जुम्लामा धान खेती भन्दा यर्सा टिपेर तेब्बर आम्दानी हुने

जुम्ला । जुम्लाको पातारासी गाउँपालिका–३ स्थित छुमचौर जिउलोमा मार्सी धानको खेती घट्दै गइरहेको छ । विश्वको उच्च स्थानमा कालीमार्सी धान फल्ने छुमचौर जिउलोमा अहिले मार्सी धानखेती विस्तारै घटेको पातारासी गाउँपालिका–३ का स्थानीयवासी मुनबहादुर एडीले जानकारी दिए । यहाँका कतिपय किसानले जौँ, गहुँ, मकै, आलु रोप्ने गर्छन् । कतिपयले खेत बाँझै राख्ने गरेका छन् । खेतमा कालीमार्सी धान रोप्दा रोग–कीरा लाग्ने र बाली निकै कम हुने भएपछि कालीमार्सीको खेती गर्न छाडिएको जनाइएको छ । उनले भने, ‘धानखेतीका लागि प्रशस्त पानी छ । सिँचाइ कुला पनि खेतसम्मै पुगेका छन् । तर महिनौँदेखि मेहनत गरेर रोपिएको कालीमार्सी धान घर भित्र्याउने समयमा रोग–कीराको सङ्क्रमण हुने र असिना पानीले झारिने गर्दा यहाँका किसान कालीमार्सी धान रोप्ने चासो नदिएका हौँ ।’ पछिल्लो समय उत्पादनमा गिरावट आउन थालेपछि कालीमार्सी खेती गर्न छाडिएको छ । कालीमार्सी धानको आफ्नै पहिचान छ । तर पहिचानले खान लाउन पुग्दैन । धान लगाउन पर्याप्त धान उत्पादन पनि हुन जरुरी रहेको पातारासी–२ का ६२ वर्षीय गोर्खे बुढाले बताए । समुद्री सतहबाट दुई हजार आठ सय ५० मिटरको उचाइ रहेको छुमचौर जिउलोमा मार्सी धानखेती हुने गरेको पातारासी गाउँपालिका कृषि शाखाका प्रमुख रुपक बुढाले जानकारी दिए । कालीमार्सी धानखेती संरक्षण गर्नका लागि पालिकाले आवश्यक सहयोग गरेको छ । किसानलाई उत्पादनमूलक क्षेत्रमा जोड्नका लागि विभिन्न क्षमता अभिवृद्धिका तालिमसमेत दिएको छ । किसानले उत्पादन गरेको धान बजारीकरण हुनसकेको छैन । केही किसानले खेतमा धानको सट्टा अर्को बाली लगाउँदै आएका छन् । यो वर्षबाट पूरै छुमचौर जिउलोमा धानखेती गरिने कृषि शाखाका प्रमुख बुढाको भनाइ छ । कृषि शाखाले पनि सो जिउलोको धानखेतीमा लगानी गरेको गाउँपालिकाको कृषि शाखाले जनाएको छ । किसानका अनुसार धान उब्जनी कम हुन थालेपछि धान सिजनमा यहाँका अधिकांश बालबालिका र युवायुवती यार्सा सङ्कलनका लागि पाटनतिर जाने गरेका छन् । जिउलोमा धान पाक्न आठ महिना लाग्छ तर त्यसको सट्टामा पाटनमा यार्सा टिप्न जाँदा एक महिनामै तेब्बर आम्दानी हुन्छ । यार्सा टिप्न गएपछि पाटनमा एक घर परिवारले एक महिनामा न्यूनतम ५० हजार रुपैयाँदेखि एक लाखसम्म कमाउँछन् । एक महिनाको कमाइले वर्षभरको रोजीरोटी सहजै व्यवस्था हुने देखिएपछि जिउलोमा मेहनत गर्नुभन्दा पाटनमा गएर यार्सा टिप्नु नै सहज हुने पातारासीका किसान बताउँछन् । कृषि अनुसन्धान केन्द्र जुम्लाले पनि कालीमार्सी धान निकै पुरानो भएकाले रोग प्रतिरोधी मार्सी धानको अनुसन्धान भइरहेको जनाएको छ । जिल्लाका आठवटै स्थानीय तहमा यहीँ जेठ महिनाको पहिलो सातादेखि खेतमा मार्सी धानको रोपाइँ हुने गरेको छ । यो याममा खेतमा किसानले जोँखेती गरेका छन् । रासस

