विस्थापित गराउँदै मौलिक हातेकलालाई प्लाष्टिकका सामानले

काठमाडौं । घर तथा अफिसमा सजाउने प्लाष्टिकका सामानहरुकाबीच मौलिक हातेकला हस्तकलाले प्रतिस्पर्धामा चुनौती खेपिरहेको छ । दीगो र भरपर्दो नहुने प्लाष्टिकका समानले मानिसको आकर्षण बढाइरहेको देखिन्छ । कतिपय त नेपाली हस्तकलाको सामानकै कपी गरेर बाहिरबाट प्लास्टिकमा सामान भित्रिएका छन् । कालिगढ सरोज दिलु विश्वकर्मा भन्छन्, ‘हाम्रो बजारमा प्लास्टिकका चिल्ला सामान बढी प्रयोग हुन थालेका छन्, यस्ता सामानलाई निरुत्साहित गरी मौलिक कलालाई प्रवद्र्धन गर्न लाग्नुपर्छ, नत्र नेपाली कला लोप हुँदै जानसक्छ ।’ उनका अनुसार यसरी नेपाली हस्तकलाको विकासका लागि अध्ययन अनुसन्धान बढाएर कलाको संरक्षण गर्न जरुरी छ । बजारमा यसको संस्थागतरुपमा खोजी गर्नुपर्छ । कतिपय त्यस्ता कला छन्, जुन बाहिर आउन सकेका छैनन्, त्यसलाई खोजेर प्रवद्र्धन गर्नुपर्नेमा उनको जोड छ । त्यस्तै उत्खनन गर्ने काम र विश्वव्यापी सञ्जाल निर्माण गर्न सकेन नेपाली मौलिक हातेकलाले बजार पनि पाउने र प्रवद्र्धन हुँदा आयआर्जनका सार्थ मुलुकको अर्थतन्त्रमा पनि टेवा पुग्ने विश्वास कलाकारको छ । विदेशी कालिगढ नेपालमा भित्रिरहँदा नेपाली कालिगढ भने बाहिरिएको र त्यसलाई रोक्न बेलैमा पहल गनुपर्ने कलाकारहरु बताउँछन् । यी विविध समस्याका विषयमा हस्तकला क्षेत्रमा काम गरिरहेका कलाकारले हालैमात्र कलाकारले नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको ध्यानाकर्षण गराएका छन् । अर्का कलाकार श्यामवदन श्रेष्ठ नेपालमा ज्ञान, सीपको कुनै कमि नभएको तर त्यसलाई अभिलेखीकरण र प्रविधिकरण गर्न नसक्दा नेपाली मौलिक सिर्जनाले स्थान नपाइएको जिकिर गर्छन् । ‘विदेशी सामान सजाउनुको सट्टा सङ्घसंस्था वा सरकारी अफिसमा हस्तकलाकै सामान प्रयोग गर्ने वातावरण निर्माण गर्नुपर्ने आजको आवश्यकता हो’, उनले भने, ‘नेपालमा खुकुरी, करुवादेखि बाँसका काम गर्ने धेरै उच्चतम ज्ञानयुक्त जनशक्ति नेपालमा छन्, तर चिन्न सकिएको छैन, उपहार दिनुपथ्र्यो भने बाहिरको वस्तु किन दिने उनीहरुले नै उत्पादन गरेका सामान दिने बनाउनुपर्छ ।’ सुनचाँदी व्यवसायी रमेश सुनार पनि त्यसमा सहमत छन् । हस्तकलाले मुलुकको अर्थतन्त्रमा ठूलो टेवा दिइरहेको छ । रोजगारी सिर्जनामा समेत सहयोग गरेको छ । तर कोभिडपछि भने चुनौती थपिएको उनको अनुभव छ । उनी भन्छन्, ‘हामीले राम्रो उत्पादन गरेर सामान पठाउँछौँ, त्यही सामान कपि गरेर हामीलाई नै पठाउने गरिएको छ, त्यसरी बाहिरबाट आएका प्लास्टिकका सामान हामीले नै प्रयोग गर्न बाध्य छौँ ।’ यस कारण पनि कलाकार धेरै विस्थापित भएको उनले बताए । प्रतिष्ठानका प्राज्ञ तथा कलाकार प्रदीप शाक्य नेपाली कला आफ्नै मौलिक शैलीका हुन्छन् । तर यस्ता कलाको प्रवद्र्धनमा लाग्नुको साटो मुलुकको नीति नै आयातमुखी रहनु विडम्बना भएको उनले बताए । हस्तकला महासङ्घका उपाध्यक्ष नवीन शाक्य हस्तकलाका क्षेत्रमा कच्चापदार्थको समस्या रहेको बताउँछन् । ‘हामीले सरकारलाई कर तिर्छौं तर सरकारले हामीलाई सुविधा पनि दिन सक्दैन कच्चापदार्थ सहजै पाइँदैन, कच्चापदार्थको काम गर्न विदेशबाट ढुङ्गा ल्याउनुपर्छ’, उनले भने । नेपालका पुराना प्रविधि जोगाउनु पनि अहिलेको मुख्य चुनौती भएको कालकारको भनाइ छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका विशिष्ट सदस्य रुद्र बराइलीका अनुसार विश्वका धेरै देशलाई थाहा छ कि नेपाल एक कलात्मक मुलुक हो । तर राज्यले त्यसअनुसारको नीति नबनाउँदा समस्या भएको छ । अमर ह्यान्डीक्राफ्टका संयोजक अमरबहादुर विश्वकर्माले दक्षिण एशियामा कलाको खानी नेपाल भए पनि कलाको परिचय विदेशमा गएर लिनुपर्ने विडम्बना रहेको बताए । उनले भने, ‘तामा, पित्तल, सुन, चाँदी, फलाम जस्ता धातुलाई व्यवस्थित ढङ्गले चलाउन सक्ने हो भने र यसलाई राज्यले बोध गरिदिने हो भने पचासौँ लाख युवालाई रोजगारी दिन सकिन्छ ।’ नेपाल लतिलकला प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले थुम्केली कलाको संरक्षण र प्रवद्र्धनकै लागि प्रतिष्ठानले सातै प्रदेशमा कला हर्बको अवधारणा अघि सारेको बताए । उनका अनुसार सरकारले हालै अघि सारेको राष्ट्रिय ‘स्टार्टअप’ नीतिलाई अध्ययन गरेर समयमै आवश्यक सुझाव दिनसके हस्तकला क्षेत्रले ठूलो लाभ लिनसक्ने बताउँछन् । उनले स्थानीय सीपलाई पाठ्यक्रममा समावेश गर्ने अभियानमा समेत प्रतिष्ठान लागेको बताए । प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले हस्तकलाको विकासका लागि प्रचारप्रसार र प्रतिष्ठानका प्रकाशनमा हस्तकला विषय समावेश गर्न जरुरी रहेको उनको धारणा छ । पछिल्लो समयमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले कला क्षेत्रको विकासका लागि कार्ययोजना नै बनाएर अघि बढेको छ । कला र कलाकारको अध्ययन अनुसन्धान गर्नेदेखि कला सम्मेलनमार्फत आएकास झुकावलाई समेटेर थप योजनाका साथ अघि बढ्ने गरी प्रतिष्ठानले कार्य गरिरहेको छ । रासस

