराईसिङ्घमले २५ बलमा २४ रन जोडिन् । त्यस्तै महिराह इज्जाती इस्माइलले ३१ बलमा २० रन बनाइन् । बलिङतर्फ नेपालकी कविता जोशीले दुई विकेट लिइन भने ईश्वरी विष्टले एक विकेट झारिन् । यसअघि भएको पहिलो खेलमा नेपाल पाँच विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा नेपालले मलेसियालाई सात विकेटले हराएको थियो । त्यसैगरी तेस्रो खेलमा नेपालले २७ रनले विजयी हुँदा चौथो खेलमा मलेसियाले नेपाललाई ६ विकेटले हराएको थियो । रासस