नेपालमा ओटिटी : विदेशीमै छन् दर्शक
काठमाडौं । कोरोना महामारीका कारण बन्दाबन्दी भएको समयमा नेपाल ओटिटी (ओभर द टप)प्रतिको आकर्षण बढ्यो । ओटिटीमा चलचित्र रिलिज तथा नयाँ–नयाँ शृङ्खला प्रदर्शन हुन थालेपछि नेपालमा पनि यसका प्रयोगकर्ता उल्लेख्य रुपमा बढे। सो समयमा विश्व बजारमा स्थापित नेटफ्लिक्स, अमेजन प्राइम भिडियो, डिज्नेप्लस हटस्टार, जी फाइभ, सोनी लिभलगायत ‘ओटिटी प्लेटफर्म’ले नेपाली दर्शकलाई राम्रोसँग आकर्षित गर्न सफल भए । तर विदेशी एपमा दर्शक झुमिँदा सोही प्रकृतिका नेपाली एपहरु आइफ्लिक्स, भिडियो पसल, सिनेमाघर जस्ता एपले दर्शक पाएनन् । नेपाल राष्ट्र बैंकले वार्षिक पाँच सय डलरसम्म खर्च गर्न मिल्नेगरी डलरकार्ड उपलब्ध गराए पनि विदेशी एपमै दर्शक बढ्दै गएका छन् । आइफ्लिक्स र चलचित्र टिभीले सफलता नपाएपछि बन्द नै भए । नेपालमा सन् २०१६ देखि सुरू भएको एप सिनेमा घरले सब्सक्रिप्सनको सुविधा हटाएर फिल्मअनुसार भुक्तानी गरेर हेर्न मिल्ने बनाएको कम्पनीका अध्यक्ष खगेन्द्र लामिछानेले जानकारी दिए । अभिनेता, निर्माता, लेखकसँगै चलचित्र ‘पानीफोटो’मार्फत् निर्देशक बनेका लामिछाने सिनेमाघर एपसँग सन् २०१८ मा जोडिनु भएको थियो । ‘नयाँ सामग्री आउँदा दर्शक बढ्छन्, अन्य समयमा पनि थपघट भइरहन्छ’ उनले भने, ‘अब भने आफ्नै कन्टेन्ट ल्याउनेमा हामी छौँ ।’ यद्यपि त्यसको सूचिगत प्रक्रिया पूरा नहुँदासम्म आँट गर्न नसकेको उनको भनाइ छ । उनका अनुसार वार्षिक पात्रो बनाएर मात्र आफ्नै ‘कन्टेन्ट’ ल्याइने छ । यसरी तयारी गर्दा कुनै एक ‘कन्टेन्ट’ असफल हुँदा अन्यले दर्शकलाई ‘होल्ड’ गर्न सकिने उनको भनाइ छ । आइफ्लिक्स र भिडियो पसल सञ्चालन गरिसक्नु भएका ओमप्रकाश अग्रवालले भने पाइरेसीको समस्याले ओटिटीमा चलचित्र राख्न जोखिम रहेको बताए । ‘पाइरेसी गर्नेलाई कडा कारबाही नभएसम्म कन्टेन्ट सुरक्षित हुँदैनन् । यससम्बन्धी साक्षरता बढाउनु आवश्य छ’, उनले भने, ‘एप ल्याएर मात्र हुँदैन त्यसलाई दर्शकसम्म पु¥याउन हामीले आवश्यकपर्ने सामग्री सञ्चित गरिरहेका छौँ ।’ उनले पाइरेसीसम्बन्धी शिक्षाको कमीले यस्तो भइरहेको बताए । उनले भने, ‘पक्राउ परेपछि ख्यालख्यालमै चलचित्र पाइरेसी गरिएको भन्ने सुनिन्छ । यससम्बन्धी चेतना फैल्याउनुपर्छ । किनकी अहिले चलचित्र भवनबाट समेत खिचिएका दृश्य सामाजिक सञ्जालमा छ्यापछ्याप्ती छन् ।’ स्वदेशी आफ्नै सामग्री नहुँदा दर्शकको आकर्षण बढ्न सकेको छैन । अभिनेता अर्पण थापाले निर्माण प्रक्रियामा सानो वा ठूलो पर्दा भनेर विभेद नगर्न हुने बताए । ‘हामीले शृङ्खला तयार गरिरेका छौँ भने पनि चलचित्र झैँ मेहनत गर्नुपर्छ । शृङ्खला भनेर मेहनतमा कमि भयो भने त्यसको नतिजा राम्रो आउँदैन’, अभिनेता थापाले भने , ‘मैले भर्खरै एउटा शृङ्खलामा अभिनय गरेको छु । विस्तारै हामी कहाँ पनि ओटिटीलाई लक्षित गरी काम गर्नेछौँ।’ रासस
नेपालले यूएईलाई हरायो, एशिया कपमा छनोट