चलचित्र ‘प्रसाद–२’ प्रदर्शन नगर्न अदालतकाे आदेश

काठमाडौं ।  उच्च अदालत पाटनले चलचित्र ‘प्रसाद २’ प्रदर्शन गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । न्यायाधीश सुदर्शनराज पाण्डेको एकल इजलासले आज उक्त चलचित्रको आउँदो शुक्रबारदेखि प्रदर्शन गर्ने कार्य तत्काल नगर्न नगराउन आदेश दिएको हो । चलचित्र निर्माता सुवास थापाले आफ्नो रकम नदिएको उल्लेख गर्दै चलचित्र निर्माताका रुपमा चिनाइएको तर पछि नाम हटाएपछि केशव पाण्डेले प्रदर्शन रोक्न माग गर्दै रिट निवेदन दायर गरेका थिए । पाण्डे अदालत जानुअघि चलचित्र विकास बोर्डमा उजुरी दर्ता गर्न अस्वीकार गरेपछि अदालत पुगेका हुन् । उक्त विवादमा दुवै पक्षलाई छलफलका लागि यही चैत २६ गते बोलाइएको छ ।

बस्ती विकासको लागि ६० लाख खर्च गर्दै हिमचुली बस्ती सुधार समिति, सम्पन्न गर्यो वार्षिक साधारण सभा

काठमाडौं । हिमचुली बस्ती सुधार समितिले तेश्रो वार्षिक साधारण सभा सम्पन्न गरेको छ । समितिले गत चैत १८ गते धादिङ्गको सिद्धखलेस्थित रिभर पार्क बिच मख्खुमा उक्त सभा सम्पन्न गरेको हो । समितिका अर्जुन बस्नेतको अध्यक्षतामा बसेको उक्त सभाले बस्ती सुधारको लागि सबै मिलेर काम गर्ने एजेण्डाहरु पारित गरेको छ । सभामा प्रमुख अतिथिको रुपमा रहेकी प्रदेश सभा सभासद् रमा आले मगरले पनि टोल सुधारको लागि विभिन्न सल्लाह सुझावहरु दिएकी थिइन् । समितिका अध्यक्ष बस्नेतले टोल सुधारको लागि समितिले कूल ५२ लाख रुपैयाँ खर्च गरिएको बताएका छन् । जसमध्ये २० लाख प्रदेश सभा, वडाबाट साढे ५ लाख रुपैयाँ, नगरपालिका र उपभोक्ता समितिबाट बस्ती सुधारको लागि करिब साढे २६ लाख रुपैयाँ बराबरको सहयोग भएको उनले बताए । जसमा सडक बनाउने, बत्ती जडान तथा ढल निकास लगायतका पूर्वाधार विकासको कामहरु भएका अध्यक्ष बस्नेतले जानकारी गराए । ‘चालु आवमा हामीले बस्तीको पूर्वाधार विकासको लागि ५२ लाखको काम गर्यौं, अब आगामी वर्षमा प्रदेश सभा, नगरपालिका, वडा र उपभोक्ता समितिको सहयोगमा ६० लाख बराबरको काम गर्ने लक्ष्य छ,’ अध्यक्ष बस्नेतले बताए । ‘समाज हाम्रो हो, यो समाज हामीले बनाउने हो, सकारात्मक सोचले नै समाज परिवर्तन हुन्छ’ भन्ने उद्देश्यका साथ उक्त समिति अघि बढेको छ । समितिको सभामा मिलन समाजका अध्यक्षले शुभकामना मन्तब्य दिएका थिए । त्यस्तै, सल्लाहाकार मोहन डागी र दौप्रदी शाहले पनि बस्ती सुधारको लागि विभिन्न सुझावसहितको आफ्ना भनाईहरु राखेका थिए । त्यस्तै, समितिका उपाध्यक्ष पवित्र पराजुलीले स्वागत मन्तव्य दिएका थिए भने कोषाध्यक्ष कबिता बर्तौलाले गत आर्थिक वर्षको आयव्यय रहेको वित्तीय प्रतिवेदन पेश गरेका छन् । उक्त प्रतिवेदन सभाले पारित गरेको छ । कार्यक्रमको सञ्चालन समितिका सचिव सुब्बा थपलियाले गरेका हुन् । साथै, उक्त सभामा नयाँ वर्ष अर्थात वि.सं. २०८० सालको क्यालेन्डर समेत विमोचन गरिएको छ ।