बिस्केट जात्रामा सिन्दुरले रङ्गियो मध्यपुरथिमि

भक्तपुर । हजारौँ व्यक्तिको भीड, भीडमा सबैको टाउको, अनुहार, शरीर अबिरले रङ्गिएको राताम्मे छ । अगाडि हातहातमा धपक्क बलेको चिरागका समूह, त्यसपछि धिमे र मुस्या बाजा बजाउनेर्को समूह, त्यसपछि आ–आफ्नो टोलका देवी–देवतालाई विराजमान गराइएका खट बोकेर टोल–टोल घुम्दै बालबालिका, युवायुवतीदेखि ज्येष्ठ नागरिकसमेत जात्राको भीडमा रमाएका देखिन्थे । आज मध्यपुरथिमिका बासिन्दालेसुथसिया अर्थात् बिहानीको जात्रा हर्षोल्लासपूर्वक मनाएका छन् । बिस्केट जात्राको अवसरमा मध्यपुरथिमिका बासिन्दाले आज बिहानैदेखि टोल–टोलका देवता विराजमान खट जात्रा गरी टोल–टोल घुमेर बालकुमारी मन्दिर प्राङ्गणमा २६ देवी–देवता विराजमान खटलाई ल्याएर मन्दिरको परिक्रमा गराई धिमे, मुस्या बाजाको तालमा नाच्दै, अबिर छर्कँदै हर्षोल्लासका साथ सिन्दुर खेलेर सुथसिया जात्रा मनाएका हुन् । थिमिमा मात्र मनाइने यो जात्रामा एक–अर्कालाई सिन्दुर दलेर धिमेलगायत स्थानीय बाजामा नाच्दै हात–हातमा चिराग बाल्दै खट बोकी बालकुमारीमा ३२ खट ल्याएर भव्यरूपमा मनाउने परम्परा छ । केही वर्षयता भने २६ खटमात्रै जात्रामा सहभागी हुने गरेका छन् । जात्रामा आज बिहानै बालकुमारी र कालिका अर्थात् बालाखुको खट बालकुमारी मन्दिरबाट बाहिर निकालिएको थियो । हिजोदेखि विष्णुवीर र दक्षिण बाराहीको खटसमेत मन्दिरमा राखिएको थियो । बिहानै सिद्धिकालीको खट ल्याएर आफ्ना गणहरूसहित बालकुमारी प्रवेश गराएपछि यो जात्रा सुरु भएको हो । जात्रा सुरु भएपछि पमाहरू हात–हातमा चिराग अर्थात् बत्ती लिएर नाइके प्रधानको अनुमतिमा बालकुमारीको खट उचालेपछि जात्रालाई दिगुटोलस्थित देवताघर परिक्रमा गराइएको थियो । यसैगरी विष्णुवीर, सिद्धिकालीलगायत देवदेवीको खट ल्याएर जात्रा मनाइएको छ । थिमिमा ३२ खट सहभागी रथ बोकेर गराई परम्परागतरूपमा मनाउने गरिन्छ । अहिले थिमि क्षेत्रमा २३ वटा, नगदेशमा एक, बोडेमा सात, टिगनीमा एक स्थानमा खट जात्राका साथ सिन्दुर जात्रा मनाइएको छ । यसमा थिमिको बालकुमारी, दक्षिण बाराही, विष्णुवीर, सिद्धिकाली, नगदेशको सिद्धिगणेश, बोडेको महालक्ष्मी र टिगनीको नीलबाराही मन्दिरका देवताका नेतृत्वमा खट बोकेर जात्रा गरी टोल–टोलमा सिन्दुर खेल्दै जात्रा मनाइन्छ । जात्रामा प्रत्येक चोक, चौबाटो, घर र टोलमा पुग्दा घरका झ्याल, कौसी र छतबाट सिन्दुर छर्ने, फूल बर्साएर स्वागत गर्ने प्रचलन रहेको छ । जात्रामा काँयाबाजा, भुस्याबाजा, धिमेबाजा बजाएर देवताका