काठमाडौं । नेपालले यूएईलाई पराजित गरेको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार सम्पन्न फाइनल खेल यूएईलाई ७ विकेटको फराकिलो अन्तरले हराउँदै नेपालले उपाधि हात पारेको हो । नेपालले ३०.३ ओभरमा ११८ रन बनाउँदै यूएईलाई पराजित गरेको हो । उक्त जितसँगै नेपालले यसै वर्ष पाकिस्तानमा आयोजना हुने एसिया कप क्रिकेट प्रतियोगितामा पनि स्थान पक्का गरेको छ । एसिया कपमा नेपालले भारत, पाकिस्तानजस्ता विश्व क्रिकेटका हस्ती राष्ट्रहरुसँग प्रतिस्पर्धा गर्ने अवसर पाउने छ । घरेलु मैदानमा हजारौंसमर्थकको साथ पाएको नेपालका लागि गुलशन झा र भिम शार्कीले उत्कृष्ट प्रदर्शन गरे । गुलशन झाले अविजित ६७ रन बनाए । उनले ८४ बलको सामना गरी ६ छक्का र ३ चौका हिर्काए । भिम शार्की अविजित ३६ रनको योगदान गरे ।
गणेश पाण्डेको ‘को–हजबेण्ड’ फिल्मले जापानमा पायो एक करोड ३० लाख
काठमाडौं । नेपालको बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र फिल्म ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले जापानमा एक करोड ३० लाख रुपैंयाको सहयोग प्राप्त गर्न सफल भएको छ । फिल्मले क्यानडामा पनि उत्कृष्ट डकुमेन्ट्री अवार्ड जित्न सफल भएको हाे । गणेश पाण्डे निर्देशित को–हजबेण्डले जापानको क्युशु शहरमा सम्पन्न पाँचौं मेहोदो अन्तर्राष्ट्रिय युथ भिजुअल मिडिया फेस्टिबलमा एक लाख अमेरिकी डलर (एक करोड तीस लाख नेपाली रुपैंया बराबर)को फिल्म फण्डिङ जितेको हो । यसका साथै, को–हजबेण्डले एक हजार डलर नगदसहित ब्रोन्ज अवार्ड पनि जित्न सफल भएको छ । मेहोदो महोत्सवमा १ सय २२ देशका ३५ सय ३३ वटा फिल्महरु प्रतिस्पर्धामा थिए । अन्तिम प्रतिस्पर्धामा को–हजबेण्डले यो पुरस्कार जितेको हो । अप्रिल १९ बाट सुरु भएको १० दिने महोत्सवको अन्तिम दिन भएको अवार्ड समारोहलाई को–हजबेण्डका निर्देशक पाण्डेले भर्चुअल माध्यमबाट सम्बोधन गरेका थिए । ‘यो अवार्डलाई मैले मेरो करिअरको अहिलेसम्मकै ठूलो उपलब्धि ठानेको छु । नेपाली डकुमेन्ट्रीले एक लाख डलरको कोष जित्नु आफैमा गर्वको कुरा हो । यो मेरो मात्र नभई नेपाल र नेपालीको लागि पनि खुसीको खबर हो ।’– निर्देशक पाण्डेले भने । निर्देशक पाण्डेलाई आगामी डकुमेन्ट्री परियोजनाका लागि यो अवार्ड दिइएको हो । ‘यो रकमले अर्को नयाँ डकुमेन्ट्री फिल्म दर्शकलाई पस्कन मलाई मद्दत मिल्नेछ ।’– उनले भने । यसैगरी, को–हजबेण्डले आज नै क्यानडामा पनि उत्कृष्ट डकुमेन्ट्री फिल्म अवार्ड जितेको छ । क्यानडाको नर्थबे अन्टारियोमा भएको गेटवे अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा को–हजबेण्डले उत्कृष्ट पुरस्कार पाएको हो । ‘भाग्यले बाँचेकाहरु’ नामक वृत्तचित्रमार्फत संसारभर चर्चा कमाएका निर्देशक पाण्डेको ‘सहायक श्रीमान’ नयाँ डकुमेन्ट्री फिल्म हो । यसअघि को–हजबेण्डले अमेरिका, भारत, रसिया, स्लोभाकिया लगायतका देशमा अवार्ड जितिसकेको छ । काठमाडौं अन्तर्राष्ट्रिय पर्वतारोहण महोत्सव (किम्फ) मा रिलिज गरिएको ‘को–हजबेण्ड’ले यसअघि नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा पनि उत्कृष्ट अवार्डसहित १ हजार अमेरिकी डलर जित्न सफल भएको थियो । बहुपति प्रथामा आधारित ३५ मिनेटको यो डकुमेन्ट्री फिल्म कर्णाली प्रदेशको हुम्लामा छायाँकन गरिएको हो । घरमा जति दाजुभाई छन्, एउटै श्रीमती बिहे गर्ने संसारकै अनौठो चलन अहिले पनि नेपालका कतिपय हिमाली जिल्लामा विद्यमान छ । सोही विषयलाई निर्देशक पाण्डेले पहिलोपटक पर्दामा उतारेका हुन् । निर्देशक पाण्डेले करिब ४ बर्षको छायांकन र रिसर्चबाट को–हजबेण्ड निर्माण गरेका हुन् ।