खटलाई घुमाउँदै एक–अर्कालाई सिन्दुर दल्ने, आपसमा सिन्दुर खेली स्थानीय जात्रालु रमाइलो गर्ने भएकाले यसलाई सिन्दुर जात्रा पनि भनिएको हो । बालकुमारीबाट परम्परागतरूपमा सिद्धिगणेश, सिद्धिकाली र त्यसका गणहरूसहित क्वाछें द्यो, हिचो द्यों, अजिमा द्यों, विष्णुवीर र अन्य देवगणहरूको खट उचालेपछि बालकुमारीको जात्रा सुरु गरिएको थियो । परम्पराअनुसार देवता लायकू दरबारभित्र पस्न नपाउन् भनेर लायकू प्रवेशद्धारमा पेंखा मुस्या, बालकुमारी, बालखुचा द्यो, सिद्धिकाली र अरु देवताका गणहरू बाटो छेकेर बस्ने परम्परा छ । अगाडि बढाउँदै ल्याउने बालकुमारीलाई भैलः द्यो परिक्रमा गरी क्रमैसँग सुगां द्यो, क्वाछे द्योंमा पनि सिन्दुर खेल्दै परिक्रमा गराइन्छ । बालकुमारीलाई विभिन्न क्षेत्रको परिक्रमा गराई भव्य एवं उमङ्ग र उत्साहका साथ थिमिका बासिन्दाले सिन्दुर खेल्दै यो जात्रा मनाइएको छ । यस वर्ष वैशाख २ गते शनिबार परेकाले यहाँको खटसहितको जात्रालाई शङ्खधर चोक हुँदै सूर्यविनायक नगरपालिका–५ स्थित दक्षिण बाराही मन्दिरमा समेत लगिएको छ । धेरै वर्षपछि वैशाख २ गते शनिबार परेकाले जात्रालाई दक्षिण बाराही मन्दिर लगेर परिक्रमा गरेर फर्काइएको मध्यपुरथिमिका नगरप्रमुख सुरेन्द्र श्रेष्ठले जानकारी दिए। वैशाख २ गते शनिबार पर्दा कुनै निष्ट नहोस् भनेर दक्षिण बाराहीमा समेत जात्रा लगिने परम्परा रहेको स्थानीय बताउँछन् । आजको जात्रा मध्याह्नसम्म चल्ने र यो जात्रा समापन भएपछि बोडेमा जिब्रो छेड्ने जात्राको तयारी गरेर दिउँसो २ बजे बोडेमा जिब्रो छेडेर जात्रा मनाउने नगरप्रमुख श्रेष्ठले जानकारी दिए । जात्राको कांग्रेस नेता प्रकाशमान सिंह, इन्द्र बानियाँ र पार्टीका जिल्ला सभापति दुर्लभ थापा, माओवादी केन्द्रका नेता लीलामणि पोखरले, शशि श्रेष्ठ, देवेन्द्र श्रेष्ठ र डिपी ढकाल तथा विभिन्न नगरपालिकाका नगरप्रमुख एवं उपप्रमुख, विदेशी कूटनीतिक नियोगका प्रतिनिधिले अवलोकन गरेका थिए । रासस ।

शताब्दी पुरुष जोशी पत्नीको निधन

काठमाडौं । शताब्दी पुरूष सत्यमोहन जोशीकी पत्नी राधादेवी जोशीको आज बिहान उपचारको क्रममा निधन भएको छ । सय वर्ष पुग्नुभएकी राधादेवीको शनिबार बिहान ललितपुरको किस्ट अस्पतालमा निधन भएको जोशीका भतिजा अजरमानले जानकारी दिनुभयो । जोशीको स्वास्थ्यमा समस्या देखिएपछि चैत १६ गते किस्ट अस्पतालमा भर्ना गरिएको थियो । यसअघि असोज ३० गते शताब्दी पुरूष सत्यमोहन जोशीको पनि किस्ट अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।